Trending
Prev Story
Next Story

२४ हजार करोडको सहयोग, हवाई रुट विस्तारदेखि दुई बन्दरगाह प्रयोग गर्न दिनेसम्मका सहमति

Nagarik News •
November 23, 2026 • 11:02 AM
2
2 reads 0 reactions

भारतले नेपालको विकास, पूर्वाधार निर्माण र बाढीपछिको पुनर्निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ।

२४ हजार करोडको सहयोग, हवाई रुट विस्तारदेखि दुई बन्दरगाह प्रयोग गर्न दिनेसम्मका सहमति

भारतले नेपालको विकास, पूर्वाधार निर्माण र बाढीपछिको पुनर्निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार नयाँ दिल्लीमा भएको भेटवार्तापछि यस्तो घोषणा गरिएको हो।

परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमणसम्बन्धी संयुक्त प्रेस विज्ञप्तिअनुसार मोदीको निमन्त्रणामा आइतबारदेखि सोमबारसम्म भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहको यो पदभार सम्हालेपछिको पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा दुई देशबिच पूर्वाधार, ऊर्जा, यातायात, शिक्षा, स्वास्थ्य, कृषि र प्रविधिलगायतका क्षेत्रमा सहकार्य बढाउने विषयमा सहमति भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्। भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ। यसमध्ये ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदानका रूपमा दिइनेछ। यो रकम विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ।

त्यस्तै, ऊर्जा क्षेत्रका परियोजना सञ्चालन गर्न ११ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् १८ हजार ४०० करोड नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण उपलब्ध गराइनेछ। कुन परियोजनामा कति रकम खर्च गर्ने र सहयोग कार्यान्वयन गर्ने प्रक्रिया दुवै देशबिचको छलफलबाट टुङ्गो लगाइने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री शाहले नेपालमा आएको रसुवा-भोटेकोशीको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन्। उक्त बाढीले ठुलो संख्यामा मानिसको ज्यान लिनुका साथै भौतिक संरचनामा पनि क्षति पुर्‍याएको थियो।

भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले 'विकसित भारत र समुन्नत नेपाल' को साझा दृष्टिकोणसमेत सार्वजनिक गरेका छन्। यसले दुई देशबिच आर्थिक तथा विकास साझेदारी, यातायात सम्पर्क, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्य राखेको छ। यसका साथै जलवायु परिवर्तन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने सहमति भएको छ।

नेपालमा आईआईटी क्याम्पस स्थापना हुने भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना गर्ने भएको छ। दुई देशका प्रधानमन्त्रीबिच नेपालमा आईआईटी क्याम्पस स्थापना गर्ने सहमति भएको हो। यसले नेपालको उच्च शिक्षा र प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्‍याउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपालका सरकारी कर्मचारीको क्षमता अभिवृद्धि, प्रहरी अनुसन्धान, रक्षा शिक्षा, आयुर्वेद, अन्तरिक्ष प्रविधि, दिगो सहरी विकास, स्वास्थ्य तथा पशुपालन क्षेत्रमा सहकार्य गर्न पनि दुई देशबिच समझदारी भएको छ।

भारतको सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणा पनि भएको छ। नेपालमा भारत सरकारको सहयोगमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको काममा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तुष्टि जनाएका छन्। यसअघि सञ्चालनमा रहेका उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनालाई पनि निरन्तरता दिने सहमति भएको छ।

अयोध्या-जनकपुर रेल सेवा सुरु भ्रमणका क्रममा भारत र नेपालबिच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले अयोध्या र जनकपुरबिच सरयू-कमला एक्सप्रेस रेल सेवा उद्घाटन गरिएको छ। दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको सुरुवात गरेका हुन्।

यो रेल सेवाले भारत र नेपालबिचको यातायात सम्पर्क सहज बनाउनुका साथै रामायण सर्किटमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। यसबाहेक बौद्ध र शिवशक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न पनि दुवै देश सहमत भएका छन्।

नेपालको रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय ब्रोडगेज रेलमार्ग निर्माणका लागि फिल्ड लोकेसन सर्वेलाई अन्तिम रूप दिइएको घोषणा गरिएको छ। नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकास गर्न पनि भारतले सहकार्य गर्ने भएको छ।

त्यस्तै, भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको संयुक्त रूपमा शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा-चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि जनाएका छन्। भारत र नेपालबिच यसअघि तीन वटा एकीकृत जाँच चौकी सञ्चालनमा छन्।

भारतको धार्चुला र नेपालको दार्चुलाबिच निर्माण भएको नयाँ मोटरेबल पुल पनि उद्घाटन गरिएको छ। यसले पश्चिम नेपाल र भारतबिचको सीधा आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

नेपालले भारतका दुई बन्दरगाह प्रयोग गर्न पाउने भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) प्रयोग गर्ने नयाँ सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिने भएको छ।

दुवै देशले सीमापार यातायात तथा व्यापारलाई सहज बनाउन नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन निर्माणलाई तीव्रता दिने सहमति गरेका छन्।

त्यस्तै, नेपाल र भारतबिच हवाई सम्पर्क विस्तार गर्ने विषयमा पनि सहमति भएको छ। हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको काठमाडौं-भैरहवा-लखनऊको बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाइने भएको छ। यसका लागि प्राविधिक छलफल गरेर आवश्यक प्रक्रिया टुङ्गो लगाइनेछ।

पेट्रोलियम पाइपलाइन र जलविद्युत् क्षेत्रमा नयाँ सहकार्य नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार विस्तार गर्ने सहमतिअनुसार मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई समर्पण गरिएको छ। त्यस्तै, झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणका लागि दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्।

भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम छिट्टै सुरु गर्न दुवै पक्षले जोड दिएका छन्। नेपाल र भारतबिच ग्यास पाइपलाइन निर्माणका लागि समेत सहकार्य खोजिने भएको छ।

ऊर्जा क्षेत्रमा पनि महत्त्वपूर्ण सहमति भएको छ। भारत र नेपालबिचको दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुसार जलविद्युत् क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको हो। नेपालमा भारतीय कम्पनीहरूले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको काम छिटो सम्पन्न गर्ने विषयमा पनि दुवै देश सहमत भएका छन्।

भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गरिएको छ।

त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो टुङ्ग्याएर निर्माण प्रक्रिया अघि बढाउन दुवै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर निर्माणलाई पनि तीव्रता दिने सहमति भएको छ। यी आयोजनाबाट जलस्रोतको उपयोग गर्नुका साथै बाढीको जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

नेपालको इनरुवादेखि भारतको नयाँ पूर्णियासम्म र नेपालको दोधारादेखि भारतको बरेलीसम्म उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि जनाएका छन्।

आठ क्षेत्रमा समझदारीपत्र आदानप्रदान प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबिच विभिन्न आठ क्षेत्रमा समझदारीपत्र आदानप्रदान भएका छन्।

पहिलो समझदारी भारतको गुजरातस्थित राष्ट्रिय विधि विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि भएको छ। दोस्रो भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबिच भएको छ।

त्यस्तै, नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्न भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको नेपाल प्रशासनिक कर्मचारी कलेजबिच समझदारी भएको छ।

भारत र नेपालबिच आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्ने समझदारी पनि भएको छ। दक्षिण एसियाली भूउपग्रहको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबिच समझदारीपत्र आदानप्रदान भएको छ।

यसैगरी, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि, पशुधन र मत्स्यपालन विकासका क्षेत्रमा सहकार्य गर्न पनि दुई देशबिच समझदारी भएको छ।

दुवै देशले एक अर्काको देशमा बसोबास गर्ने नागरिकलाई बैंकिङ तथा दूरसञ्चारलगायतका सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने सहमति पनि गरेका छन्।

भ्रमणको अन्त्यमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन्। उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

दुई देशबिचको सम्बन्ध विश्वास, मित्रता, आपसी सम्मान र जनस्तरको निकट सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै संयुक्त विज्ञप्तिमा उच्चस्तरीय भ्रमण तथा आर्थिक र विकास साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १६:४७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
49m ago
हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार, प्रधानमन्त्री शाहको भारत भ्रमणमा केके भए सहमति ?

हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार, प्रधानमन्त्री शाहको भारत भ्रमणमा केके भए सहमति ?

भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता, हवाई रुट दुवैतर्फी बनाउनेदेखि बन्दरगाह, रेलमार्ग, ऊर्जा र पूर्वाधार विकासमा सहकार्य गर्ने लगायतका विषयमा सहमति भएको छ ।

#भारत #विकास #हवाई
Compare →
Bizshala
18h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का...

#भारत #भ्रमण #रुट
Compare →
Arthasansar
46m ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#भारत #भ्रमण
Compare →
Hamro Patro News
4h ago
नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

प्रधानमन्त्री वालेन्द्र साह मङ्सिर ६ र ७ गते (नोभेम्बर २२–२३, २०२६) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको यो पहिलो औपचारिक भारत भ्रमण हो । यो भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम व...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612