प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशि २५ हजार १ सय रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष स्वर्गीय शक्ति लम्सालको सम्झनामा प्रगतिशील लेखक संघ, नेपालले प्रदान गर्नेछ ।
काठमाडौं — प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ बाट रमेश विकललाई पुरस्कृत गरेको छ । नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा स्वर्गीय विकलले पुर्याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको प्रलेसले जनाएको छ ।
आइतबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा वक्ताहरूले राजनीतिक जवाफदेहिता, सामाजिक न्याय तथा रूपान्तरण र समावेशी लोकतन्त्रको पक्षमा शक्ति लम्सालको उल्लेख्य योगदान रहेको चर्चा गर्दै आदर्श र त्यागलाई राजनीतिक संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शक्ति लम्सालले नागरिक स्वतन्त्रता र देश विकासको पक्षमा कहिल्यै कसैसँग सम्झौता नगरेको चर्चा गरे । उनले नेपाली नागरिकको हित र सार्वभौमसत्ताका सन्दर्भमा लम्साल सदैव अविचलित रहेको बताए ।
कार्यक्रममा नेकपा नेता तथा पूर्वमन्त्री देव गुरुङले अत्यन्त विषम परिस्थितिमा समेत नेपाली राजनीतिमा न्याय, समानता र विकासको पक्षमा शक्ति लम्सालको अविचलित अडान रहेको बताए । यस्तै पत्रकार पुरुषोत्तम दाहालले साहित्यिक र न्यायिक योगदानहरूको कहिल्यै मृत्यु नहुने बताए ।
प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशि २५ हजार १ सय रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष स्वर्गीय शक्ति लम्सालको सम्झनामा प्रगतिशील लेखक संघ, नेपालले प्रदान गर्नेछ । वामपन्थी पत्रकार तथा विश्लेषक शक्ति लम्सालले लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा पटकपटक जेलनेलसमेत भोग्नुपरेको थियो । उनको २०७२ साल कात्तिकमा निधन भएको थियो ।