७ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा खेलकुद पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा सहयोग बढाउने बताएका छन्। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा मोदीले क्रिकेटसहित खेलकुद क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘खेलकुद, विशेषगरी क्रिकेटमा पनि हामी नेपालमा पूर्वाधार विकास र खेलाडीहरूको प्रशिक्षणमा सहयोग बढाउनेछौँ,’ प्रधानमन्त्री बालेनसँगको भेटपछि सम्बोधनका क्रममा मोदीले भनेका छन्।
नेपालले भारतसँग लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माण, राष्ट्रिय टोली तथा युवा खेलाडीको प्रशिक्षण र प्राविधिक सहयोगका विषय उठाउँदै आएको छ।
पोखरा र फाप्लामा प्रस्तावित क्रिकेट रंगशाला निर्माणका लागि भारतको प्राविधिक तथा आर्थिक सहयोग जुटाउने विषय पनि नेपालको प्राथमिकतामा रहँदै आएको छ।
त्यसैगरी, भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा नेपाली खेलाडीको प्रशिक्षणलाई नियमित बनाउने र युवा खेलाडीका लागि फेलोसिप कार्यक्रम विस्तार गर्ने विषयमा पनि नेपालले चासो देखाउँदै आएको छ।
नेपालले क्रिकेट पूर्वाधार निर्माणमा सहयोगका लागि एक दशकभन्दा लामो समयदेखि भारतसँग विभिन्न तहमा प्रस्ताव राख्दै आए पनि अहिलेसम्म रंगशाला निर्माणमा ठोस द्विपक्षीय सहकार्य हुन सकेको छैन।
मोदीको पछिल्लो प्रतिबद्धताले अब पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा सहकार्य विस्तार हुने अपेक्षा बढाएको छ।