Trending
Prev Story
Next Story

अमेरिकामा २० महिनामा ६ हजार बढी भारतीय पक्राउ, २ हजार ३४९ जना देशनिकाला

Nagarik News •
November 22, 2026 • 05:21 AM
3
3 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी कारबाहीको असर भारतीय नागरिकमाथि परेको छ।

अमेरिकामा २० महिनामा ६ हजार बढी भारतीय पक्राउ, २ हजार ३४९ जना देशनिकाला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी कारबाहीको असर भारतीय नागरिकमाथि परेको छ। अमेरिकन कम्युनिटी मिडियाको रिपोर्टअनुसार सन् २०२५ जनवरीदेखि २०२६ अगस्टसम्म अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) ले ६ हजार १११ जना भारतीयलाई पक्राउ गरेको छ।

अमेरिकामा भारतीय नागरिक पक्राउ परेको यो अहिलेसम्मकै ठूलो संख्या हो। पक्राउ परेकामध्ये ५ हजार २३५ जनालाई डिपोर्टेसन सेन्टरमा राखिएको थियो भने २ हजार ३४९ जनालाई देशनिकाला गरिएको थियो।

संस्था ‘स्टप एएपीआई हेट’का अनुसार नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि आईसीईले छापा मार्ने र पक्राउ गर्ने अभियान तीव्र बनाएको थियो। यद्यपि, पछिल्लो समय पक्राउ परेकाहरूको नयाँ तथ्यांक सार्वजनिक भएको छैन।

संस्थाले एसिया–प्रशान्त क्षेत्रका समुदायमध्ये भारतीय नागरिक सबैभन्दा बढी पक्राउ पर्ने, हिरासतमा राखिने र देशनिकाला हुने गरेको दाबी गरेको छ। आईसीईले दक्षिणी राज्यहरूमा हिस्पानिक र अश्वेत समुदायका मानिसमाथि पनि कारबाही गरेको थियो।

ग्रीनकार्ड स्वीकृत भइसके पनि एक साता हिरासतमा

क्यालिफोर्नियामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी ६० वर्षीया भारतीय मूलकी महिला बबली (नाम परिवर्तन) लाई पनि हिरासतमा लिइएको थियो। उनलाई ग्रीनकार्ड आवेदनसँग सम्बन्धित बायोमेट्रिक्स प्रक्रिया पूरा गर्न अध्यागमन कार्यालयमा बोलाइएको थियो।

बबली सन् १९९४ देखि अमेरिकामा बस्दै आएकी छन्। उनको ग्रीनकार्डसमेत स्वीकृत भइसकेको थियो। तर परिवारका सदस्यले भारतीय भएकै कारण उनलाई दुःख दिइएको आरोप लगाएका छन्। उनी एक सातापछि हिरासतबाट मुक्त भएकी थिइन्।

क्यालिफोर्नियामा मात्रै आईसीईले ८५० भन्दा बढी भारतीयलाई पक्राउ गरेको छ। एएपीआईका अनुसार डेमोक्रेटिक पार्टीको प्रभाव रहेको क्यालिफोर्नियाका फ्रेस्नो, बेकर्सफिल्ड, स्टकटन र सान बर्नार्डिनोमा सबैभन्दा बढी कारबाही भएको थियो।

सन् २०२५ मा १६ वर्षयताकै धेरै भारतीय देशनिकाला

अध्यागमन निकाय आईसीईका एक अधिकारीका अनुसार अवैध आप्रवासीविरुद्ध पक्राउ र देशनिकालाको दुवै प्रक्रिया बढाइएको छ। यस वर्षको अन्त्यसम्म देशनिकाला गरिने अवैध आप्रवासीको संख्या अहिलेसम्मकै उच्च हुने अनुमान गरिएको छ।

गत वर्ष अर्थात् सन् २०२५ मा देशनिकाला गरिएका तीन हजारभन्दा बढी भारतीय सबै अवैध रूपमा अमेरिका प्रवेश गरेका व्यक्ति रहेको अधिकारीले बताएका छन्।

आईसीईले जुन महिनामा मात्रै ८०१ जना भारतीयलाई देश छाड्नुपर्ने आदेश (रिमुभल अर्डर) जारी गरेको थियो। यद्यपि, यस्तो आदेश जारी हुँदैमा तत्काल देशनिकाला भइहाल्ने होइन। सम्बन्धित व्यक्तिले अदालतमा अपिल गर्न सक्छन् वा स्वेच्छाले अमेरिका छाड्न सक्छन्।

सन् २०२५ मा देशनिकाला गरिएका भारतीयको संख्या पछिल्लो १६ वर्षयताकै सबैभन्दा धेरै थियो।

‘ह्युमन राइट्स फर्स्ट’ संस्थाका अनुसार भारतीय नागरिकलाई ओमानी एयरवेजमार्फत देशनिकाला गरिँदै आएको छ। टेक्सासको हार्लिङ्गेनबाट करिब २० घण्टाको उडानमार्फत उनीहरूलाई नयाँदिल्ली पठाउने गरिएको छ।

यस वर्ष देशनिकालाका लागि विशेष उडान प्रयोग भइरहेको छ। गत वर्ष भने अमेरिकाले सैन्य विमान ‘हरक्युलिस’ प्रयोग गरेर भारतीयलाई देशनिकाला गरेको थियो।

ट्राफिक नियम उल्लंघनदेखि सामाजिक सञ्जालमा पोस्ट गर्दा पनि कारबाही

वैध भिसामा अमेरिका पुगेका पेसाकर्मीलाई समेत विभिन्न उल्लंघनको आरोप लगाउँदै देशनिकाला गर्ने गरिएको छ। अमेरिकाका केही सहरमा ट्राफिक बत्तीको नियम उल्लंघन गरेको आरोपमा विद्यार्थीलाई समेत देशनिकाला गरिएको घटना सार्वजनिक भएका छन्।

केही विद्यार्थीले सामाजिक सञ्जाल एक्स, इन्स्टाग्राम र फेसबुकमा ट्रम्प सरकारको आलोचना गरेको आरोपमा देशनिकालाको सामना गर्नुपरेको छ।

टेक्सासमा एच–१बी भिसामा कार्यरत एक व्यक्तिले जागिर गुमाएका थिए। उनीसँग नयाँ जागिर खोज्न अमेरिकामा थप ६० दिन बस्न पाउने सुविधा थियो।

यसैबीच, एउटा रेस्टुरेन्टमा पार्टटाइम काम गरिरहेका बेला आईसीईले छापा मारेको थियो। भिसावाहकलाई पक्राउ गरेर भिसाको सर्त उल्लंघन गरेको आरोप लगाइयो र भारत फर्काइयो।

सन् २०२५ मा ३ हजार ५६७ भारतीय देशनिकाला

भारतको विदेश मन्त्रालय (एमईए) ले सन् २०२६ जुनमा सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा अमेरिकाले ३ हजार ५६७ जना भारतीय नागरिकलाई देशनिकाला गरेको थियो।

विदेश मन्त्रालयका अनुसार सन् २०२६ को जुनसम्ममा थप १ हजार ७६ जना भारतीयलाई देशनिकाला गरिएको छ।

सन् २०२५ फेब्रुअरी ५ मा अमेरिकाले पहिलोपटक सैन्य विमानमार्फत १०४ जना भारतीयलाई अमृतसर पठाएको थियो। त्यस क्रममा धेरैलाई हातमा हतकडी र खुट्टामा नेल लगाइएको थियो।

उक्त घटनाको तस्बिर सार्वजनिक भएपछि भारतभर विवाद भएको थियो। यस विषयले भारतीय संसद्मा समेत हंगामा भएको थियो। एजेन्सी

प्रकाशित: ६ मंसिर २०८३ ११:०६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
चरमपन्थी संगठन खालिस्तानी नेताको हत्या प्रयास गरेको आरोपमा अमेरिकामा भारतीय नागरिक निखिललाई १९ वर्ष ७ महिना जेल

चरमपन्थी संगठन खालिस्तानी नेताको हत्या प्रयास गरेको आरोपमा अमेरिकामा भारतीय नागरिक निखिललाई १९ वर्ष ७ महिना जेल

चरमपन्थी संगठन खालिस्तानी मुभमेन्टका नेता गुरपतवन्त सिंह पन्नूको हत्या प्रयास गरेको आरोपमा भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकाको एक अदालतले १९ वर्ष ७ महिना जेल सजाय सुनाएको छ ।

#भारतीय #अमेरिका
Compare →
Hamro Patro News
1d ago
इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का एक अधिकारीले बिहीबार अमेरिकी संसद्का सदस्यहरूलाई उक्त जानकारी दिएका हुन्।

#अमेरिकी #अमेरिका
Compare →
Bizshala
2h ago
इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

काठमाडौं। इरानसँगको युद्ध र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का लागि थप ३५० अर्ब अमेरिकी डलर बजेट उपलब्ध गराउने...

#अमेरिकी #अमेरिका
Compare →
Onlinekhabar
1d ago
बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धमा नयाँ मोड र सहकार्य विस्तारको अवसरका रूपमा व्याख्या गरेका छन् । केही भारतीय सञ्चारमाध्यमले भ्रमणलाई विगतको कूटनीतिक दूरी घटाउने प्रयासका रूपमा हेरेका …

#भारतीय
Compare →

Related Stories

World News
Build #2612