प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणमा सीमा विवाद, सन् १९५० को सन्धि, ईपीजी प्रतिवेदन, सार्कलगायत राजनीतिक विषयले प्राथमिकता पाएनन् । उड्डयन, ऊर्जा, पूर्वाधार, पेट्रोलियम पदार्थको आयात, यातायातसँग सम्बन्धित विकास परियोजनामा हस्तान्तरणदेखि शिलान्याससम्म भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोशी विपद्पछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणासमेत गरेका छन् ।
नयाँदिल्ली/काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख रहँदा १४ भदौ २०८२ मा सामाजिक सञ्जालमा लेखेको स्टाटस यतिबेला पुनः चर्चामा आएको छ । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै लेखेका थिए, ‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला । अल द बेस्ट हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।’
उक्त स्टाटस लेख्ने उनै शाह प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गरी नेपाल फर्किसकेका छन् । तर झन्डै दुईतिहाइको बहुमत पाएर शक्तिशाली प्रधानमन्त्री बनेका शाहले भारत भ्रमणमा वर्षौंदेखिको सीमा विवादका विषयमा भने कुरै उठाएनन् । सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरासँग सम्बन्धित सीमा विवादलगायत लामो समयदेखि थाती रहेका द्विपक्षीय महत्त्वपूर्ण मुद्दाहरूले प्राथमिकता पाएन । उनै शाहले काठमाडौंको मेयर रहेका बेला आफू बस्ने कुर्सीका पछाडि ‘ग्रेटर नेपाल’ को नक्सा राखेर भारतले नेपाली भूमि मिचेको विषयको विरोध गर्दै आएका थिए । तर, आफ्नो दुई दिवसीय भारत भ्रमणमा यस विषयमा प्रवेश नै नभएको सम्बद्ध अधिकारीहरू बताउँछन् ।
भ्रमणका क्रममा सीमाको मुद्दा नउठाउने सहमति दुवै पक्षबीच पहिल्यै भएको एक नेपाली कूटनीतिज्ञले बताए । ‘यसको अर्थ हामीले यो मुद्दा सधैंका लागि छाडेका हौं भन्ने होइन,’ ती कूटनीतिज्ञले भने । भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछिका दुवै प्रधानमन्त्रीका सम्बोधन, संयुक्त प्रेस वक्तव्य र १० बुँदे ‘ज्वाइन्ट भिजन डक्युमेन्ट’ मा समेत सीमा विवादलाई सुल्झाउने गरी राजनीतिक तहमा कुनै सहमति भएको देखिँदैन । १२ वर्षअघि दुई देशका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय भेटवार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा सीमाका थाती रहेका विषयमा जे उल्लेख थियो, अहिले त्यही दोहोरिएको छ ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले लिपुलेक भारत र चीनबीच व्यापारका लागि प्रयोग हुँदै आएको नाका भएकामा जोड दिँदै यस विषयमा दुई प्रधानमन्त्रीबीच वार्तामा छलफल नै नभएको बताएका छन् । भारतीय विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले लिपुलेकका विषयमा कुनै विषय नउठेको बताएका हुन् । उनले सीमा क्षेत्रको अतिक्रमण तथा सीमा पिलरको व्यवस्थापनका बारेमा छलफल भएको बताएका छन् । ईपीजीको सन्दर्भलाई उनले ‘पास्ट’ को संज्ञा दिए ।
नेपाल–भारत सीमा विवाद मात्र नभएर वर्षौंदेखि बहुप्रतीक्षित सन् १९५० को शान्तिमैत्री सन्धिको पुनरावलोकन, ईपीजी प्रतिवेदनको कार्यान्वयन, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रियता, व्यापार तथा पारवहन, भारतसँग नेपालको बढ्दो व्यापार घाटा, भारतीय बजारमा नेपाली सामानको पहुँच, भारतमा बसोबास गर्ने नेपाली नागरिकले भोग्ने समस्या, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाजस्ता महत्त्वपूर्ण विषयहरू यस पटक पनि थाती राखिएका छन् ।
यद्यपि, परराष्ट्रमन्त्री शिशिर खनालले दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा छलफल भएको दाबी गरेका छन् । दिल्लीबाट फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयदेखि थाती रहेको सीमा विवाद तथा पुराना सन्धि–सम्झौता पुनरावलोकनका विषयमा प्रगति भएको तर्क गरेका हुन् । ‘वर्तमान सरकारले राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ,’ खनालले भनेका छन्, ‘दुवै मुलुकका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने र अनुभूत गर्ने दिशामा भ्रमण केन्द्रित रह्यो । लामो समयपछि दुई देशको सम्बन्धलाई सम्भावनायुक्त, सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौं ।’
भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले उच्च राजनीतिक नेतृत्वबीचको भेटवार्ताले दुई देशबीच थाती रहेका विषयमा प्रवेश गर्यो कि गरेन, त्यो महत्त्वपूर्ण हुने बताए । ‘नेपाल र भारतबीच सीमाको विवाद छ, सन्धि–सम्झौता पुनरावलोकनका विषय थाती छन्, ती विषयहरूमा वार्ता भइरहेका छैनन्,’ उनले भने, ‘दुई जना प्रधानमन्त्रीले भेट्दै गर्दा विवादित विषयमा गाँठो फुकाउने कार्य भएन ।’ प्राविधिक तहबाट फुकाउन नसकेर अड्किएका विषयलाई प्रधानमन्त्री तहको बैठकको प्रतीक्षा रहेको तर त्यो प्रतीक्षा तथा अपेक्षाअनुरूप यस पटक पनि परिणाम नआएको उनले उल्लेख गरे ।
सीमा विवाद, १९५० को सन्धि परिमार्जन, ईपीजी प्रतिवेदन वा सार्क बैठकको सन्दर्भ भारतले पन्छाउँदै आएको र फेरि पनि पन्छाएको उनको टिप्पणी छ । ‘नेपालमा यति बेला स्थिर सरकार छ, पाँच वर्षलाई म्यान्डेट प्राप्त करिब दुईतिहाइको सरकार छ, तर स्थिर र बलियो मानिएको सरकारले पनि अप्ठ्यारा विषयमा प्रवेश गर्न चाहेको देखिएन,’ उनले भने, ‘मुद्दाहरू सुल्झाउन सक्दा मात्र पारस्परिक मित्रतालाई बलियो बनाउन मद्दत हुने हो ।’
उड्डयन, ऊर्जा, पूर्वाधार, पेट्रोलियम पदार्थको आयात, यातायातसँग सम्बन्धित विकास परियोजना र आर्थिक सहायता घोषणामा भने उल्लेख्य प्रगति भएको छ । शाहको भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भोटेकोशी बाढी विपद्पछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेका छन् । उक्त सहयोगमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) हुनेछ । मन्त्री खनालले पहिलो पटक यत्रो ठूलो आर्थिक सहयोग घोषणाले सम्बन्धको नयाँ आयाम सिर्जना गरेको दाबी गरेका छन् ।
काठमाडौं–भैरहवा–लखनऊ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ । संयुक्त प्रेस विज्ञप्तिको बुँदा ८ मा उक्त रुटलाई दुईतर्फी बनाउने उल्लेख छ । तर यसको कार्यान्वयनका लागि आवश्यक प्राविधिक अध्ययन र प्रक्रिया भने पूरा हुन बाँकी छ । ‘हाल एकतर्फी रहेको ब्रोभो–३४५ (काठमाडौं–भैरहवा–लखनऊ) हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको’ वक्तव्यमा उल्लेख छ । कान्तिपुरसँग कुरा गर्दै पर्यटनमन्त्री खडकराज पौडेलले यस बुँदालाई ऐतिहासिक र उपलब्धिमूलक भनेका छन् ।
त्यस्तै ऊर्जा, पूर्वाधार, पेट्रोलियम र यातायात क्षेत्रका ६ परियोजनासम्बन्धी काम अघि बढेको छ । ८ क्षेत्रमा नेपाल–भारतबीच समझदारी बनेको छ । रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) र पेट्रोलियम पाइपलाइन स्थापनामार्फत सीमापार कनेक्टिभिटी सुधार गर्न र सीमा पूर्वाधार अभिवृद्धि गर्नुपर्नेमा दुवै देशका प्रधानमन्त्रीले जोड दिएका छन् । प्रधानमन्त्रीद्वयले दुई परियोजनाको संयुक्त उद्घाटन, एउटा परियोजना हस्तान्तरण र तीन वटा परियोजनाको शिलान्यास गरेका छन् । भारतको अयोध्या र नेपालको जनकपुरबीच नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ (हरियो झन्डा देखाएर शुभारम्भ) र दार्चुला–धार्चुला सीमापार मोटरेबल पुलको संयुक्त रूपमा उद्घाटन गरिएको छ । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र बनबासास्थित एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । निर्माण सम्पन्न मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण भने नेपाललाई हस्तान्तरण गरिएको छ ।
सीमा र सन्धिका एजेन्डा किन प्राथमिकतामा परेनन् ?
मोदी पहिलो पटक भारतको प्रधानमन्त्री निर्वाचित भएलगत्तै ३–४ अगस्ट २०१४ मा नेपाल भ्रमणमा आएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीबीच भएको वार्तामा सीमाको लगभग ९८ प्रतिशत कार्य पूरा भइसकेको स्वीकार गरिएको थियो । दुवै प्रधानमन्त्रीले कालापानी र सुस्तालगायत बाँकी रहेका सीमा मुद्दामा काम गर्न विदेश सचिवहरूलाई निर्देशन दिएका थिए । त्यति बेला जारी संयुक्त वक्तव्यको बुँदा १२ मा त्यो व्यहोरा उल्लेख छ ।
परराष्ट्रमन्त्री खनालले वक्तव्यमा लेखिएको भाषालाई दोहोर्याउँदै सीमाका विषय माथिल्लो तह अर्थात् परराष्ट्र मन्त्री तहबाट टुंग्याउने गरी कार्य गर्न दुवै प्रधानमन्त्रीले निर्देशन दिएको पत्रकारमाझ सुनाए । लामो समयदेखि आवाज उठ्दै आए पनि यसमा प्रगति भइरहेको थिएन भन्दै उनले प्रधानमन्त्री तहबाट परराष्ट्र सचिवहरूलाई यस सम्बन्धमा कार्य गर्न दिइएको निर्देशनलाई नयाँ प्रगतिसरह व्याख्या गरेका छन् ।
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय परराष्ट्र सचिवले बाँकी रहेका सीमाको विषय टुंग्याउने निर्देशन नयाँ नभएको बताउँछन् । हरेक पटक त्यस्तो निर्देशन दिइए पनि विवाद टुंग्याउने म्यान्डेटसहित परराष्ट्र सचिवहरूको कहिल्यै बैठक हुन नसकेको उनले उल्लेख गरे । ‘परराष्ट्र सचिवहरूको बैठक बस्नु महत्त्वपूर्ण हुन्थ्यो, त्यो भएको देखिएन,’ उनले भने, ‘बैठक बस्न नेपालका तर्फबाट गरिएको आग्रहलाई पटक–पटक भारतले पन्छाउँदै आएको छ ।’
उच्च राजनीतिक नेतृत्व तहबीचको संवाद तथा सहमतिको पर्खाइमा उल्लिखित मुद्दाहरू छन् । सीमा विवाद मात्रै होइन, असमान मानिएको सन्धिलाई समयानुकूल बनाउने तथा दुई देशबीच भएको सहमतिका आधारमा गठन भएको प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनलाई दुवै सरकारले बुझ्नुपर्ने विषय शाहको भ्रमणका एजेन्डा बनेको देखिएन । तर मन्त्री खनालले संयुक्त दूर दृष्टि दस्ताबेजले राजनीतिक मुद्दालाई समेटेको दाबी गरेका छन् । उनले पुराना सन्धि–सम्झौतालाई नयाँ आयाम दृष्टिकोणबाट समयसापेक्ष बनाउने स्पेस खुलाएर आएको भनेका छन् । ब्रिटिसबाट स्वतन्त्र भएको भारत र सत्ताच्युत हुने संघारमा रहेको राणा शासनबीच १६ साउन २००७ (१९५० जुलाई ३१) मा नेपाल र भारतबीच काठमाडौंमा शान्ति र मैत्री सन्धिमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएदेखि उक्त सन्धि असमान भएको भन्दै नेपालमा विरोध हुँदै आएको छ । उक्त सन्धि भएको ९ महिनामा राणा शासनको अन्त्य भएको थियो ।
भारतसँग सन्धि परिमार्जनको विषय नेपालको पुरानो एजेन्डा हो । दुई देशबीच विगतमा भएका सबै सहमति, सम्झौता र व्यवस्थापनको पुनरावलोकन गर्दै २१ औं शताब्दीको विकसित परिप्रेक्ष्यअनुसार सिफारिस गर्न माघ २०७२ मा प्रबुद्ध समूह (ईपीजी) घोषणा गरिएको थियो । नेपाल र भारतका प्रबुद्ध वर्गका प्रतिनिधि रहेको उक्त समूहले दुवै सरकारलाई समयानुकूल विषयहरू सिफारिस गर्ने म्यान्डेट थियो ।
प्रबुद्ध समूहले १९५० को सन्धिलाई विस्थापित गर्दै नयाँ मस्यौदा प्रतिवेदनमा प्रस्ताव गरेको छ । दुई देशका प्रधानमन्त्री तहका सहमतिमा गठन भएको उक्त समूहको प्रतिवेदन भारतको अनिच्छाका कारण अलपत्र छ । नेपालको उक्त प्रतिवेदनप्रति चासो भए पनि भारतको बेवास्ताले त्यो अलपत्र अवस्थामा पुगेको छ । त्यसमा १९५० कै सन्धिको विषय मात्रै छैन, दुई देशबीच देखिएका धेरै विवादित विषयको समाधानका उपाय सुझाइएको छ । दुवै देशका प्रबुद्ध व्यक्तिहरू सम्मिलित ८ सदस्यीय उक्त समूहले असार २०७५ मा आफ्नो प्रतिवेदन तयार पारेको थियो । भारत सरकारले बुझ्न नमान्दा उक्त प्रतिवेदन ८ वर्षदेखि अलपत्र छ ।
भारतका तर्फबाट ईपीजीका सदस्यसमेत रहेका प्राध्यापक महेन्द्र पी लामाले मोदीले संयुक्त पत्रकार सम्मेलनमा खुलेर कुरा गरेकाले भ्रमण राम्रो भएको बताए । ‘मुख्य कुरा दुई पक्षबीच भएका समझदारी कार्यान्वयन कसरी गर्ने भन्ने हो, यो राम्रो सुरुवात हो,’ उनले भने ।
सार्कबारे, पञ्चेश्वर र व्यापार घाटाले पनि पाएन प्राथमिकता
नेपालका प्रधानमन्त्रीले भारतीय समकक्षीसँग उठाउनै पर्ने अर्को महत्त्वपूर्ण राजनीतिक मुद्दा हो– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रियता । यो नेपाल र भारतबीचको द्विपक्षीय विषय होइन । दक्षिण एसियाका देशहरूको बहुपक्षीय विषय हो । तर, अध्यक्ष राष्ट्रको नाताले सार्कमा कायम रहेको गतिरोध तोड्ने जिम्मेवारी नेपालको बढी रहन्छ । त्यसका लागि नेपालले भारतसँग यस विषयमा गम्भीर वार्ता गर्नु जरुरी छ । तर, प्रधानमन्त्रीको कार्यसूचीमा सार्क निष्क्रियताको विषय पनि परेको देखिएन ।
पछिल्लोपल्ट २६–२७ नोभेम्बर २०१४ मा काठमाडौंमा सार्कको १८ औं शिखर सम्मेलन भएको थियो । त्यसयता अर्को सार्क शिखर सम्मेलन हुन सकेको छैन । जबकि १२ वर्षमा ६ वटा शिखर सम्मेलन भइसक्नुपर्थ्यो । भारत र पाकिस्तानबीचको तनावका कारण शिखर सम्मेलन हुन सकेको छैन । सार्कप्रति भारत उदासीन छ । सार्कमा दक्षिण एसियाका अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य राष्ट्र छन् । सार्क सक्रिय हुन नसक्दा नेपालले अध्यक्षता हस्तान्तरणसमेत गर्न पाएको छैन ।
बहुप्रतीक्षित पञ्चेश्वर परियोजनामा पनि ‘ब्रेक थ्रु’ हुन सकेन । पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन र परियोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिइएको छ । दुई देशको संयुक्त वक्तव्यमा वर्षौंदेखि यही भाषा समावेश हुँदै आएको छ । पानीको बाँडफाँटदेखि लागत–लाभसम्मको विषयमा दुई पक्षबीच सहमति जुट्न नसक्दा डीपीआरले अन्तिम रूप पाएको छैन । ‘यस विषयमा राजनीतिक तहमै सहमति आवश्यक छ, तर त्यसतर्फ पनि यो भ्रमणमा प्रगति भएको देखिएन,’ पूर्वराजदूत आचार्यले भने ।
भारतसँगको व्यापार घाटा कम गर्न, नेपाली उत्पादनले भारतीय बजारमा निर्बाध र सहज ढंगले प्रवेश पाउने विषयहरूमा पनि ठोस प्रगति भएन । कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट थाती रहेका विवादित विषयहरू उठ्यो कि उठेन भन्दा पनि भविष्यमा त्यसका लागि वातावरण निर्माण गर्ने कार्य प्रधानमन्त्रीको भ्रमणबाट भएको बताउँछन् । ‘दुई देश र नेताबीच नै अविश्वासको वातावरण थियो, पोलिटिकल इस्युमा छलफल गर्ने वातावरणको अभाव थियो,’ उनले भने, ‘मलाई लाग्छ, नेपाल रणनीतिक ढंगले अगाडि बढेको छ । वातावरण बनाउने काम भएको छ । भोलिका दिनमा छलफल गर्न सकिन्छ ।’ दुई प्रधानमन्त्रीबीचको भेटवार्ताले राजनीतिक तहमा विश्वास निर्माण र समग्र मुद्दाहरूको समीक्षा गर्ने तथा आर्थिक सहकार्यका नयाँ पहल भएको उनी ठान्छन् । राजनीतिक प्रचारबाजीबाट अगाडि बढेर वास्तविकतातर्फ सम्बन्ध विकसित गर्ने पाइलाका रूपमा प्रधानमन्त्रीको भ्रमणलाई लिनुपर्ने उनले उल्लेख गरे ।
विशेषगरी वार्ताको अवधि र दुवै प्रधानमन्त्रीले एकआपसमा प्रशंसा गर्दै गरेको सम्बोधनका आधारमा वार्ता सकारात्मक भएको विश्लेषण गरिएको छ । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शाह र मोदीबीच सुरुमा आधा घण्टाका लागि तय भएको एक्लाएक्लै भेटवार्ता करिब डेढ घण्टासम्म लम्बियो । हैदराबाद हाउसको दोस्रो तलामा दुवै प्रधानमन्त्रीले सञ्चारमाध्यमलाई सम्बोधन गर्ने प्रतीक्षामा मन्त्री, अधिकारी र पत्रकार बसेका थिए । दुई नेताबीच जारी वार्ता लम्बिएपछि संयुक्त पत्रकार सम्मेलनका लागि भेला भएका अधिकारी, मन्त्री र पत्रकार अचम्ममा परे । ‘शाह र मोदी कार्यक्रमस्थलमा आइपुग्न यति लामो समय लाग्दा हामी पनि अचम्ममा परेका थियौं,’ एक नेपाली अधिकारीले भने, ‘दुवै प्रधानमन्त्रीबीच कुनै असमझदारी नभएको थाहा पाएपछि हामी ढुक्क भयौं, वास्तवमा कुनै विवाद भएको थिएन ।’ दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान भएको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले बताए । ‘हाम्रा प्रधानमन्त्रीले विशेषगरी पर्यटन, खेलकुद, पूर्वाधार र सहकार्यका अन्य क्षेत्रबारे चासो राख्नुभएको थियो, उहाँहरूले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गर्नुभयो,’ ती अधिकारीले भने ।
शाहको नेतृत्वमाथि प्रशंसा गर्दै मोदीले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा नै नेपाली प्रधानमन्त्रीको दूरदर्शिताको झलक आफूले देखिसकेको बताए । ‘केही महिनाअघि विश्वकै कान्छा प्रधानमन्त्रीका रूपमा उहाँले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा हामीले उहाँको दूरदर्शी नेतृत्वको स्पष्ट झलक देखेका थियौं, आज पछिल्ला केही घण्टाको कुराकानीमा पनि नेपालको भविष्य र नेपाल–भारत सम्बन्धप्रति उहाँको स्पष्ट दृष्टिकोण र दृढ प्रतिबद्धता महसुस गरेको छु,’ मोदीले भने, ‘यस वर्ष नेपाली जनताले उहाँलाई दिएको ऐतिहासिक जनादेशले नेपालको युवा पुस्ताको आकांक्षा र आशा प्रतिविम्बित गर्छ ।’
शाहले पनि नेपाल र भारतबीचको सम्बन्ध हिमालजस्तै दृढ रहेको बताए । ‘आपसी सम्मान, अटल विश्वास र निरन्तर सद्भाव नेपाल–भारत सम्बन्धका आधारस्तम्भ हुन् । हाम्रो अतुलनीय सम्बन्धको केन्द्रमा दुवै देशका जनता छन् । नेपाल र भारतबीचको सम्बन्ध हिमालयजस्तै दृढ र समुद्रजस्तै विशाल छ । यो सम्बन्ध यति गहिरो छ कि शब्दले मात्रै यसको आत्मीयता व्यक्त गर्न कठिन छ,’ शाहले भने ।
दुवै देशबीचको शताब्दीयौं पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउने उद्देश्यले प्रतिनिधिमण्डलस्तरीय छलफल भएको उनले बताए । उनका अनुसार दुवै पक्षले बहुआयामिक द्विपक्षीय सम्बन्धका सबै पक्षमा खुला, सार्थक र भविष्यकेन्द्रित छलफल गरेका थिए । ‘यस क्रममा नेपाल–भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएका छन् । साथै, प्रमुख पूर्वाधार परियोजनाहरूको उद्घाटन तथा शिलान्यास पनि गरिएको छ,’ शाहले भने ।
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।
राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कूटनीति, निर्वाचन प्रणाली र संघीयताका विषयमा लेख्छन् ।