काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।
भ्रमणको दोस्रो तथा अन्तिम दिन आज बिहान ११ बजे हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम छ। त्यसपछि दिउँसो १२ः२५ बजे समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गरिनेछ।
यसअघि बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत हुनेछ भने १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। दिउँसो ३ः१५ बजे उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्।
भ्रमणको पहिलो दिन आइतबार भारतीय विदेशमन्त्री एस जयशंकरले शाहसँग शिष्टाचार भेट गरेका थिए। भेटमा दुई देशबीचको सम्बन्ध, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलगायत विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भ्रमणका सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आजै अपराह्न ४ः५० बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।