सुपरस्टार टम क्रुज स्टारर तथा एलेजान्द्रो गोन्जालेज इनारितु निर्देशित फिल्म ‘डिगर’ अन्तत: बक्स अफिस इतिहासकै सबैभन्दा ठूला असफल फिल्ममध्ये एक बन्ने पक्का भएको छ ।
काठमाडौँ — हलिउड सुपरस्टार टम क्रुज र चर्चित निर्देशक एलेजान्द्रो गोन्जालेज इनारितुको जुगलबन्दीमा बनेको बहुप्रतिक्षित फिल्म ‘डिगर’ अन्तत: बक्स अफिस इतिहासकै सबैभन्दा ठूला असफल फिल्ममध्ये एक बन्ने पक्का भएको छ ।
प्रदर्शनको दोस्रो सप्ताहान्तमा आईपुग्दा ‘डिगर’ को व्यापारमा ६० प्रतिशतले गिरावट आएपछि यसले करिब २४ करोड ५० लाख अमेरिकी डलर भन्दा बढि घाटा व्यहोर्ने प्रक्षेपण गरिएको छ ।
‘डिगर’ले पहिलो साता अमेरिकी बजारबाट ८० लाख डलरसहित विश्वभरबाट २ करोड डलर मात्र कमाउन सकेको थियो । सुरुमा वार्नर ब्रदर्सले यस फिल्मबाट १५ देखि २० करोड डलर घाटा हुने अनुमान गरे पनि दोस्रो साताको खराब व्यापारले नोक्सानी अझ बढाउने देखिएको छ ।
हालसम्म यसको कुल कमाइ अमेरिकामा १ करोड ४४ लाख डलरसहित विश्वभरबाट ३ करोड ५३ लाख डलर मात्र पुगेको छ । फिल्मलाई फ्लप हुनबाट जोगाउन एन हृयाथवे, जेन फोन्डा, गुइलेर्मो डेल टोरो र म्यान्डी प्याटिनकिन जस्ता चर्चित हलिउड कलाकारहरूको पनि केही लागेन । उनिहरूले दर्शकलाई फिल्म हेर्न जान जति नै अपिल गरे पनि त्यसको खासै प्रभाव पर्न सकेको छैन ।
यस फिल्मको विश्वव्यापी बक्स अफिस यात्रा जम्मा ५ करोड डलरको वरपर सकिने अनुमान गरिएको छ । हल सञ्चालकहरूले टिकट बिक्रीको करिब आधा रकम राख्ने भएकाले फिल्मलाई नाफामा जान (ब्रेक–इभन) कम्तीमा ३५ करोड डलर कमाउनुपर्ने थियो । यद्यपि, वार्नर ब्रदर्सका प्रवक्ताले भने ‘ब्रेक–इभन प्वाइन्ट’ ३० करोड डलर रहेको दाबी गरेका छन् ।
वार्नर ब्रदर्सले सुरुमा १२ करोड ५ लाख डलर बजेट स्वीकृत गरे पनि निर्माण अवधि लम्बिँदा लागत बढेर १६ देखि १८ करोड डलर पुगेको थियो । यसबाहेक स्टुडियोले विश्वव्यापी प्रचारप्रसार (मार्केटिङ) का लागि थप १० करोड डलर खर्च गरेको छ । फिल्मको समीक्षा अत्यन्तै नकारात्मक आएपछि वार्नर ब्रदर्सले सामाजिक सञ्जालमा ‘आफैं हेरेर निर्णय गर्नुहोस्’ भन्ने जस्ता विज्ञापनसमेत बजाउन बाध्य भएको थियो ।
‘डिगर’ वार्नर ब्रदर्स र पारामाउन्टबीचको ‘मर्जर’ हुनुअघिको अन्तिम रिलिज फिल्म हो । वार्नर ब्रदर्सका लागि यो वर्ष बक्स अफिसमा निकै निराशाजनक रह्यो । यसअघि ‘द ब्राइड’ र ‘सुपरगर्ल’ जस्ता ठूला फिल्महरू पनि व्यावसायिक रूपमा असफल भइसकेका छन् ।
सन् २०२५ मा ‘सिनर्स’, ‘ए माइनक्राफ्ट मुभी’ र ‘वेपन्स’ जस्ता हिट फिल्म दिएका वार्नर ब्रदर्सका प्रमुखहरू माइक डे लुका र पाम अब्डीले गत शुक्रबार मात्रै कम्पनी छाडेका छन् । यो वर्ष वार्नर ब्रदर्सका कुनै पनि फिल्मले अमेरिकी बजारमा १० करोड डलरको आँकडा पार गर्न सकेका छैनन् । अब आगामी डिसेम्बरमा रिलिज हुने डेनिस भिल्लेनभको ‘ड्युनः पार्ट ३’ बाट मात्रै वार्नर ब्रदर्सले पुनरागमनको आशा राखेको छ ।