प्याज हाम्रो भान्सामा प्राय: नटुट्ने तरकारी हो । यसलाई सिधै तरकारी बनाएर खाने भन्दा पनि तरकारीमा स्वाद बढाउने पूरक तरकारीका रुपमा यसको प्रयोग हुने गर्छ ।
प्याजलाई दाल, तरकारी, अचारमा मिसाएर मात्रै नभई सलादका रुपमा समेत खाइन्छ । धार्मिक मान्यताहरूलाई आधार मानेर अशुद्ध भन्दै प्याज सेवन नगर्ने एकाध व्यक्तिहरू पनि हाम्रो समुदायमा भेटिन्छन् । तर स्वास्थ्यका दृष्टिकोणले भने प्याज अति लाभदायक मानिन्छ ।
कहिलेकाहीँ कसैकसैले सलादको रूपमा काँचो प्याज खाने गरे पनि प्राय गरी प्याज तेलमा फुराएर दाल, तरकारी तथा अचारमा मिसाएर मात्रै खाइन्छ ।
प्याज काँचै खाँदा पिरो भएर असहज हुने र मुखबाट एक खालको गन्ध आउने भएकाले पनि धेरैले यसलाई काँचै खान त्यति रुचाउँदैनन् । तर काँचो प्याजले मुटुको स्वास्थ्य राम्रो बनाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मद्दत गर्छ भन्ने कुरा अध्ययनहरूले देखाएका छन् ।
नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अनुसन्धानअनुसार प्याज खानेकुराको स्वाद बढाउने तरकारी मात्र होइन, यसमा शरीरका लागि फाइदाजनक विभिन्न पोषक तत्त्व र वनस्पतिजन्य यौगिक पनि पाइन्छन् । यसमा भिटामिन सी, फाइबर, फ्लाभोनोइड्स र क्वेरसेटिनजस्ता एन्टिअक्सिडेन्ट पाइन्छन् ।
दैनिक एउटा काँचो प्याज खाँदा शरीरमा कस्ता परिवर्तन हुन सक्छन् र यसबाट कसलाई फाइदा पुग्न सक्छ त ?
दैनिक काँचो प्याज खानुको एउटा फाइदा मुटुको स्वास्थ्यसँग सम्बन्धित हुन सक्छ । प्याजमा क्वेरसेटिन नामक फ्लाभोनोइड पाइन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरमा हुने अक्सिडेटिभ स्ट्रेस र सुन्निने समस्या कम गर्न मद्दत गर्न सक्छ । केही अनुसन्धानमा क्वेरसेटिन र प्याजको अर्क सेवन गर्दा रक्तचाप तथा कोलेस्टेरोलको स्तरमा सुधार हुन सक्ने देखिएको छ।
२.रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग
यदि तपाईं रगतमा चिनीको मात्रा बढ्ने समस्याबाट चिन्तित हुनुहुन्छ भने प्याजलाई आफ्नो खानाको हिस्सा बनाउन सक्नुहुन्छ । प्याजमा पाइने सल्फर यौगिक र क्वेरसेटिनजस्ता तत्त्वले शरीरमा रहेको ग्लुकोज पचाउने प्रक्रियामा प्रभाव पार्न सक्छन् । मधुमेह भएका व्यक्तिले पनि सन्तुलित आहारमा प्याज समावेश गर्न सक्छन् । तर, प्याज खाएकै भरमा मधुमेह कम हुन्छ भनेर औषधि वा इन्सुलिन सेवन गर्न भने छोड्नु हुँदैन ।
काँचो प्याजमा फाइबर र फ्रुक्टान नामक प्रिबायोटिक कार्बोहाइड्रेट पाइन्छ । यी तत्त्वले आन्द्रामा रहेका लाभदायक ब्याक्टेरियालाई पोषण प्रदान गर्छन् । यसले आन्द्राको स्वास्थ्य राम्रो राख्न र पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्न सक्छ ।
काँचो प्याजमा क्वेरसेटिन र अन्य फ्लाभोनोइड्स पाइन्छन् । यी एन्टिअक्सिडेन्टले शरीरलाई फ्रि रेडिकल्सका कारण हुने क्षतिबाट जोगाउन मद्दत गर्छन् । फ्रि रेडिकल्सले शरीरका कोषिकालाई क्षति पुर्याउनुका साथै अक्सिडेटिभ स्ट्रेस बढाउन सक्छन् । त्यसैले एन्टिअक्सिडेन्ट प्रशस्त पाइने खानेकुरा सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
यदि तपाईं तौल घटाउने प्रयासमा हुनुहुन्छ भने सलादमा काँचो प्याज समावेश गर्न सक्नुहुन्छ । प्याजमा क्यालोरीको मात्रा कम हुन्छ भने केही मात्रामा फाइबर पनि पाइन्छ । यसले खानामा स्वाद र पोषक तत्त्व थप्छ । साथै, सलादमा बढी क्यालोरी भएका सस वा अन्य खानेकुराको सट्टा प्याज समावेश गर्दा यसले स्वस्थ आहारको हिस्सा बन्न मद्दत गर्न सक्छ।