राष्ट्रिय कर लेखापरीक्षक (ट्याक्स एकाउन्टेन्ट) परीक्षाका सर्वोत्कृष्ट परीक्षार्थीले सूक्ष्म क्यामेरा र स्मार्टफोनको प्रयोग गरी चिट चोरेको स्वीकार गरेपछि दक्षिण कोरियामा परीक्षा व्यवस्थापनको कमजोरीलाई लिएर चौतर्फी विरोध भएको थियो
सोल — 'एआई (आर्टिफिसियल इन्टेलिजेन्स) चिटिङ' प्रकरणको नैतिक जिम्मेवारी लिँदै दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले आइतबार पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय कर लेखापरीक्षक (ट्याक्स एकाउन्टेन्ट) परीक्षाका सर्वोत्कृष्ट परीक्षार्थीले सूक्ष्म क्यामेरा र स्मार्टफोनको प्रयोग गरी चिट चोरेको स्वीकार गरेपछि दक्षिण कोरियामा परीक्षा व्यवस्थापनको कमजोरीलाई लिएर चौतर्फी विरोध भएको थियो ।
उनले त्यस्तो समयमा एआईको सहयोगमा चिट चोरेको स्वीकार गरे, जतिबेला दक्षिण कोरियामा विश्वविद्यालयस्तरीय सुनुङ परीक्षाको तयारी अन्तिम अवस्थामा पुगेको थियो । सुनुङ परीक्षा सुरु हुनभन्दा चार दिनअघि मात्रै उनले उक्त खुलासा गरेका थिए ।
अत्यधिक प्रतिस्पर्धात्मक मानिने दक्षिण कोरियामा 'सुनुङ' परीक्षालाई प्रतिष्ठित विश्वविद्यालयमा भर्ना र आकर्षक तलबसहितको जागिरका लागि प्रवेशद्वारका रूपमा हेर्ने गरिन्छ ।
उक्त स्वीकारोक्तिपछि सरकारी अधिकारीहरूले परीक्षा केन्द्र क्षेत्रमा सार्वजनिक वाई-फाई बन्द गर्ने र परीक्षार्थीको लुगाका टाँकमा स्टिकर टाँस्नेलगायतका हतार-हतारका निरोधात्मक उपाय अपनाउन बाध्य भएका थिए ।
सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै ७२ वर्षीय चोईले भनेका छन्, ' सुनुङ परीक्षा कुनै ठूलो दुर्घटनाबिना नै सम्पन्न भएको छ । तर, यसका बाबजुद मैले जनआलोचनालाई मध्यनजर गरेको छ । अब परीक्षा सकिएकाले यसको पूर्ण जिम्मेवारी लिँदै राजीनामा पेस गर्दछु ।'
राष्ट्रपति ली जे म्युङले उनको राजीनामा स्वीकृत गरिसकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।