Trending
Prev Story
Next Story

‘नेपाली क्रिकेटले लर्ड्सबाट थुप्रै ढोका खोल्ने छ’

Ekantipur •
November 23, 2026 • 03:33 PM
2
2 reads 0 reactions

एमसीसीका प्रशासकद्वय रोबर्ट लसन र रोब लिन्चले ‘लर्डस’ मैदानको जादु, एसोसिएट राष्ट्रहरूको उदय र जुन महिनाको भ्रमण नेपालका लागि केवल सुरुआत मात्र किन हो भन्नेबारे आफ्नो धारणा राखेका छन् ।

‘नेपाली क्रिकेटले लर्ड्सबाट थुप्रै ढोका खोल्ने छ’

एमसीसीका प्रशासकद्वय रोबर्ट लसन र रोब लिन्चले ‘लर्डस’ मैदानको जादु, एसोसिएट राष्ट्रहरूको उदय र जुन महिनाको भ्रमण नेपालका लागि केवल सुरुआत मात्र किन हो भन्नेबारे आफ्नो धारणा राखेका छन् ।

काठमाडौँ — ‘लर्ड्सबारे म के भन्न सक्छु र, यो क्रिकेटको घर हो, क्रिकेटको सम्पूर्ण इतिहास हो र कुनै पनि क्रिकेटरका लागि सपनाको मैदान हो । सन् २०१६ मा त्यहाँ खेल्नु एक अविस्मरणीय अवसर थियो, जसलाई म यसै महिनाको अन्त्यतिर फेरि जीवन्त बनाउने प्रतीक्षामा छु । यो खेलका लागि साँच्चै उत्साही छु ।’

यी शब्दहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीय कप्तान सन्दीप लामिछानेले सन् २०१८ को मे १६ मा आफ्नो फेसबुकमा लेखेका थिए । त्यतिबेला ३१ मेमा लर्ड्समा आयोजित ‘हुरिकेन रिलिफ टी-२० च्यालेन्ज’ मा वेस्ट इन्डिजविरुद्ध खेल्न विश्व-११ टोलीमा स्थान पाएपछि सन्दीपले यो भावना पोखेका थिए । उनको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ खेल पनि त्यहीं थियो ।

क्रिकेटर बन्ने सपना बोकेर हुर्कनेका लागि लर्ड्स एक तीर्थस्थल हो । हरेक व्यावसायिक क्रिकेटरले जीवनमा कम्तीमा एक पटक त्यहाँ खेल्ने चाहना राखेका हुन्छन् । र, नेपाली राष्ट्रिय पुरुष टोली आउँदा ३ जुनमा त्यही ऐतिहासिक मैदानमा बंगलादेशविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न जाँदै छ । बंगलादेशका लागि समेत ऐतिहासिक मानिएको यो खेल नेपालको इंग्ल्यान्ड भ्रमणको एक हिस्सा हो । लर्ड्स मैदानको स्वामित्व राख्ने, क्रिकेट नियमको संरक्षक तथा विश्वकै सबैभन्दा सक्रिय क्रिकेट क्लब मानिने मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले यस भ्रमणको आतिथ्यता गर्दै छ ।

सन् १७८७ मा स्थापित एमसीसीले सुरु गरेका नियमहरू जस्तै विकेटबीचको दूरी २२ यार्ड हुनुपर्छ । त्यो पछि गएर विश्व क्रिकेटमै लागू भयो । लामो समयदेखि यो क्लब विश्वभर क्रिकेटसम्बन्धी नियमहरूको ‘संरक्षक र निर्णायक’ रहँदै आएको छ । एमसीसीमा १८ हजार ३ सय ५० पूर्ण सदस्य र ६ हजार एसोसिएट सदस्य छन् । जसले बेलायतमा वार्षिक ६ सयभन्दा बढी खेल खेल्ने गर्छ ।

विश्वभर क्रिकेट विस्तार र विकासका लागि एमसीसीले वार्षिक २० देखि ३० वटा विदेशी भ्रमण तथा खेलसमेत खेल्ने गर्छ । यसै क्रममा एमसीसीले २००३ को मार्चमा पहिला पटक नेपाल भ्रमण गरेको थियो । दुई देशबीच सुमधुर सम्बन्ध स्थापित भएको थियो । त्यसपछि २०१५ को नोभेम्बरमा दुईदिवसीय र टी–२० खेल्न एमसीसी पुनः नेपाल आयो । त्यसको एक वर्षपछि २०१६ को १९ जुलाईमा नेपालले एमसीसीविरुद्ध ५० ओभरको खेल खेल्दै लर्ड्समा ऐतिहासिक डेब्यु गर्‍यो । नेपाल र बेलायतबीचको २ सय वर्ष लामो सम्बन्धको अवसर पारेर आयोजित उक्त खेल नेपालले ४१ रनले जितेको थियो । नेपाल सन् २०१८ को जुलाईमा एमसीसी र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिज खेल्न पुनः लर्ड्स फर्किएको थियो । एमसीसीले पछिल्लो पटक २०१९ को नोभेम्बरमा नेपाल भ्रमण गर्दै खेलेको थियो ।

नेपाल र एमसीसी आमनेसामने नभएको सात वर्ष बितिसकेको छ । तर दुई पक्षबीचको सहकार्य रोकिएको छैन । एमसीसी फाउन्डेसन (एमसीसीएफ) ले २०१९ देखि नेपालमा काम गर्दै आएको छ, जसले कोशी र मधेश प्रदेशका क्रिकेट परियोजनालाई सहयोग गरिरहेको छ । गत वर्ष मात्र ती परियोजनामा ४५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए । त्यसमा सहभागी युवा राष्ट्रिय टोलीमा समेत छनोट भइसकेका छन् । आगामी इंग्ल्यान्ड भ्रमण पनि यही सहकार्यको अर्को उदाहरण हो ।

गत साताको बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानबाट नेपालको इंग्ल्यान्ड भ्रमण घोषणा भएको भोलिपल्ट शुक्रबार कान्तिपुरका लागि नायक पौडेल, विनोद पाण्डे र हिमेश ले एमसीसीका दुई वरिष्ठ अधिकारी (प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसन र अपरेसन निर्देशक रोव लिन्चसँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा उनीहरूले नेपाली क्रिकेटलाई सहयोग गर्ने सन्दर्भमा सबै विकल्पहरू खुला रहेको बताए ।

पूर्वक्रिकेटरसमेत रहेका लिन्च २०२४ को अप्रिलमा निर्देशकका रूपमा एमसीसीमा आबद्ध भएका थिए भने लसन डिसेम्बर २०२४ मा प्रमुख कार्यकारी र सचिव नियुक्त भएका थिए । तर, केही वर्षमै यो जोडी नेपाली क्रिकेटको प्रशंसक बनिसकेको छ । उनीहरू एमसीसीमार्फत उदीयमान क्रिकेट राष्ट्रलाई अझ उचाइमा पुर्‍याउन मदत गर्न चाहन्छन् । उनीहरूसँगको कुराकानीको सम्पादित अंश :

नेपालमा क्रिकेटप्रतिको मोहबारे के भन्नुहुन्छ ?

लसन : यो मेरो पहिलो नेपाल भ्रमण हो । यहाँ नोभेम्बर १९ मा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको एनपीएल क्वालिफायर–२ खेलमा दर्शकको आवाज र भावना देखेर म साँच्चै छक्क परें । यहाँ क्रिकेटको स्तर पनि निकै राम्रो छ । यो साँच्चै हेर्नलायक दृश्य हो । यी सब देख्दा निकै खुसी लाग्यो ।

लिन्च : मैले लामो समयदेखि चिनेका एन्ड्रयु लियोनार्डले मलाई नेपाल आएर क्रिकेट हेर्न प्रोत्साहित गरिरहेका थिए । गत वर्ष त्यो सम्भव भयो । एनपीएलसँग ‘स्पिरिट अफ क्रिकेट’ जोडेर हामीले यहाँ आउने बाटो पायौं । अनि रोबले भनेझैं म पनि यहाँका क्रिकेट समर्थकको क्रेज र मोह देखेर चकित परें । यहाँको भीड, कोलाहल र खेलप्रतिको मोह देख्दा अचम्म लाग्यो । जबकि यहाँ यो खेल अझै निकै कान्छो छ । हामीले यसमा केही मदत गर्न सक्छौं कि भन्ने अवसरका रूपमा यसलाई लियौं ।

यस वर्ष टी–२० विश्वकपमा नेपालले इंग्ल्यान्डविरुद्ध मुम्बईमा गरेको प्रदर्शनले पूर्ण सदस्य राष्ट्रविरुद्ध खेल्न नेपाली टोली योग्य छ भन्ने कुरामा एमसीसी प्रभावित हो ?

लिन्च : मलाई लाग्छ रोब र मजस्ता केही व्यक्तिहरूको दिमागमा केही वर्षदेखि नै नेपाली क्रिकेट थियो । तर त्यो खेलले के गर्‍यो भने नेपालका केही खेलाडीको गुणस्तरप्रति अझ धेरैको आँखा खोलिदियो । नेपाल एउटा ऐतिहासिक जितको निकै नजिक पुगेको थियो । तर मलाई लाग्छ, इंग्ल्यान्ड र अन्य ठूला राष्ट्रको ध्यान तान्न सक्नु आफैंमा एउटा जित नै थियो । नेपाललाई बेलायत ल्याउन र यी खेलहरू आयोजना गर्न हामीलाई ईसीबी (इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड) को सहयोग आवश्यक थियो । उनीहरूले अत्यन्तै राम्रो साथ दिए ।

त्यसो भए निकट भविष्यमा नेपालले लर्ड्समा इंग्ल्यान्डसँग खेल्ने सम्भावना छ ? अनि एमसीसी पुनः नेपाल भ्रमणमा आउने बारे के छ ?

लसन : सम्भावना सधैं रहन्छ । अहिल्यै कुनै ठोस योजना बनिसकेको त छैन र आगामी दिनमा परिस्थिति कसरी विकास हुन्छ भनेर हेर्नुपर्नेछ । नेपाली क्रिकेट उकालो लागिरहेको छ । एमसीसीमा हाम्रो उद्देश्य खेलको भलाइका लागि सक्दो सबै गर्नु हो । क्रिकेटको पछाडि साँच्चै उभिएको कुनै पनि देशका लागि यो निकै राम्रो कुरा हो । हामी ईसीबीलाई यसका लागि प्रोत्साहित गर्न चाहन्छौं, जसले इंग्ल्यान्डले कोसँग खेल्ने भन्ने निर्णय गर्छ । निश्चय पनि हामी लर्ड्समा प्रथम श्रेणी क्रिकेट र त्यो पनि धेरै मात्रामा भएको हेर्न चाहन्छौं । साथै, उपयुक्त समयमा एमसीसी टोलीलाई पुनः नेपाल ल्याउन पनि हामी उत्सुक छौं ।

यहाँ कुनै पनि विकल्प बन्द गरिएको छैन । हामीसँग सीमित स्रोतसाधन भएकाले अहिल्यै कुनै वाचा गर्न चाहँदैनौं । यतिबेला नेपाली क्रिकेटको प्रगतिमा सबैभन्दा ठूलो प्रभाव पार्ने माध्यम भनेको नेपाललाई हाम्रो देशमा बोलाएर लर्ड्समा खेलाउनु नै हो । हामी पहिले त्यसैमा केन्द्रित भएर त्यसलाई सही ढंगले सम्पन्न गर्नेछौं र त्यसपछि अगाडि के गर्ने भनेर हेर्ने छौं । यो त सुरुआत मात्र हो, हामी अझ धेरै अवसरहरू खोल्ने छौं । अहिले नै ती के हुन् भनेर म भन्न सक्दिनँ । नेपालमा ठूलो प्रभाव पार्न पाउँदा हामी साँच्चै रोमाञ्चित छौं ।

तपाईंहरू दुईजना आ–आफ्नो जिम्मेवारीमा एमसीसीमा आबद्ध भएको धेरै भएको छैन, कस्तो चलिरहेको छ ?

लसन : मैले यो जिम्मेवारी सम्हालेको झन्डै दुई वर्ष भयो । म ऊर्जा क्षेत्रको करियरबाट आएको हुँ, जुन नितान्त फरक वातावरण थियो । एमसीसीबारे सम्झनुपर्ने कुरा के हो भने हामी वार्षिक करिब ६ सय खेल खेल्ने क्रिकेट क्लब मात्र होइनौं, ३० हजार दर्शक क्षमताको ‘क्रिकेटको घर’ पनि हौं, जसको हेरचाह र मर्मतसम्भार गरिरहनुपर्छ । विश्व क्रिकेटलाई प्रभावित पार्ने र खेलको हितमा काम गर्ने सन्दर्भमा हामी अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छौं । कर्पोरेट वातावरणभन्दा यो फरक छ किनकि यहाँ थुप्रै फरक–फरक कुराको हेरचाह गर्नुपर्छ । त्यसैले मेरो लागि यो भूमिकामा काम गर्नु ठूलो सौभाग्य र सम्मानको विषय हो । यो निकै रमाइलो पनि छ ।

लिन्च : म न्युजिल्यान्डको अकल्यान्डमा हुर्किएको एउटा सानो केटो थिएँ, जसलाई एकदिन फोन आएर लर्ड्स गएर क्रिकेट खेल्न चाहन्छौ भनी सोधिएको थियो । त्यसैले म आफूलाई निकै भाग्यमानी ठान्छु । एमसीसीमा यो मेरो तेस्रो भूमिका हो । जति पटक म लर्ड्स जान्छु, मलाई गौरव महसुस हुन्छ । तर योसँगै हामीमाथि ठूलो जिम्मेवारी पनि छ । हामी त्यसलाई कहिल्यै हल्का रूपमा लिदैनौं । खेल तीव्र गतिमा परिवर्तन भइरहेको छ । हामी एमसीसी र हाम्रो मैदान पनि खेलसँगै परिवर्तन हुन आवश्यक छ, जुन हामी यो सुन्दर देशमा आउनुको अर्को थप कारण हो ।

तपाईंहरूले खेल परिवर्तन भइरहेको छ भन्नुभयो । यसले अझैसम्म टेस्ट खेल नखेलेका नेपालजस्ता उदीयमान देशहरूलाई कस्तो असर गर्छ ?

लिन्च : यो निकै राम्रो प्रश्न हो । खेलभित्र जुनसुकै ओहदामा रहेका व्यक्ति, प्रशासन होस् वा समर्थक । सबैले एउटै कुरा गरिरहेका छन्, टेस्ट क्रिकेटको भविष्य के हुन्छ, यो कस्तो देखिन्छ भन्ने प्रश्न सबैको मुखमा छ । चार दिनसम्म रातो बलको क्रिकेट खेल्न आवश्यक घरेलु पूर्वाधार नभएका एसोसिएट देशहरूका लागि यो निकै महत्त्वाकांक्षी विषय हो जस्तो मलाई लाग्छ । महिला क्रिकेट पनि मुख्यतः सेतो बलमै केन्द्रित छ । टेस्ट खेल्ने राष्ट्रका लागि आईसीसीले बनाएको वर्तमान प्रणालीलाई भविष्यमा पुनर्विचार गर्नुपर्ने हुनसक्छ ।

अहिले नेपालजस्ता देशहरूको ठूलो समूह माथि उठिरहेको छ । यो खेलका लागि निकै राम्रो कुरा हो । आईसीसीका सहकर्मी, घरेलु सहकर्मी र विश्वभरका सहकर्मीहरू, सबैजना यही प्रश्नको समाधान खोजिरहेका छन् । एमसीसीमा हाम्रो निर्णय गर्ने अधिकार हुँदैन, हामी केवल सहकार्य गर्न र सक्दो मद्दत गर्न चाहन्छौं । हामी सबै टेस्ट क्रिकेटलाई माया गर्छौं र यसलाई टेस्ट क्रिकेट भन्नुको पछाडि ठोस कारण छ । पारस खड्का र नेपालमा प्रेरणा बनेका अन्य खेलाडीहरूसँग कुरा गर्दा, मलाई लाग्छ नेपालले पहिले सेतो बलको क्रिकेटमै आफूलाई अझ मजबुत बनाउनुपर्छ । त्यसपछि अगाडि कहाँ पुगिन्छ हेर्नुपर्छ । तपाईंहरू सबैलाई थाहा भएकै कुरा हो, यो सजिलो प्रश्न होइन ।

एमसीसी फाउन्डेसनको सहयोग पाएकी रचनाकुमारी चौधरी राष्ट्रिय टोलीसम्म पुगेको हामीले देखेका छौं, नेपालको महिला क्रिकेटका लागि एमसीसीसँग केही योजना छ ?

लिन्च : विश्वव्यापी रूपमा महिला क्रिकेटको विकास सबैभन्दा ठूला अवसरमध्ये एक हो । हामी अहिले निकै सानदार महिला क्रिकेट देखिरहेका छौं, इंग्ल्यान्ड एन्ड वेल्समा हुने ‘द हन्ड्रेड’ महिला खेलको प्रवर्द्धनका लागि एक उत्कृष्ट माध्यम बनेको छ, जसलाई हाम्रो पूर्ण समर्थन छ । गत वर्ष लर्ड्समा इतिहासमै सबैभन्दा धेरै महिला क्रिकेट खेल आयोजना भए ।

हामी दुवै टोली (पुरुष र महिला) लाई कसरी बेलायत ल्याउन सकिन्छ भन्नेबारे छलफलमा थियौं । उपयुक्त समयमा हामी क्यान (नेपाल क्रिकेट संघ) सँग यसबारे छलफल गर्नेछौं । यदि स्रोतसाधन र आर्थिक पक्ष बाधक नभएको भए, सायद हामीले त्यो गरिसकेका हुने थियौं । हामीले पहिलो पटक लर्ड्समा बंगलादेशविरुद्ध नेपालको खेल, पुरुष टोलीको माध्यमबाट सुरु गरेका छौं । म फेरि पनि जोड दिएर भन्छु, यदि हामीले यसलाई सही तरिकाले सफल बनायौं भने यसले महिला खेलाडीका लागि पनि अझ धेरै अवसरको ढोका खोल्नेछ । एमसीसी फाउन्डेसनले नेपालमा जसरी आफ्नो लय समातिरहेको छ, त्यसबाट हामी खुसी छौं ।

लसन : हामी सबै लर्ड्सलाई माया गर्छौं । हामीलाई हरेक दिन त्यहाँ काम गर्ने सौभाग्य मिलेको छ । अझै पनि त्यहाँ पुग्दा शरीरमा काँडा उम्रिन्छ किनकि यो हेर्दैमा एक जादुमय ठाउँ हो । अनि खेल हुने दिनहरूमा त्यहाँ एउटा विशेष आवाज सुनिन्छ, जसलाई हामी ‘लर्ड्स’ भन्छौं, जुन मैदानभित्र गुञ्जिने दर्शकको मधुर कोलाहल हो । त्यहाँको वातावरण अद्भुत छ र त्यसमाथि लर्ड्समा २०० वर्षभन्दा लामो समयदेखि रचिएका सम्पदा, परम्परा र कथाहरू जोडिएका छन् । यो एक भव्य मैदान हो । हामीलाई लाग्छ यो साँच्चै जादुमय छ । हामी मानिसहरूलाई त्यहाँ आएर खेल्न निम्तो दिन रुचाउँछौं । नेपाल र बंगलादेशलाई यो ऐतिहासिक खेल खेल्न निम्तो दिन पाउनु हाम्रा लागि सौभाग्यको विषय हो ।

नेपाल र बंगलादेशबीचको खेलमा लर्ड्स दर्शकले भरिभराउ होला ?

लसन : मैदान पूरै भरिनेछ । सबै टिकट बिक्री हुन्छ भन्ने विश्वास हाम्रो छ । नेपाली र बंगलादेशी मूलका मानिस धेरै छन् इंग्ल्यान्डमा । उनीहरूका लागि पनि यो उत्सव बन्ने हाम्रो आस छ । नेपाल र बंगलादेशका दर्शकहरूले टेलिभिजनमा प्रत्यक्ष हेर्न सकुन् भनेर यो खेल एकदमै उपयुक्त समयमा खेलाइने छ । आशा छ, मैदानसम्म पुग्न सक्ने जो कोहीले पनि हामीले लर्ड्समा महसुस गर्ने त्यो ‘जादुमय’ अनुभव लिन पाउनेछन् ।

लिन्च : हामी केवल लर्ड्समा हुने नेपाल र बंगलादेशबीचको खेलमा मात्र केन्द्रित छौं । तर, वर्मस्ली र बेकेनह्याममा स्कटल्यान्ड र आयरल्यान्डविरुद्ध अन्य पाँच खेलहरू पनि छन् । ती दुवै सानदार मैदानहरू हुन् । यो खेलाडीका लागि मात्र होइन, आफ्ना हिरोहरूको खेल हेर्न आउने हजारौं समर्थकका लागि पनि एक अनौठो अनुभव हुनेछ ।

नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
नेपाली क्रिकेटको माहोलमा रमाएर फर्किएकी येशा सागर

नेपाली क्रिकेटको माहोलमा रमाएर फर्किएकी येशा सागर

क्रिकेटको मैदानमा जित र हारको फैसला हुन्छ। खेलाडीहरू जितको खुसी वा हारको पीडा बोकेर घर फर्किन्छन्। तर कहिलेकाहीँ मैदानबाट यस्तो मान्छे पनि फर्किन्छ, जसले न कुनै रन बनाएको हुन्छ, न विकेट लिएको हुन्छ...

#क्रिकेट #मैदान
Compare →
Onlinekhabar
4d ago
नेपाल र बंगलादेशबीच लर्ड्समा ऐतिहासिक टी–२०आई खेल हुने

नेपाल र बंगलादेशबीच लर्ड्समा ऐतिहासिक टी–२०आई खेल हुने

३ मंसिर, काठमाडौं । नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो। एमसीसीको आयोजनामा …

#क्रिकेट #एमसीसी #लर्ड्स
Compare →
Nagarik News
7h ago
आइसिसी विश्वकप छनोट प्लेअफमा नेपालको पहिलो खेल इटालीसँग

आइसिसी विश्वकप छनोट प्लेअफमा नेपालको पहिलो खेल इटालीसँग

नेपालले घरेलु मैदानमा हुने आइसिसी पुरुष क्रिकेट विश्वकप छनोटको प्लेअफमा पहिलो खेल इटालीसँग आगामी डिसेम्बर ४ तारिखमा खेल्नेछ।

#क्रिकेट #मैदान
Compare →
Arthasansar
4d ago
ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

#क्रिकेट #मैदान
Compare →

Related Stories

Sports
Build #2612