Trending
Prev Story
Next Story

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

Ekantipur •
November 23, 2026 • 05:32 PM
3
3 reads 0 reactions

जनकपुर–अयोध्या रेल र दार्चुला–धार्चुला मोटरेबल पुलको संयुक्त उद्घाटन, ६६९ मेगावाटको तल्लो अरुण, सिलिगुडी–झापा पाइपलाइन र वनबासा आईसीपीको शिलान्यास, मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, विभिन्न क्षेत्रमा ८ समझदारी

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

जनकपुर–अयोध्या रेल र दार्चुला–धार्चुला मोटरेबल पुलको संयुक्त उद्घाटन, ६६९ मेगावाटको तल्लो अरुण, सिलिगुडी–झापा पाइपलाइन र वनबासा आईसीपीको शिलान्यास, मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, विभिन्न क्षेत्रमा ८ समझदारी

सीमा तामाङ , अजित तिवारी , दीपेन्द्र शाक्य

काठमाडौं/जनकपुर/संखुवासभा — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, पूर्वाधार, पेट्रोलियम र यातायात क्षेत्रका ६ परियोजनासम्बन्धी काम अघि बढेको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) र पेट्रोलियम पाइपलाइन स्थापनामार्फत सीमापार कनेक्टिभिटी सुधार गर्न र सीमा पूर्वाधार अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीद्वयले सोमबार दुई परियोजनाको संयुक्त उद्घाटन, एउटा परियोजना हस्तान्तरण र तीन परियोजनाको शिलान्यास गरेका छन् । भारतको अयोध्या र नेपालको जनकपुरबीच नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ (हरियो झन्डा देखाएर शुभारम्भ) र दार्चुला–धार्चुला सीमापार मोटरेबल पुलको संयुक्त रूपमा उद्घाटन गरे । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र वनबासास्थित एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । निर्माण सम्पन्न मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण भने नेपाललाई हस्तान्तरण गरिएको छ ।

नयाँदिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्रीद्वयले अयोध्या–जनकपुर चल्ने रेलको उद्घाटन गरेसँगै उत्तर प्रदेशस्थित अयोध्याको क्यान्ट स्टेसनबाट जनकपुरका लागि सरयू–कमला रेल एक्सप्रेस गुडेको छ । १७ डिब्बामा करिब १ हजार यात्रु बोकेको उक्त भारतीय रेलवे मंगलबार बिहान नेपालस्थित जनकपुर स्टेसनमा आइपुग्नेछ ।

कात्तिक दोस्रो साता उक्त रेलमार्गको परीक्षण गरिएको थियो । जनकपुरदेखि अयोध्यासम्मको ६ सय ४ किलोमिटर रेलमार्गको दूरी तय गर्न रेल भारतको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या पुग्नेछ । उक्त रेल जनकपुरबाट प्रत्येक शनिबार र अयोध्याबाट प्रत्येक सोमबार छुट्ने बताइएको छ । यो दूरी तय गर्न रेललाई करिब १९ घण्टा लाग्नेछ । रेल सेवाले कनेक्टिभिटीमा सुधार ल्याउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक र सांस्कृतिक पर्यटनलाई थप टेवा पुर्‍याउने र भारत–नेपालबीचको सभ्यतागत सम्बन्धलाई अझ प्रगाढ बनाउने संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्रीद्वयले दार्चुला (नेपाल)–धार्चुला (भारत) बीच नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन गरेका छन् । उक्त पुलले पश्चिमी नेपाल र भारतबीचको प्रत्यक्ष कनेक्टिभिटी सुधार गर्न मद्दत गर्ने संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ । नेपाल–भारत जोड्ने पुलले नेपालतर्फ महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्नेछ । एक सय १० मिटर लम्बाइको उक्त मोटरेबल पुल भारतले निर्माण गरेको हो । उक्त पुलबाट चीनसँगको तालाकोट नाका १३४ किलोमिटर र तराईको ब्रह्मदेवमण्डी २२१ किलोमिटर दूरीमा पर्छ । उक्त मोटरबेल पुल निर्माण गर्न १८ माघ २०७८ मा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । यसको लागत ४० करोड रुपैयाँ रहने अनुमान गरिएको थियो ।

भारतले मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै औपचारिक रूपमा उक्त परियोजना हस्तान्तरण गरेको छ । उक्त पाइपलाइनको दोस्रो खण्ड एक वर्षअघि निर्माण सम्पन्न भई डिजेल, पेट्रोल र मट्टीतेल आयात भइरहेको नेपाल आयल निगमले जनाएको छ ।

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगन्जस्थित डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्यांक, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको थियो ।

सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्यूएस सिस्टम तथा पीएमसीसी कक्षसमेत निर्माण गरिएको छ । प्रधानमन्त्रीद्वयले तीन वटा परियोजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेसँगै निर्माणका लागि अघि बढेको छ । लगानी बोर्ड कार्यालयकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्याबले शिलान्यास गरेसँगै निर्माणको चरणमा अघि बढेको बताइन् । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ ।

तल्लो अरुणबाट नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । विद्युत् उत्पादन सुरु भएको १५ वर्षसम्म क्यापासिटी रोयल्टी प्रतिकिलोवाट ४ सय रुपैयाँ र इनर्जी रोयल्टी ७.५ प्रतिशत तथा १५ वर्षपछि प्रतिकिलोवाट क्यापासिटी रोयल्टी १८ सय रुपैयाँ र इनर्जी रोयल्टी १२ प्रतिशत सरकारलाई दिनुपर्नेछ । भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रवर्द्धन गरिरहेको छ ।

प्रधानमन्त्रीद्वयले ‘ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण पत्र’ र दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन् । ‘नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गरे र नेपालमा भारतीय कम्पनीहरूले विकास गरिरहेका विभिन्न जलविद्युत् आयोजनाहरू द्रुत गतिमा सम्पन्न गर्ने कुरा सुनिश्चित गर्न दुवै पक्ष सहमत भए,’ संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ ।

यस्तै सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र भण्डारण गृहको शिलान्यास गरिएको छ । परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो र ८ इन्च व्यासको पाइपलाइन निर्माण गरिनेछ । जसमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर रहने नेपाल आयल निगमले जनाएको छ । निर्माणस्थलमा कुल १८ हजार ९०० किलोलिटर क्षमताको स्वचालित प्रणालीमा आधारित पेट्रोलियम भण्डारण गृह बनाइनेछ । उक्त परियोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब १४ करोड नेपाली रुपैयाँ छ । जसमा पाइपलाइनतर्फ करिब ४ अर्ब २७ करोड रुपैयाँ र ग्रिनफिल्ड टर्मिनलतर्फ करिब ६ अर्ब ८७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

प्रधानमन्त्रीद्वयले सोमबार वनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरेका छन् । आईसीडीमा भन्सार जाँचपास, अध्यागमन, क्वारेन्टाइन, बैंक, कार्गोका लागि गोदाम, पार्किङ यार्ड, कार्यालय भवन, आवास गृहलगायत हुनेछन् । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा आईसीपी निर्माणमा भएको प्रगतिलाई पनि प्रधानमन्त्रीद्वयले स्वागत गरे । भारत र नेपालबीच तीन वटा आईसीपीहरू यसअघि नै सञ्चालनमा आइसकेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उद्घाटन र शिलान्याससँगै ८ वटा समझदारी पनि भएको छ ।

राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालय, भारत र अपराध अनुसन्धान विभाग, नेपाल प्रहरीबीच प्राज्ञिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी भएको हो । त्यस्तै राष्ट्रिय रक्षा विश्वविद्यालय, भारत र राष्ट्रिय प्रहरी प्रतिष्ठान, नेपालबीच समझदारी भएको छ ।

संयुक्त प्रेस वक्तव्यका अनुसार प्रशासनिक सुधार तथा जनगुनासो विभाग, भारत सरकारअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) बीच नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारी भएको छ ।

भारत सरकार र नेपाल सरकारबीच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा सहकार्य र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन, भारत सरकार र सूचना तथा सञ्चार मन्त्रालय, नेपाल सरकारबीच दक्षिण एसियाली उपग्रहको उपयोगका लागि उपग्रह सञ्चार नेटवर्क स्थापनासम्बन्धी समझदारी भएको हो ।

भारत सरकार र नेपाल सरकारबीच दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य र स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारत सरकार र स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, नेपाल सरकारबीच स्वास्थ्य तथा औषधि क्षेत्रमा सहकार्य र भारत सरकार र नेपाल सरकारबीच पशुपालन तथा मत्स्यपालन विकासको क्षेत्रमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

दीपेन्द्र शाक्य कान्तिपुरका संखुवासभा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

उनको भ्रमणलाई लिएर नेपाल र भारत दुवैतिर चर्चा भएको छ। दुवै देशका विभिन्न राजनीतिक नेता तथा कूटनीतिज्ञले भ्रमणबारे फरक-फरक प्रतिक्रिया दिएका छन्।

#शाह #भारत #भ्रमण
Compare →
Hamro Patro News
5h ago
भारतको भ्रमण्ण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश फिर्ता, विमानस्थलमा परराष्ट्रमन्त्रीले गरे प्रेस व्रिफिङ

भारतको भ्रमण्ण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश फिर्ता, विमानस्थलमा परराष्ट्रमन्त्रीले गरे प्रेस व्रिफिङ

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएका छन् । केही समयअघि प्रधानमन्त्री वालेन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् । प्रधानमन्त्री शाहला...

#शाह #भारत #भ्रमण
Compare →
Bizshala
10h ago
बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

काठमाण्डौ । नेपाल र भारतबीच ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण परियोजना औपचारिक निर्माण चरणमा प्रवेश गरेको छ।...

#शिलान्यास
Compare →
Arthasansar
16h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#शाह
Compare →

Related Stories

World News
Build #2612