१० देखि १५ मंसिरसम्म गोलछापस्थित मदन भण्डारी खेल मैदानमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।
काठमाडौँ — चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपालले चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी–१० को दोस्रो संस्करण गर्ने भएको छ ।
१० देखि १५ मंसिरसम्म गोलछापस्थित मदन भण्डारी खेल मैदानमा हुने प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान र उत्पादन तथा युवा खेलाडीलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले गर्न लागिएको आयोजकले जनाएको छ । चन्द्रागिरि क्षेत्रलाई क्रिकेटको सम्भावनायुक्त केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत प्रतियोगिताले राखेको छ ।
८ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने छ । ड्युस बल प्रयोग गरी खेलाइने प्रतियोगिता टी–१० फर्म्याटमा हुनेछ । विजेताले ७० हजार तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्टलगायत विभिन्न विधामा पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
प्रतियोगितामार्फत स्थानीय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवामा प्रतिस्पर्धात्मक भावना र सकारात्मक सोचको विकासमा योगदान पुग्ने आयोजकको विश्वास छ ।