लमहीको रातोडाँडास्थित जसमिन होटल एन्ड लजमा प्रहरीले छापा मारी जुवा तथा सट्टेबाजी खेल्न प्रयोग गरिएका विभिन्न विद्युतीय उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।
दाङ — अनलाइन जुवा तथा सट्टेबाजी खेलिरहेको अवस्थामा प्रहरीले लमहीमा चार भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ । रातोडाँडास्थित जसमिन होटल एन्ड लजमा शुक्रबार राति प्रहरीले छापा मारेको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गरी अनलाइन जुवा तथा सट्टेबाजी खेल्न प्रयोग गरिएका विभिन्न विद्युतीय उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको मध्यप्रदेश शंकराचार्य नगर हुजुर सिकन्दरी सराय भोपाल निवासी २४ वर्षीय जसवन्त सिंह तोमर, गीतानगर भानपुर निवासी २४ वर्षीय सत्यम राजपुत र लिलाधर कालोनी भानपुर भोपाल निवासी २४ वर्षीय हर्ष सिंह भन्ने हर्ष उसरेटे र २७ वर्षीय राहुल चन्द छन् । यस्तै, डोटीको दिपायल सिलगढी नगरपालिका–३ निवासी ३२ वर्षीय सागर राना पनि पक्राउ परेका छन् ।
घटनास्थलबाट तीन थान ल्यापटप, विभिन्न कम्पनीका १३ थान स्मार्टफोन र दुई थान कम्प्युटर मनिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले बताए ।
उनीहरुले विभिन्न एप्लिकेसनमार्फत अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने कार्य गर्दै आएको उनले बताए । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।