बाढीले पुरानो पुल बगाएपछि लामो समयदेखि डाइभर्सनमा यात्रा गर्दै आएका स्थानीय नयाँ बेलिब्रिज जडानपछि सहज हुने प्रतीक्षामा छन्।
पाँचथर — निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा सकिन केही दिन मात्रै बाँकी रहँदा इलामको सिमलगोलाई–तिल्केनी सडकखण्डस्थित जोगमाई खोलामा बेलिब्रिज जडानको काम सुरु भएको छ ।
गत वर्ष असोजमा आएको बाढीले यसअघि जडान गरिएको बेलिब्रिज बगाएपछि अवरुद्ध आवागमन सहज बनाउन शुक्रबारदेखि नयाँ बेलिब्रिज जडान थालिएको हो ।
जोगमाई खोलामा ७० मिटर लामो बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय इलामले २०८२ फागुन ४ गते डीसी कन्स्ट्रक्सन, गाईघाट उदयपुरसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८३ मंसिर २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, समयसीमा सकिन केही दिन मात्रै बाँकी रहँदा बल्ल पुल जडानको काम सुरु भएको हो ।
तीन करोड ८२ लाख ३६ हजार ४ सय २८ रुपैयाँ (भ्याटसहित) लागतमा निर्माण भइरहेको पुलको भौतिक प्रगति भने ८३ दशमलव ७४ प्रतिशत पुगेको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर चन्द्रेश्वर साहले बताए ।
करिब १२ किलोमिटर लामो सिमलगोलाई–तिल्केनी सडकखण्ड मेची राजमार्गको माईखोलामा सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ । गत वर्ष असोजको बाढीले जोगमाई खोलामा रहेको बेलिब्रिज बगाएपछि यस सडकखण्डमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको छ ।
बेलिब्रिज बगाएपछि लामो समयदेखि जोखिमपूर्ण डाइभर्सनबाट यात्रा गर्न बाध्य स्थानीयवासी तथा यात्रु नयाँ पुल जडान सुरु भएपछि आवागमन सहज हुने अपेक्षामा छन् । पुल निर्माण सम्पन्न भएपछि मेची राजमार्गमा समस्या आउँदा यस सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थप सहज हुने अपेक्षा गरिएको छ । यसबाट इलामसँगै ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका नागरिकलाई मेची राजमार्गको विकल्प प्रयोग गर्दै झापासम्म पुग्न सहज हुनेछ ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।