प्रादेशिक कृषि थोक बजारमा आयोजित मेलामा किसान, सहकारी र उद्यमीका कृषि तथा स्थानीय उत्पादनका ४० वटा स्टल राखिएका छन्।
हेटौंडा — ‘आलीदेखि थालीसम्म’ भन्ने नारासहित हेटौंडा उपमहानगरपालिका—११ थनाभर्याङस्थित प्रादेशिक कृषि थोक बजारमा चार दिने कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी तथा व्यापार मेला भइरहेको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको मेलामा कृषि उपज, पशुजन्य उत्पादन तथा स्थानीय उद्यमबाट उत्पादित सामग्रीका ४० वटा स्टल राखिएका छन् ।
मेलामा साना तथा मझौला उद्यमी, किसान, कृषि सहकारी र कृषक महिलाले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिइएको छ । स्थानीय उत्पादनको बजारीकरण गर्दै किसानको मेहनतको उचित मूल्य सुनिश्चित गर्न र उपभोक्तालाई स्थानीय वस्तु सहज रुपमा उपलब्ध गराउन मेलाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले हेटौंडाभित्रै उत्पादन भएका कृषि उपज तथा घरेलु सामग्री उपभोक्तासम्म प्रत्यक्ष पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन् । तरकारी, हस्तकलाका सामग्री, हातले बुनेका कपडा, ड्रागन फ्रुट तथा स्थानीय कच्चा पदार्थबाट उत्पादित वस्तुलाई बजारसँग जोड्दै किसानलाई प्रोत्साहन गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उनको भनाइ छ । करेसाबारीको उत्पादनबाट दसैंखर्च जुटाउने आशाका साथ स्थानीय कृषक मेलामा सहभागी भएका छन् ।
हेटौंडा–१४ की सरिता गोले मेलाले आम्दानीको अवसर दिएको बताइन् । उनले भनिन्, ‘करेसाबारीमा उत्पादन गरेको बेसार, सागसब्जी स्टलमा राखेको छु । दसैंको मुखमा घरखर्चको जोहो हुने माध्यम बनेको छ ।’
हेटौंडा–२ की सीतादेवी भेटवालले यस्ता मेला नियमित सञ्चालन गर्नुपर्ने बताइन् । उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापित हुँदा सामग्रीको बजारीकरण सहज हुने र व्यवसाय सञ्चालनमा देखिएका समस्या कम गर्न सहयोग पुग्ने उनले बताइन् ।
चार दिनसम्म चल्ने मेलामा तरुल, फूलका बिरुवा, दुग्धजन्य पदार्थ, मह, अचार, गेडागुडी, मसला, बासका सामग्री, फलफूलका जुस, तोरीको तेल, मस्यौरा, गुन्द्रुक तथा खाद्य वस्तु बिक्रीका लागि राखिएका छन् । त्यसैगरी अल्लोबाट बनेका सामग्री, कृषि प्रविधि, कृषि सहकारी तथा साना किसानका उत्पादनले पनि मेलामा स्थान पाएका छन् ।
बागमती प्रदेश सरकारको ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत गरी ३० करोड ८७ लाख लगानीमा कृषि थोक बजार निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको करिब १४ महिनापछि कृषि सम्बन्धी बजार संचालन गरिएको छ ।
थोक बजार संचालन र व्यवस्थापनको जिम्मेवारी हेटौंडा उपमहानगरलाई दिइएको छ । थोक बजारमा चिस्यानसहित ४० वटा थोक व्यवसायका लागि र २३ वटा खुद्रा व्यवसायका लागि सटर निर्माण गरिएको छ । यसैगरी साना किसानका लागि २ सय ६१ वर्गमिटर क्षेत्रफलको बिक्री टहरासमेत निर्माण गरिएको छ ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।