काठमाण्डौ । चीनसँग जोडिएको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को संख्या ह्वात्तै बढेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामै उक्त नाकाबाट ७ हजार विद्युतीय सवारीसाधन आयात भएका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३ हजार २२३ वटा ईभी भित्रिएका थिए। यस आधारमा यस वर्ष ईभी आयात करिब ११७ प्रतिशतले बढेको देखिन्छ।
रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि चिनियाँ सामान आयातका लागि कोरला नाकाको प्रयोग उल्लेख्य रूपमा बढेको हो।
मुस्ताङ भन्सारका अधिकृत अमिन्द्र सिंहका अनुसार चालु आर्थिक वर्षको साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा गरी थप ५ हजार ६४७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।
ईभी आयातमा भएको वृद्धिसँगै मुस्ताङ भन्सारले चार महिनामै वार्षिक राजस्व लक्ष्यसमेत पार गरेको छ।
चालु आर्थिक वर्षका लागि ९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको कार्यालयले पहिलो चार महिनामै १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ उठाएको छ। यो वार्षिक लक्ष्यभन्दा ३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी हो।
यस अवधिमा कोरला नाकाबाट ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। विद्युतीय सवारीसाधनका अतिरिक्त लत्ताकपडा, विद्युतीय उपकरण, कस्मेटिक सामग्री, निर्माण सामग्री, फलफूल तथा खाद्यान्नलगायत वस्तु आयात भएका हुन्।
तर, आयात बढेसँगै सडक पूर्वाधारको समस्या पनि देखिएको छ। मुस्ताङबाट अन्य गन्तव्यसम्म गाडी पुर्याउने सडक जोखिमपूर्ण हुनु र दक्ष चालकको अभावका कारण व्यवसायीले समस्या भोगिरहेका छन्।
भन्सार जाँचपास पूरा गरेर गन्तव्यतर्फ हिँडेका दर्जनौँ विद्युतीय गाडी अझै विभिन्न सडक खण्डमा रोकिएको बताइएको छ।
यसैबीच, पहिलो चार महिनामा कोरला नाकाबाट नेपालले चीनतर्फ २९ करोड ५२ लाख रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ। निर्यात हुने वस्तुमा मुख्यतः हस्तकलाका सामग्री तथा अन्य नेपाली उत्पादन रहेका छन्।
कोरला नाकाबाट बढेको आयातले चीनसँगको व्यापारमा यो नाकाको महत्व बढ्दै गएको संकेत गरेको छ। यद्यपि आयातको तुलनामा निर्यात निकै न्यून रहेकाले व्यापार असन्तुलन भने उच्च देखिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।