Trending
Prev Story
Next Story

एआईबाट चिटिङको घटना सार्वजनिक भएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीको राजीनामा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ मंसिर, काठमाडौं । दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै …

एआईबाट चिटिङको घटना सार्वजनिक भएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीको राजीनामा

६ मंसिर, काठमाडौं । दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै उनले पद छाडेका हुन् ।

आइतबार राजीनामा घोषणा गरेका चोइको प्रस्ताव राष्ट्रपति ली जे-म्युङले करिब एक घण्टाभित्रै स्वीकृत गरेका छन् । नयाँ शिक्षामन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

चोइले शिक्षा मन्त्रालयमार्फत जारी गरेको वक्तव्यमा परीक्षा तयारीका क्रममा अन्तिम समयमा गरिएका विभिन्न परिवर्तनले परीक्षार्थीसहित सर्वसाधारणलाई असुविधा भएको स्वीकार गरेका छन् । आफू मन्त्रालयको जिम्मेवार प्रमुख भएकाले समयमै तयारी गर्न नसकेको आलोचनाबाट उम्कन नसक्ने उनको भनाइ थियो ।

‘परीक्षा सकिएपछि मैले आफ्नो जिम्मेवारी गम्भीर रूपमा महसुस गरेको छु र राजीनामा प्रस्ताव गरेको छु,’ उनले वक्तव्यमा भनेका छन् ।

उनको राजीनामाको पृष्ठभूमिमा गत साता सार्वजनिक भएको एआईको सहायतामा परीक्षा अनियमितता गरिएको घटना छ । कर लेखापालको राष्ट्रिय परीक्षामा सबैभन्दा उच्च अंक ल्याएका एक परीक्षार्थीले सूक्ष्म क्यामेरा, स्मार्टफोन र एआई प्रयोग गरेर उत्तर तयार पारेको स्वीकार गरेपछि दक्षिण कोरियामा परीक्षाको निष्पक्षता र सुरक्षा प्रणालीमाथि प्रश्न उठेको थियो ।

त्यसपछि सरकारले एआई प्रयोग गरेर हुने अनियमितता रोक्न विश्वविद्यालय प्रवेश परीक्षामा नयाँ सुरक्षा व्यवस्था लागू गर्‍यो । तर, परीक्षा हुनुभन्दा केही दिनअघि र अन्तिम समयसम्म नियम परिवर्तन गरिँदा परीक्षार्थी, शिक्षक र अभिभावकमा अन्योल बढेको थियो ।

दक्षिण कोरियाको वार्षिक विश्वविद्यालय प्रवेश परीक्षा गत बिहीबार अर्थात् नोभेम्बर १९ मा भएको थियो । सन् २०२७ को शैक्षिक सत्रका लागि लिइएको यो परीक्षा त्यहाँ ‘सुन्युङ’ नामले चिनिन्छ । देशको सबैभन्दा महत्त्वपूर्ण परीक्षामध्ये एक मानिने यसले विद्यार्थीको विश्वविद्यालय भर्ना र भविष्यको पेसागत अवसरमा ठूलो प्रभाव पार्छ ।

यस वर्षको परीक्षाका लागि ५ लाख ५१ हजार ८६४ जनाले आवेदन दिएका थिए । तर, परीक्षा दिने दिन ४ लाख ९७ हजार ५२६ जना मात्रै सहभागी भए । दक्षिण कोरियाली शिक्षा मन्त्रालयका अनुसार अनुपस्थित हुनेको संख्या ५४ हजार ३३८ थियो ।

एआई प्रयोग गरेर हुन सक्ने अनियमितता रोक्न सरकारले परीक्षार्थीले परीक्षा कक्षमा लैजान पाउने सामग्रीमा कडाइ गर्‍यो । सुरुमा कलम, मेटाउने टेप, इरेजर र सिसाकलमजस्ता सामग्री लैजान पाइने व्यवस्था थियो । तर, अन्तिम समयमा परीक्षार्थीले आफ्नै तर्फबाट लैजान पाउने लेखन सामग्रीमा सिसाकलम मात्र राखियो । अन्य आवश्यक सामग्री परीक्षा केन्द्रबाटै उपलब्ध गराउने व्यवस्था गरियो ।

कपडा वा कमिजका टाँकमा सूक्ष्म क्यामेरा लुकाउन सकिने आशंकामा परीक्षा केन्द्रमा टाँक छोप्न टाँस्ने पट्टीको व्यवस्था गरियो । परीक्षार्थीले लगाएका कपडाका टाँकमा त्यस्तो पट्टी टाँस्ने व्यवस्था गरिएको थियो । परीक्षार्थीको चस्मा तथा अन्य सामग्री पनि निगरानीमा राखिएको थियो ।

परीक्षा चलिरहेका बेला मोबाइल फोन नबुझाएका परीक्षार्थी पहिचान गर्न सरकारले देशभरका मोबाइल फोनमा तीन पटक आपत्कालीन विपद् सन्देश पठायो । मोबाइल मौन अवस्थामा राखिएको भए पनि ती सन्देश बज्ने गरी पठाइएका थिए । यसबाट परीक्षा केन्द्रमा फोन लुकाएर राखेका परीक्षार्थी पहिचान गर्ने उद्देश्य राखिएको थियो ।

यी व्यवस्थाका कारण परीक्षार्थी र शिक्षकहरूमा थप तनाव र अन्योल सिर्जना भएको भन्दै सरकारको आलोचना भयो । परीक्षा नजिकिँदै गर्दा नियम परिवर्तन गरिएको र त्यसबारे स्पष्ट जानकारी नपाउँदा तयारीमा असर परेको उनीहरूको गुनासो थियो ।

शिक्षा मन्त्रालयका अनुसार परीक्षाका क्रममा विद्युतीय उपकरणसँग सम्बन्धित १११ वटा शंकास्पद अनियमितता फेला परेका थिए । बिहीबार सार्वजनिक गरिएको प्रारम्भिक विवरणमा यस्तो संख्या ९८ थियो । थप विवरण संकलनपछि शुक्रबार मन्त्रालयले संख्या बढाएर १११ पुर्‍याएको थियो । तीमध्ये पाँच घटनामा परीक्षाकै क्रममा स्मार्ट उपकरण प्रयोग भएको पाइएको थियो ।

कर लेखापाल परीक्षामा क्यामेरा र एआई प्रयोग

शिक्षामन्त्रीको राजीनामाको मुख्य पृष्ठभूमिमा कर लेखापालको राष्ट्रिय परीक्षामा भएको अनियमितता छ ।

यस वर्षको प्रमाणित कर लेखापाल परीक्षामा सबैभन्दा बढी अंक ल्याएका हान थरका परीक्षार्थीले नोभेम्बर १५ मा आफूले एआई प्रयोग गरेर परीक्षा दिएको स्वीकार गरेका थिए । उनले एक सानो क्यामेराबाट प्रश्नपत्रका तस्बिर खिचेर एआई प्रणालीमा पठाउने र त्यसबाट प्राप्त उत्तर स्मार्टफोनमा हेर्ने गरेको बताएका थिए ।

उनले पहिलो र दोस्रो दुवै चरणको परीक्षामा यही विधि अपनाएको बताएका छन् । अप्रिलमा भएको पहिलो चरणको परीक्षामा ४०० पूर्णाङ्कमध्ये ३९७.५ अंक ल्याएका उनी जुलाईमा भएको दोस्रो चरणमा पनि उच्च अंकसहित समग्रमा पहिलो भएका थिए ।

उनको अस्वाभाविक रूपमा उच्च अंकबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि उनले वकिलको युट्युब च्यानलमार्फत अनियमितता स्वीकार गरेका थिए । त्यसपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गर्दै आफूले गरेको कामको विवरणसहित लिखित बयान बुझाएका थिए ।

नोभेम्बर १७ मा प्रहरीले उनीसँग करिब १३ घण्टा सोधपुछ गरेको थियो । उनले आफूले गरेको कामप्रति क्षमा माग्दै अनुसन्धानमा सत्य कुरा बताउने बताएका थिए । उनले प्रयोग गरेका उपकरण र घटनामा अरू कसैको संलग्नता थियो कि थिएन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो घटना सार्वजनिक हुनुअघि पनि दक्षिण कोरियामा स्मार्ट चस्मा प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटना बाहिरिएका थिए । जुन महिनामा अंग्रेजी भाषासम्बन्धी मानकीकृत परीक्षामा र अक्टोबरमा विश्वविद्यालयका प्रवेश परीक्षामा एआईयुक्त चस्मा प्रयोग गरिएको घटना सार्वजनिक भएको थियो । विद्यालय तहमा पनि यस्ता घटना देखिएपछि परीक्षा प्रणालीमा प्रविधिको दुरुपयोग रोक्ने चुनौती थपिएको थियो ।

परीक्षामा प्रविधिको दुरुपयोग रोक्ने चुनौती

दक्षिण कोरियामा विश्वविद्यालय प्रवेश परीक्षा विद्यार्थीको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण आधार मानिन्छ । कुन विश्वविद्यालयमा भर्ना पाइन्छ भन्ने कुराले रोजगारी, सामाजिक प्रतिष्ठा र भविष्यका अवसरमा समेत प्रभाव पार्ने भएकाले यो परीक्षा निकै प्रतिस्पर्धात्मक हुन्छ ।

परीक्षालाई व्यवस्थित बनाउन देशभर विशेष तयारी गरिन्छ । परीक्षार्थीलाई समयमै केन्द्रमा पुर्‍याउन प्रहरी परिचालन हुन्छ । अंग्रेजी सुन्ने परीक्षा चल्दा विमान उडानसमेत रोक्ने र परीक्षार्थीलाई सहज हुने गरी कार्यालय तथा वित्तीय बजारको समयतालिका मिलाउने अभ्यास छ ।

तर, एआई र साना विद्युतीय उपकरणको प्रयोगबाट हुने अनियमितता नियन्त्रण गर्न परम्परागत सुरक्षा उपाय पर्याप्त नहुने चिन्ता बढेको छ । सूक्ष्म क्यामेरा, स्मार्ट चस्मा र स्मार्टफोनबाट प्रश्नपत्रको तस्बिर खिचेर एआईमार्फत उत्तर प्राप्त गर्न सकिने घटनाले परीक्षाको निष्पक्षतामाथि चुनौती थपेको छ ।

यसै विषयमा संसद्को शिक्षा समितिमा भएको छलफलमा शिक्षामन्त्री चोइले एआई प्रयोग गरेर हुने सबै प्रकारका अनियमितता शतप्रतिशत रोक्न सक्ने विश्वास आफूलाई नभएको आशयको जवाफ दिएका थिए । त्यसपछि पनि उनको आलोचना भएको थियो ।

सरकारले परीक्षामा अनियमितता गर्नेहरूलाई कडा कारबाही गर्ने र आगामी परीक्षामा प्रविधिको दुरुपयोग रोक्ने व्यवस्था बलियो बनाउने बताएको छ । तर, यस वर्षको परीक्षामा अन्तिम समयमा गरिएका नियम परिवर्तनले विद्यार्थीमा थप अन्योल र तनाव सिर्जना गरेको भन्दै त्यसको जिम्मेवारी शिक्षामन्त्रीले लिएका हुन् । (एजेन्सीहरूको सहयोगमा)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2h ago
एआई चिटिङ प्रकरणपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

एआई चिटिङ प्रकरणपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

राष्ट्रिय कर लेखापरीक्षक (ट्याक्स एकाउन्टेन्ट) परीक्षाका सर्वोत्कृष्ट परीक्षार्थीले सूक्ष्म क्यामेरा र स्मार्टफोनको प्रयोग गरी चिट चोरेको स्वीकार गरेपछि दक्षिण कोरियामा परीक्षा व्यवस्थापनको कमजोरीलाई लिएर चौतर्फी विरोध भएको थियो

#परीक्षा #एआई #चिटिङ
Compare →
Hamro Patro News
6d ago
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

सियोल । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा...

#एआई #दक्षिण #कोरिया
Compare →
Nagarik News
6d ago
दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ।

#एआई #दक्षिण #कोरिया
Compare →
Bizshala
22h ago
के एआई ह्याकर र बैंकहरूबीच साइबर युद्ध सुरु भएको हो ?

के एआई ह्याकर र बैंकहरूबीच साइबर युद्ध सुरु भएको हो ?

बैंकिङ प्रणाली अहिले ठूलो साइबर चुनौतीको सामना गरिरहेको छ। एकतिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सुसज्जित ह्याकरहरू...

#एआई
Compare →
Arthasansar
1w ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#राजीना
Compare →

Related Stories

Education & Youth
Build #2612