नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ मा समूहको प्रस्तुति भइरहेको छ ।
काठमाडौँ — ४६ वर्षपछि जापानी सांगीतिक समूह ‘गोडाइगो’ ले नेपालमा प्रस्तुती दिने भएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ मा समूहको प्रस्तुति भइरहेको छ ।
सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुत हुन लागेको हो । यसैगरी, जापानका चर्चित हिपहप कलाकार ‘मम्मी–डी’ सहित कववेभ, कुटुम्ब र सविन राई एण्ड द फराहो नेपाली ब्याण्डहरूको समेत विशेष सांगीतिक प्रस्तुति रहनेछ ।
भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले यसअघि जापानमा आयोजित सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।
नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सह–आयोजनामा हुन लागेको महोत्सवमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।
सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ ।