राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसद केपी खनाललाई जनतासँग प्रत्यक्ष फोन संवाद गर्न आग्रह गरेकी छन्।
खनालले फोन गरेर आफूलाई बदनाम गराउने नियत राखिएको हो भने त्यो फरक कुरा भएको भन्दै आफ्नो काम फोन उठाउने नभई जनताको मुद्दा उठाउने भएको बताएको तामाङले उल्लेख गरेकी छन्।
खनालले आफूलाई ‘दिदी’ मानेको भन्दै विभिन्न ठाउँबाट आफूलाई दबाब रहेको गुनासो गरेको पनि तामाङले बताएकी छन्।
तामाङले भनेकी छन्, ‘तपाईंले मलाई फोन गर्दा मसँग प्रत्यक्ष फोनमा कुरा गर्नुभयो। त्यसरी नै अन्य सर्वसाधारण नागरिकले पनि फोनमार्फत आफ्ना समस्या र गुनासा राख्न पाउनुपर्छ। त्यो संवाद ह्वाट्सएपमा मात्रै सीमित हुनुहुँदैन।’
उनले खनाललाई आफूले पटक-पटक फोन गर्दा उनका स्वकीय सचिवले हरेकपटक ह्वाट्सएपमा कल गर्न आग्रह गर्ने गरेको बताएकी छन्। यसले आफूलाई अप्ठ्यारो लागेर कतिपटक फोन नै नगरेको उनको भनाइ छ।
‘तपाईंलाई मात्र कामको प्रेसर हुने भन्ने कदापि हुँदैन। हामी सबै सांसद जनताको सेवा गर्न आएका हौँ। हिजो तपाईं कसैको छोरा, कसैको भाइ मात्र हुनुहुन्थ्यो होला, तर आज तपाईं तीन करोड जनताको साझा छोरा हुनुहुन्छ,’ उनले भनेकी छन्।
जनतासँग संवाद गर्न ह्वाट्सएप कललाई मात्र विकल्प नबनाउन आग्रह गर्दै तामाङले आफ्नो भनाइ यति मात्रै भएको स्पष्ट पारेकी छन्।
मा.केपी खनाल भाइ ले कल गर्नु भएर तपाईले मेरो बदनाम गराउने नियत छ भने अर्को कुरा हो, मेरो काम फोन उठाउने होइन जनताको मुद्दा उठाउने काम हो भन्नू भो र तपाई पनि मा. हर्क सम्पाङको बाटो मा हिड्नु भाको हो भने छुट्टै कुरो हो दिदी, मलाई कति ठाउँबाट प्रेसर छ, तपाई लाई मैले दिदि माने को थिए भनेर गुनासो गर्नु भो ! तपाई मेरो उमेर ले भाइ नै हो मैले माने, मेरो प्रश्न तपाई सग के हो भने जसरी तपाई ले मलाई फोन गर्दा मसँग डाइरेक्ट फोन मा कुरा गर्नु भो नि हो त्यसरि नै अन्य सर्वसाधारण नागरिकले फोन मार्फत समस्या,गुनासो पोख्न पाउनुपर्छ नकि त्यो तपाईं को ह्वाट्सएपमा मात्रै सिमित होस ! म बुझ्छु कहिलेकाहीँ फोन अफ हुन्छ, मान्छे बिरामी हुन सक्छ तर तपाईँलाई मैले आज मात्र होइन हरेक पल्ट फोन गर्दाखेरि तपाईँको स्वकियले जहिले मलाई ह्वाट्सएप मा कल गर्नुस भन्छ, मलाई अप्ठ्यारो लागेर कति पल्ट त मैले फोनै गरिन। तपाईलाई मात्र कामको प्रेसर हुने भन्ने कदापि हुँदैन ! हामी सबै जाना सांसदहरू जनताको सेवा गर्नै आएका हौँ। हिजो को दिन मा तपाई कसैको छोरा ,कसैको भाइ मात्र हुनुहुन्थ्यो होला तर आज तपाई तीन करोड जनताको साझा छोरा हुनुहुन्छ ! आफ्नो जनतासँग बोल्नको लागि ह्वाट्सएप कल भनेर अप्सन नराख्नुस ! मैले भन्न खोजेको यति हो अरु केही होइन। धन्यवाद !
प्रकाशित: ७ मंसिर २०८३ १३:३१ सोमबार