६ मंसिर, काठमाडौं । एसिया कप राइजिङ स्टार्स अन्तर्गत यूएईविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्। यो ओडीआई क्रिकेटमा उनको पाँचौं ‘प्लेयर अफ द म्याच’ अवार्ड हो।
सन्दीपले यूएईविरुद्ध १० ओभर बलिङ गर्दै ११ रन मात्र खर्चिएर तीन विकेट लिए। उनले आफ्नो स्पेलमा तीन ओभर मेडन राखेका थिए।
सन्दीपसँगै तीन विकेट लिएका कुशल भुर्तेल पनि अवार्डका दाबेदार थिए। कुशलले बलिङमा तीन विकेट लिनुका साथै ब्याटिङमा अर्धशतक बनाएका थिए।
खेलपछि प्रतिक्रिया दिँदै सन्दीपले पिच ब्याटिङका लागि निकै राम्रो रहेको बताए। यस्तो पिचमा विपक्षी टोलीलाई १२२–१२३ रनमै अलआउट गर्न कठिन हुने उनको भनाइ थियो।
‘विकेट हेर्दा यो निकै उत्कृष्ट ब्याटिङ पिच थियो। उनीहरूले निकै राम्रो प्रदर्शन गरिरहेका थिए। आफ्नो भूमिका निभाउने सबै बलरहरू विशेष धन्यवादका पात्र छन्’ उनले भने।
उनले पिचमा बल ब्याटमा राम्रोसँग आइरहेको र स्पिन पनि नभएको उल्लेख गर्दै त्यहाँ २६०–२७० रनसम्म बन्न सक्ने बताए।