Trending
Prev Story
Next Story

‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्दै सांसदहरू, संसदीय समितिमा छलफल

Nagarik News •
November 24, 2026 • 09:34 AM
13
13 reads 0 reactions

उक्त शब्दको स्थानमा थप मर्यादित र कानुनी रूपमा स्पष्ट शब्द राख्नुपर्ने विषय उठे पनि उपयुक्त विकल्पमा भने सहमति जुट्न सकेन।

‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्दै सांसदहरू, संसदीय समितिमा छलफल

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुन संशोधनका क्रममा ‘वेश्यावृत्ति’ शब्दको प्रयोगलाई लिएर प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा बहस भएको छ। उक्त शब्दको स्थानमा थप मर्यादित र कानुनी रूपमा स्पष्ट शब्द राख्नुपर्ने विषय उठे पनि उपयुक्त विकल्पमा भने सहमति जुट्न सकेन।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलमा सहभागी सांसदहरूले ‘वेश्यावृत्ति’ शब्दले पीडितको अवस्थालाई सही रूपमा सम्बोधन नगर्ने भन्दै यसको विकल्प खोज्नुपर्ने धारणा राखेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्ञानु पौडेलले विधेयकमा प्रयोग भएको उक्त शब्दको सट्टा ‘यौन शोषण गर्ने’ वा ‘इच्छाविपरीत यौन कार्यमा लगाउने’ जस्ता शब्द राख्नुपर्ने प्रस्ताव गरिन्। उनले मानव बेचबिखनसँग जोडिएका अङ्ग तस्करीका घटनालाई समेत विधेयकमा समेट्नुपर्ने आवश्यकता औँल्याइन्।

नेकपा एमालेकी सांसद एसुदा बरालले भने शब्द परिवर्तन गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने भन्दै सचेत गराइन्। अन्य कानुनमा समेत ‘वेश्यावृत्ति’ शब्द प्रयोग भइरहेकाले एउटा ऐनमा मात्र परिवर्तन गर्दा कानुनहरूबीच विरोधाभास आउन सक्ने उनको भनाइ थियो। शब्दको अस्पष्टताका कारण दोषीले उन्मुक्ति पाउने र पीडित थप समस्यामा पर्ने अवस्था सिर्जना हुन नहुने उनले बताइन्।

नेपाली कांग्रेसकी सांसद रिना उप्रेतीले स्वेच्छाले गरिने यौन पेसा र जबर्जस्ती यौन शोषणलाई एउटै अर्थमा बुझ्न नहुने धारणा राखिन्। उनका अनुसार ‘वेश्यावृत्ति’, ‘देहव्यापार’ र ‘यौन शोषण’ फरक कानुनी अर्थ बोकेका शब्द हुन्। त्यसैले पर्याप्त अध्ययनबिना शब्द परिवर्तन गर्दा न्यायिक प्रक्रियामा समस्या आउन सक्ने उनको तर्क थियो।

समिति सभापति आकृति अवस्थीले पनि विधेयकको भाषा स्पष्ट र दोहोरो अर्थ नलाग्ने हुनुपर्नेमा जोड दिइन्। नेपालको कानुनले यौन व्यापारलाई वैधता नदिएको अवस्थामा ‘जबर्जस्ती यौन व्यवसायमा लगाउने’ भन्ने शब्दावलीले गलत कानुनी अर्थ दिन सक्ने उनको चिन्ता थियो। त्यसैले कानुनी छिद्र नरहने गरी संशोधन प्रस्ताव ल्याउन उनले आग्रह गरिन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पनि उक्त शब्दको विकल्प खोज्ने विषयमा मन्त्रालय सकारात्मक रहेको बताइन्। मन्त्रालय र कानुन मन्त्रालयबीच यसअघि छलफल भए पनि सबैलाई स्वीकार्य हुने शब्द तय हुन नसकेको उनले जानकारी दिइन्। समितिबाट उपयुक्त शब्दावली प्रस्ताव भए विधेयकमा समेट्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो।

विवाद विधेयकको दफा ३ को उपदफा ४ मा रहेको ‘शोषण’ को परिभाषासँग सम्बन्धित छ। उक्त व्यवस्थामा दास वा बाँधा बनाउने, वेश्यावृत्तिमा लगाउने, विभिन्न माध्यमबाट यौन शोषण गर्ने, गैरकानुनी रूपमा मानव अङ्ग झिक्ने तथा जबर्जस्ती श्रममा लगाउने कार्यलाई शोषणका रूपमा व्याख्या गरिएको छ।

‘वेश्यावृत्ति’ शब्दको सट्टा कुन शब्द राख्ने भन्ने विषयमा सांसदहरूबीच सहमति नबनेपछि समितिले सम्बन्धित दफा तत्काल पारित गरेन। थप अध्ययन र छलफलका लागि उक्त व्यवस्था रोक्दै सांसदहरू तथा मन्त्रालयलाई कानुनी प्रभावसमेत विचार गरेर उपयुक्त विकल्प प्रस्तुत गर्न निर्देशन दिइएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १५:१९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6d ago
मानव बेचबिखन तथा ओसारपसार विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग

मानव बेचबिखन तथा ओसारपसार विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्तावित ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न सांसदहरूले माग गरेका छन् । यो विधेयकमाथि प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा छलफल भइरहेको छ ।

#शब्द #वेश्यावृत्ति
Compare →
Hamro Patro News
5d ago
जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जनताले दिएको मत र विश्वास स्थायी नहुने बताएका छन्। उनले जनताको अपेक्षाअनुसार काम गरेर परिणाम दिन सके मात्रै जनविश...

#सांसद
Compare →
Onlinekhabar
5d ago
बालेनलाई भारतीय सांसदको मेन्सन- मोदीले युवामाथि कस्तो व्यवहार गरिरहेका छन्, हेर्नुहोस्

बालेनलाई भारतीय सांसदको मेन्सन- मोदीले युवामाथि कस्तो व्यवहार गरिरहेका छन्, हेर्नुहोस्

८ मंसिर, काठमाडौँ । भारतको विपक्षी दल अखिल भारतीय तृणमूल कङ्ग्रेस (टीएमसी) की लोकसभा सांसद महुआ मोइत्राले नेपालका प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचना गरेकी छन्। पश्चिम बङ्गालको कृष्णनगर …

#सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2635