Trending
Prev Story
Next Story

अल निनोका कारण हिमालयमा पहिरो र हिमपहिरोको जोखिम, नेपालसहित दक्षिण एसियामा बाढीको पूर्वानुमान

Nagarik News •
November 23, 2026 • 03:38 AM
11
11 reads 0 reactions

शक्तिशाली अल निनोका कारण हिन्दुकुश हिमालय क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

अल निनोका कारण हिमालयमा पहिरो र हिमपहिरोको जोखिम, नेपालसहित दक्षिण एसियामा बाढीको पूर्वानुमान

शक्तिशाली अल निनोका कारण हिन्दुकुश हिमालय क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसले हिउँदमा नेपालमा बाढी, पहिरो र हिमपहिरोको जोखिम बढाउन सक्ने देखिएको छ।

‘हिन्दुकुश हिमालय विन्टर आउटलुक २०२६’ का अनुसार नेपालबाहेक अफगानिस्तान र बंगलादेशमा पनि यसको प्रभाव पर्नेछ। यी क्षेत्रमा सामान्यभन्दा बढी वर्षा र चिसो हुने अनुमान गरिएको छ।

अमेरिकाको नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए) का अनुसार अल निनो अहिले शक्तिशालीदेखि अति शक्तिशाली अवस्थामा पुगेको छ। सन् १९५० देखि अभिलेख राख्न थालिएयताकै सबैभन्दा शक्तिशाली अल निनो बन्ने सम्भावना करिब ६० प्रतिशत रहेको छ।

यो प्रतिवेदन काठमाडौंस्थित इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड), बेइजिङ नर्मल युनिभर्सिटी र चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सले संयुक्त रूपमा तयार पारेका हुन्।

अत्यधिक वर्षा, हिमपात, खडेरी र डढेलोको जोखिम

इसिमोडका वैज्ञानिकहरूका अनुसार अल निनोका कारण हिमालयको फेदी क्षेत्रमा बढी वर्षा हुन सक्छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि बढ्न सक्नेछ।

प्रतिवेदनमा क्षेत्रका केही भागमा खडेरीको अवस्था आउन सक्ने उल्लेख छ। यसले वनमा डढेलो लाग्ने जोखिमसमेत बढाउन सक्छ।

नेपाल र भुटानमा निकै क्षति पुर्‍याउने मनसुनपछि यस्तो पूर्वानुमान सार्वजनिक भएको हो। उक्त अवधिमा उच्च हिमाली क्षेत्रका हिमनदी र पर्माफ्रस्टमा आएको परिवर्तनसँग सम्बन्धित विपद्का घटनासमेत भएका थिए।

अगस्टमा नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीमा कम्तीमा १ हजार ५०० जनाको मृत्यु भएको थियो भने ५ हजारभन्दा बढी बेपत्ता भएका थिए।

प्रतिवेदनले अफगानिस्तान, पाकिस्तान, उत्तर भारत र नेपालका केही भागमा सामान्यभन्दा बढी बाक्लो हिउँ जम्ने अनुमान गरेको छ। भुटान र चीनको पूर्वी तिब्बतका केही क्षेत्रमा भने सामान्यभन्दा कम बाक्लो हिउँ जम्न सक्ने बताइएको छ।

गत महिना आएको थियो ‘सुपर–डुपर अल निनो’ को चेतावनी

अक्टोबर ८ मा सार्वजनिक भएको अमेरिकाको सिकागो विश्वविद्यालयस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताहरूको प्रतिवेदनमा विश्वले अत्यन्त शक्तिशाली अल निनोको सामना गरिरहेको उल्लेख थियो।

प्रशान्त महासागरको मध्य र पूर्वी भागमा समुद्रको तापक्रम सामान्यभन्दा ३.४ डिग्री सेल्सियस बढी पुगेको प्रतिवेदनमा उल्लेख छ। यसलाई सन् १९५० यताकै सबैभन्दा खतरनाक अल निनो भनिएको छ। मौसमविद्हरूले यसलाई ‘सुपर–डुपर अल निनो’ नाम दिएका छन्।

यसका कारण विश्वका विभिन्न भागमा अत्यधिक गर्मी, खडेरी वा भारी वर्षा हुन सक्छ। अनुसन्धानकर्ताहरूका अनुसार सन् २०२६ जुनदेखि सन् २०२७ फेब्रुअरीसम्म यस अल निनोका कारण विश्वभर करिब ४ लाख ५१ हजार थप मानिसको मृत्यु हुन सक्छ।

डिसेम्बरमा चरम अवस्थामा पुग्ने अनुमान

यस वर्ष अल निनो डिसेम्बरमा चरम अवस्थामा पुग्न सक्ने अनुमान छ। यसको प्रभावले आगामी महिनाहरूमा विश्वका धेरैजसो क्षेत्रमा सामान्यभन्दा बढी तापक्रम रहने आशंका गरिएको छ।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले वर्षाको ढाँचा परिवर्तन हुँदा विभिन्न क्षेत्रमा खडेरी र बाढीको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।

डब्लूएमओका अनुसार अक्टोबरदेखि डिसेम्बरसम्म यसको प्रभाव उत्तरी गोलार्धमा सन् २०२७ को वसन्त ऋतुसम्म रहन सक्छ। संगठनले सन् २०२७ फेब्रुअरीसम्म अल निनोको प्रभाव कायम रहने सम्भावना करिब १०० प्रतिशत रहेको जनाएको छ।

अत्यधिक गर्मीका कारण लु लाग्ने तथा अन्य स्वास्थ्य समस्या बढ्न सक्छन्। त्यस्तै, वर्षाको ढाँचा बिग्रिँदा कतै पानीको अभाव त कतै बाढीको अवस्था सिर्जना हुन सक्छ।

अल निनोका कारण भारतमा कम वर्षा, खडेरीको जोखिम

अल निनोको प्रभाव भारतमा पनि देखिएको छ। सन् २०२६ को दक्षिणपश्चिम मनसुनमा सामान्यभन्दा १३ प्रतिशत कम वर्षा भएको छ। यो सन् २००१ यताकै भारतको चौथो सबैभन्दा कम वर्षा भएको मनसुन हो। मनसुनको दोस्रो चरणमा अल निनोको प्रभाव देखिएको थियो।

अल निनोका कारण तापक्रम बढेको प्रभाव युरोपमा पनि देखिएको छ। फ्रान्स, स्पेन र बेलायतका विभिन्न स्थानमा यस वर्ष तापक्रमले नयाँ रेकर्ड बनाएको थियो।

कम वर्षाका कारण डेन्युब, राइन र टेम्सजस्ता प्रमुख नदीहरूको जलस्तरसमेत निकै घटेको थियो।

अल निनो प्रशान्त महासागरमा मात्रै किन हुन्छ?

अल निनो भन्नाले समुद्रको तापक्रम बढ्नु मात्रै होइन। यो प्रशान्त महासागरमा हुने विशेष प्राकृतिक प्रक्रिया हो।

सामान्य अवस्थामा प्रशान्त महासागरमा पूर्वबाट पश्चिमतर्फ हावा चल्छ। यसले तातो पानीलाई इन्डोनेसिया र अस्ट्रेलियातर्फ धकेल्छ।

दक्षिण अमेरिकाको तट नजिक समुद्रको गहिराइबाट चिसो पानी सतहमा आइरहन्छ। तर अल निनोका बेला यी हावा कमजोर हुन्छन्। त्यसपछि पश्चिमी भागमा जम्मा भएको तातो पानी पूर्वतर्फ फैलिन थाल्छ र प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको तापक्रम सामान्यभन्दा बढी हुन्छ।

अन्य महासागरमा पनि तापक्रम परिवर्तन हुन्छ। तर त्यहाँ हावा र समुद्री पानीको यस्तो विशेष व्यवस्था नहुने भएकाले त्यसलाई अल निनो भनिँदैन। एजेन्सी

प्रकाशित: ७ मंसिर २०८३ ०९:२३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल

हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै अर्यालले नेपाल …

#हिमालय
Compare →
Hamro Patro News
6d ago
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली– तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा उपचार केन्द्रको शुभारम्भ ग...

#हिमालय
Compare →
Ekantipur
2d ago
दक्षिण एसियाली आईटीएफ तेक्वान्दो सुरु

दक्षिण एसियाली आईटीएफ तेक्वान्दो सुरु

पहिलो दिन नेपालले कलर बेल्ट प्याटर्नमा ३५ स्वर्ण, कलर बेल्ट स्पाइरिङमा १ सय १३ स्वर्ण तथा ब्ल्याक बेल्ट प्याटर्न र ब्ल्याक बेल्ट स्पाइरिङमा समान २५–२५ स्वर्ण पदक जितेको छ ।

#दक्षिण #एसिया
Compare →
Bizshala
6d ago
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स...

#दक्षिण #एसिया
Compare →

Related Stories

Science & Climate
Build #2621