इरानको सशस्त्र बलका अनुसार पछिल्लो २४ घण्टामा कम्तीमा पाँचवटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागीमा परेका छन् ।
ती जहाजहरू होर्मुज स्ट्रेट हुँदै गुज्रिएका थिए ।
उक्त जलमार्गबाट आवतजावत गर्न चाहने सबै जहाजले इरानी अधिकारीहरूसँग समन्वय गर्नुपर्ने र उनीहरूले तोकेका नियम पालना गर्नुपर्ने अधिकारीहरूले बताएका छन् ।
यस वर्षको सुरुदेखि अहिलेसम्म उक्त होर्मुजमा १६० भन्दा बढी सैन्य घटना भएका छन् । तीमध्ये पछिल्लो १० दिनमा मात्रै कम्तीमा ४० वटा घटना भएका छन् ।
अमेरिकाले लगाएको सामुद्रिक नाकाबन्दीका कारण यो अवस्था सिर्जना भएको इरानको आरोप छ । नाकाबन्दीले इरानको अर्थतन्त्रमा गम्भीर असर पारेपछि जवाफमा खाडी क्षेत्रबाट हुने तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्तिलाई बन्धक बनाउने रणनीति इरानले अपनाएको छ ।
दुवै पक्ष पूर्णस्तरको युद्धमा जान इच्छुक देखिएका छैनन् । त्यसैले एकअर्कामाथि दबाब बढाउन नाकाबन्दीको रणनीति अपनाइरहेका छन् ।