Trending
Prev Story
Next Story

एक सय खेलमा नेपालको ५०औं जित

Ekantipur •
November 23, 2026 • 01:32 AM
3
3 reads 0 reactions

नेपालले आफ्नो १ सय एकदिवसीय अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएको छ ।

एक सय खेलमा नेपालको ५०औं जित

नेपालले आफ्नो १ सय एकदिवसीय अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएको छ ।

नेपालले आफ्नो १ सय एकदिवसीय अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएको छ । नेपालले कतारमा भइरहेको एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा आइतबार यूएईलाई ६ विकेटले पराजित गर्दै पहिलो विजय हात पारेको छ ।

प्रतियोगितामा नेपाल र यूएईको राष्ट्रिय टोलीसहित भारत ‘ए’ र पाकिस्तान ‘ए’ बीच समूह ‘बी’ को प्रतिस्पर्धा भइरहेको छ । नेपाल र यूएईबीचको खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ भने अरू खेललाई लिस्ट ‘ए’ मान्यता रहेको छ ।

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसीजस्ता प्रमुख खेलाडीबिनै गएको नेपालले यूएईसँग खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय खेलको आँकडा छोएको हो । सन् २०१८ यता नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै आएको छ । यूएईसँगको जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा ५० औं हो । यसै खेलबाट नेपालका लागि लोकेश बम, रशिद खान र मयन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

नेपाल शुक्रबार मात्र दोहामा भारतसँग ३ सय ६ रनले पराजित भएको थियो र सो क्रममा २६ रनमै अलआउट भएको थियो । जुन लिस्ट ‘ए’ मान्यता खेलकै पाँचौं न्यून स्कोर थियो । नेपालले सेमिफाइनलमा पुग्ने आशालाई जीवितै राख्दै मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ ।

नेपालले युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदान टस जितेर फिल्डिङ रोजेपछि उत्कृष्ट बलिङ गरेको थियो । यूएईलाई ३९.५ ओभरमा १ सय २१ रनमा अलआउट गरेको नेपालले जवाफमा कुशल भुर्तेलले अर्धशतक बनाएपछि २२ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

रशिद खानले आर्यन्श शर्मालाई विकेटको पछाडि क्याच गराए । अर्का ओपनर अंश टन्डन १ रनमा रनआउट भए । हरप्रित सिंह र मोहम्मद साहदादले तेस्रो विकेटमा ६३ रनको साझेदारी गरे पनि यूएईले अन्तिम ८ विकेट केवल ४७ रनमा गुमाएको थियो । हरप्रितले ४८ बल खेल्दै ४ चौका प्रहार गरी ३२ र साहदादले ७० बल खेली ५ चौका प्रहार गरी ४० रन बनाए । अफ्ताब आलम ४ र कप्तान बसिल हमिद २ रन बनाई कुशल भुर्तेलको बलमा आउट भएपछि यूएई नाटकीय रूपमा पतन भएको थियो ।

नेपालबाट कप्तान सन्दीप लामिछाने र कुशलले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन मात्र खर्चेका थिए । कुशलले ५ ओभरमा २ मेडन राख्दै १५ रन खर्चे । रशिदले ४ ओभरमा १३, ललित राजवंशीले ८ ओभरमा १ मेडन राख्दै २७ र नन्दनले ४.५ ओभरमा २८ रन खर्चेर १–१ विकेट लिए ।

नेपालको सुरुआत राम्रो थिएन । अर्जुन कुमाल ५ रनमै आउट भए । देव खनाल १ बल मात्र टिकी शून्यमा आउट भए । कुशल र मयन यादवले तेस्रो विकेटमा ६१ रनको साझेदारी गरी नेपालको स्थितिलाई सुधारे । मयन २७ रनमा आउट भए । उनले २८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।

कुशलले ५७ रन जोडे । उनले ५६ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । बसिर अहमद ३१ बल खेली १८ र पवन सर्राफ ८ बल खेली ९ रनमा अविजित रहे । पवनले २ चौका प्रहार गरे । यूएईका मोहम्मद मोहसिनले २ विकेट लिए ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2612