ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्सको आयोजनामा भएको व्यापार सम्मेलनमा भाग लिन नेपालसहित अमेरिका तथा क्यानडामा रहेका व्यवसायी न्युयोर्क पुगेका थिए ।
काठमाडौँ — अमेरिकाको न्युयोर्कमा नेपाली अमेरिकी व्यवसायीहरूले व्यापार तथा लगानी सम्मेलन सम्पन्न गरेका छन् । २० देखि २२ नोभेम्बरसम्म चलेको लगानी तथा व्यापार शिखर सम्मेलनमा डायस्पोराका व्यापारी तथा लगानीकर्ताहरूबीच सहकार्य तथा दक्षता र पुँजी नेपालमा कसरी लगानी गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो ।
ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्सको आयोजना र न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको सहयोगमा भएको सम्मेलनमा सूचना प्रविधि, कृत्रिम बौद्धिकता तथा रियल इस्टेटलगायतका विषयमा प्यानलगत छलफल भएको थियो ।
सम्मेलनको उद्घाटन सत्रलाई भिडियो सन्देशमार्फत परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गरेका थिए । मन्त्री खनालले सरकारको डायस्पोरा फन्ड नीतिअन्तर्गत विदेशमा रहेका नेपाली मूलका व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आह्वान गर्दै वातावरण सहज बनाइने प्रतिबद्धता जनाएका थिए । मन्त्री खनालले सम्मेलनको सफलताको कामना गर्दै यसले नेपालमा लगानी भित्र्याउन प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, सांसद दीपक बोहराले नेपालमा लगानीको वातावरण बनाउन तथा प्रशासनिक झन्झट अन्त्य गर्न सरकार लागिपरेको र विदेशमा रहेको पुँजी तथा दक्षतालाई नेपाल भित्र्याउने सवालमा सहजीकरण गर्न सरकार र आफ्नो दल तयार रहेको प्रतिबद्धता जनाए ।
न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारीले व्यापार तथा लगानी सम्मेलनको उद्देश्य विदेशमा रहेको पुँजीलाई स्वदेश भित्र्याउने तथा नेपालीले विदेशमा सिकेका सीप र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे विज्ञहरूको सुझाव लिनु रहेको बताए ।
उद्घाटन सभामा सम्बोधन गर्दै मेरिल्यान्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले अमेरिकामा रहेका नेपालीको हित र विकासका लागि नेपाल र अमेरिकी सरकारबीच सहजकर्ताको काम गरिरहेको बताए । उनले अमेरिकामा उत्पादित पुँजीलाई नेपालमा उपयोग गर्न अमेरिकी सरकारका तर्फबाट आफ्नो भूमिका सधैँ प्रभावकारी रहने प्रतिबद्धता जनाए ।
सम्मेलनका आयोजक तथा ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले व्यापार तथा लगानी सम्मेलन पहिलो पटक आयोजना गरिएको र यसको उद्देश्य डायस्पोराका नेपालीहरूको व्यापार तथा लगानीको चाहनालाई सामूहिक मञ्चमार्फत उजागर गर्नु रहेको बताए । श्रेष्ठका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रम चेम्बर अफ कमर्समार्फत आयोजना हुनेछन् ।
सम्मेलनको पहिलो दिन विभिन्न विषयगत विज्ञहरूले आफ्नो प्रस्तुति दिएका थिए । सञ्जोग कोइरालाले सूचना प्रविधि र उत्पादनको बजारीकरणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने व्यवसायी राधेश पन्तले अमेरिकामा हासिल गरेको व्यावसायिक सफलता र विज्ञतालाई नेपालसँग कसरी जोड्न सकिन्छ भन्नेबारे अन्तरक्रिया गरेका थिए । सम्मेलनको पहिलो दिन नवउद्यम तथा व्यवसायको सुरुवातका विषयमा छलफल भएको थियो । सो अवसरमा मिङमार तामाङ, कपिल देवकोटा, आशिष पराजुली, सेसर कोइरालालगायतले व्यवसायको सुरुवात तथा यसको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।
दोस्रो दिन पनि प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, पर्यटन तथा नेपालमा लगानीका अवसर र सम्भावनाबारे अन्तरक्रिया भएको थियो । विभिन्न शीर्षकमा गरिएको प्यानलगत छलफलमा समिर मास्के, अञ्जनी फुयाल, श्री गुरुङ, सुमनराज तिमिल्सिना, आदित्य सुवेदी, नवीन क्षेत्रीलगायतले भाग लिएका थिए ।
तेस्रो तथा अन्तिम दिन रणनीतिक साझेदारी तथा आगामी सम्मेलनका बारेमा छलफल भएको थियो । व्यापार सम्मेलनमा भाग लिन नेपालसहित अमेरिका तथा क्यानडामा रहेका नेपाली व्यवसायी न्युयोर्क पुगेका थिए ।
बद्री गौतम अमेरिकास्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।