कतारमा भइरहेको प्रतियोगितामा रशिदले ८ ओभरमा ३९ रन खर्चेर पहिलो पटक ५ विकेट लिएका हुन् ।
काठमाडौँ — रशिद खानले ५ विकेट लिएपछि नेपालले कप राइजिङ स्टार्स प्रतियोगितामा पाकिस्तान ‘ए’ लाई सस्तैमा अलआउट गरेको छ । मध्यमगतिका बलर रशिदले लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि टस जितेर ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १ सय ६८ रनमा अलआउट भयो ।
कतारमा भइरहेको प्रतियोगितामा रशिदले ८ ओभरमा ३९ रन खर्चेर पहिलो पटक ५ विकेट लिएका हुन् । त्यस्तै अभिशेष गौतमले ९ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर २ तथा कप्तान सन्दीप लामिछानेले ७ ओभरमा २० र कुशल भुर्तेलले ९ ओभरमा ३५ रन खर्चेर १–१ विकेट लिए ।
युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा पाकिस्तान ‘ए’ बाट रोहाइल नाजिर ६४ रन बनाई अविजित रहे । उनले ८३ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । लिस्ट ‘ए’ मा ‘डेब्यु’ गरिरहेका अभिशेषले अन्तिम ब्याटर मोहम्मद हासनैनलाई ४ रनमा एलबीडब्लु आउट गरेपछि नाजिरले पाकिस्तान ‘ए’ को स्कोरलाई थप माथि पुर्याउन सकेनन् ।
रशिदले माथिल्लोक्रमका ब्याटर सामी हुसैनलाई ६, माज सदाकतलाई १३ र हैदर अलीलाई १५ रनमा आउट गरेपछि पाकिस्तान ‘ए’ ३६–३ को अवस्थामा पुगेको थियो । त्यसपछि नेपालले १ रनको अन्तरमा कप्तान अब्दुल समाद (१३) र फरहान युसफ (०) र मोहम्मद इमरान (०) लाई आउट गरेपछि पाकिस्तान ‘ए’ ६७–६ को स्थितिमा पुगेको थियो ।
हसन नवाजले २८ रन बनाए । उनले ५९ बल खेली १ छक्का प्रहार गरे । अहमद डानियलले १६ रन बनाउदै नाजिरलाई केहि साथ दिएका थिए । सोक्रममा यी दुईले ७० रन जोडेका थिए । रशिदले डानियल र सुफ्यान मुकिमलाई आउट गर्दै आफ्नो ५ विकेट पुरा गरेका थिए ।
नेपालको प्रतियोगितामा समूहचरणको यो तेस्रो खेल हो । २६ रनमै अलआउट भएपछि पहिलो खेलमा भारत ‘ए’ सँग ३ सय ६ रनले पराजित नेपालले आइतबार दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।