दोधारा चाँदनी नगरपालिकाले ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिने क्यामेरा जडान गरी महाकाली र जोगबुडा नदीमा पानीको सतह, बहाव र जोखिमको प्रत्यक्ष निगरानी थालेको छ।
कञ्चनपुर — बाढीको उच्च जोखिममा रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले नदीको अवस्था प्रत्यक्ष निगरानी गर्न 'लाइभ सर्भिलेन्स' प्रणाली जडान गरेको छ ।
बाढी पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले नगरपालिकाले महाकाली र जोगबुडा नदीमा ३६० डिग्रीमा दृश्य अवलोकन गर्न सकिने क्यामेरा जडान गरेको हो ।
नयाँ प्रविधिको प्रयोगसँगै अब नगरपालिकाले कार्यालयमै बसेर दुवै नदीको पानीको सतह, बहाव र आसपासको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछ । नदीमा जडान गरिएका क्यामेराबाट प्राप्त दृश्यले सम्भावित बाढीको जोखिम पहिचान गर्न र आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका कामलाई छिटो अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दोधारा चाँदनी नगरपालिकाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन शाखा प्रमुख अमृत विकका अनुसार स्थानीय तहबाटै नदीको अवस्थाको प्रत्यक्ष निगरानी गर्न सकिने गरी यो प्रणाली स्थापना गरिएको हो । क्यामेरामार्फत नदीको पानीको सतहसँगै पूर्वनिर्धारित कलर कोडिङअनुसार जोखिमको अवस्थासमेत अवलोकन गर्न सकिने उनले बताए ।
उनका अनुसार भोटेकोशी नदीमा आएको बाढीको घटनाले बाढीको पूर्वसूचना प्रणालीमा प्रत्यक्ष निगरानी प्रविधिको आवश्यकता थप महसुस गराएको थियो । सोही अनुभवबाट पाठ सिक्दै नगरपालिकाले तत्कालै लाइभ सर्भिलेन्स प्रणाली स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । 'भोटेकोशी नदीमा आएको बाढीको घटनापछि बाढी पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन लाइभ सर्भिलेन्स आवश्यक रहेको महसुस भयो । त्यसलगत्तै हामीले महाकाली र जोगबुडा नदीमा क्यामेरा जडान गरेका हौँ,' विकले भने ।
नगरपालिकाले यो प्रणालीलाई जल तथा मौसम विज्ञान विभागसँग समेत जोड्ने तयारी गरेको छ । विभागको वेबसाइटबाट पनि नदीको अवस्थाको प्रत्यक्ष दृश्य उपलब्ध गराउने विषयमा समन्वय भइरहेको उनले जानकारी दिए। समन्वय पूरा भएपछि सर्वसाधारणले समेत वेबसाइटमार्फत नदीको अवस्था हेर्न सक्ने अपेक्षा गरिएको छ।
यो प्रणाली स्थापना तथा सञ्चालनका लागि दोधारा चाँदनी नगरपालिकालाई युनिसेफ लगायतका दातृ निकायको पनि सहयोग रहेको बताइएको छ । 'महाकाली नदी र जोगबुडा नदीका कारण दोधारा चाँदनीका विभिन्न बस्ती बर्सेनि बाढी तथा डुबानको जोखिममा पर्दै आएका छन्,' शाखा प्रमुख विकले भने, 'यस्तो अवस्थामा नदीको अवस्थाबारे समयमै जानकारी प्राप्त गर्न सकिने प्रणालीले स्थानीय विपद् व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुग्ने देखिन्छ ।'बाढी आएपछि उद्धार र राहतमा केन्द्रित हुनुपर्ने अवस्थाबाट जोखिमको पूर्वानुमान, निगरानी र पूर्वतयारीलाई प्राथमिकता दिने दिशामा नगरपालिकाको यो प्रयासलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । यद्यपि, प्रविधिबाट प्राप्त सूचनालाई समयमै विश्लेषण गर्ने, जोखिममा रहेका समुदायसम्म तत्काल पुर्याउने र सोहीअनुसार उद्धार तथा सुरक्षित स्थानान्तरणको तयारी गर्ने व्यवस्था पनि उत्तिकै आवश्यक हुने विज्ञहरूको भनाइ छ । सुरक्षित र उत्थानशील दोधारा चाँदनी निर्माणको लक्ष्यसहित सुरु गरिएको यो पहल प्रभावकारी रूपमा सञ्चालन हुन सके बाढीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।