यस पर्वमा ढोल र झ्याम्टा बजाउँदै सामूहिक नाचगान गर्ने, इष्टदेवताको पूजाआराधना गर्ने र आपसमा खुसी साटासाट गर्ने परम्परा छ ।
धनकुटा — नयाँ बाली भित्र्याएको खुसीयालीमा धनकुटाका राई समुदायले ६ दिन र ६ रातसम्म मनाउने मौलिक सांस्कृतिक पर्व वाडाङ्मी (पापानी) सुरु भएको छ । सहिदभूमिको खाल्सा क्षेत्रसहित राई समुदायको बाक्लो बसोबास रहेका जिल्लाका विभिन्न स्थानमा पापानीको रौनक छाएको छ । सहिदभूमिसँगै पाख्रीबास, साँगुरीगढी, चौबिसे र धनकुटा नगरपालिकाका विभिन्न क्षेत्रमा पापानी मनाइन्छ ।
सामान्यतया कार्तिक शुक्ल पूर्णिमापछिको पहिलो मङ्गलबारदेखि सुरु हुने यो पर्व यस वर्ष पूर्णिमाकै दिन मङ्गलबार परेकाले सोही दिनदेखि सुरु भएको पाख्रीबास नगरपालिका–३ का देवेन्द्र देवान राईले बताए । यस पर्वमा ढोल र झ्याम्टा बजाउँदै सामूहिक नाचगान गर्ने, इष्टदेवताको पूजाआराधना गर्ने र आपसमा खुसी साटासाट गर्ने परम्परा छ । सहभागीले गोलो घेरा बनाएर एकअर्काको काँधमा हात राख्दै तीन कदम अगाडि र पछाडि सर्दै सामूहिक नृत्य गर्छन् ।
पर्वको पहिलो दिन गाउँभरिका गढीघरका ढोल मूल पुजारीको घरमा भेला गरी पूजाआराधना गरेर पर्व सुरु गरिन्छ । दोस्रो दिन घरघरमा देवीदेवता भित्र्याएर पूजा गर्ने र माङ्ला अर्थात् जोखाना हेर्ने चलन छ । पर्वको अन्तिम चरणमा खाल्सा क्षेत्रका राई समुदायले सहिदभूमिमा रहेको इष्टदेवता फुढाहाङ (बुढाहाङ) को प्रतीकका रूपमा ङाङसुबाथिङको घर हुँदै गढीघर, पथ्थरे र मझियाको गढीघरमा पुगेर पूजाआराधना गर्ने परम्परा छ ।
स्थानीय जनविश्वासअनुसार पापानी शब्द राई भाषाको ‘पामाआनी’ बाट अपभ्रंश भएर बनेको हो । राई भाषामा ‘पा’ ले पुरुष र ‘मा’ ले महिलालाई बुझाउने भएकाले महिला र पुरुषले गोलो घेरा बनाएर बाजागाजासहित सामूहिक रूपमा नाच्ने परम्परासँग पर्वको नाम जोडिएको विश्वास गरिन्छ । नयाँ बाली भित्र्याएपछि प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने, इष्टदेवताको पूजा गर्ने र समुदायबीच आपसी सद्भाव तथा एकता कायम गर्ने सांस्कृतिक पर्वका रूपमा वाडाङ्मी (पापानी) मनाउने गरिएको देवेन्द्र देवान बताउँछन् ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।