चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा अमृत गुरुङले दुई घण्टा प्रस्तुति दिँदा देशभरबाट आएका दर्शकले उत्साहपूर्वक साथ दिए।
काठमाडौँ — राप्ती नदीवारि बिहीबार बेलुकी सङ्गीत सुन्न आउनेहरू नेपथ्य ब्यान्डको नेपाली लोकरक सुन्न पाउँदा मुग्ध थिए ।
विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारलाई नेपाली लोकरकसँग जोड्न नेपथ्यले सौराहामा कन्सर्ट गरेको छ ।
नेपथ्यले एक महिनाअघि काठमाडौँ उपत्यकाको कीर्तिपुरमा प्रस्तुति दिएको थियो । त्यसपछि सिक्किम, इटहरी र चारआलीमा उत्साहजनक उपस्थितिमाझ कन्सर्ट गरेको नेपथ्यले सौराहामा पनि दर्शकको उत्तिकै साथ पाएको छ ।
कन्सर्टका लागि मञ्चमा प्रवेश गर्दैगर्दा गायक अमृत गुरुङले दर्शकदीर्घाबाट ठूलो आवाज र तालीका साथ स्वागत पाएका थिए । ‘कोशीको पानी यो जिन्दगानी’ बाट सुरु भएको उनको गायनले दुई घण्टासम्म दर्शकलाई नचाएको थियो । ‘रातो र चन्द्रसुर्जे’ को प्रस्तुतिबाट उनले विश्राम लिए ।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
कन्सर्ट हेर्न काठमाडौँदेखि समूह बाँधेर आएका दर्शक पनि देखिन्थे । ‘एक त नेपथ्यका पुराना गीतहरूले तानिएर आइपुग्छौँ,’ काठमाडौँदेखि समूहमा आएका सुनराकार ग्यात्सो कार्कीले प्रतिक्रिया दिए, ‘यति ठूलो सङ्ख्यामा आएका दर्शकको कुशल व्यवस्थापन गर्नुका साथै उनीहरूमा आपसी प्रेम र देशभक्तिको भावना भर्नुले नेपथ्य अनुभवको महत्त्व झनै बढाइदिने गरेको छ ।’
गत वर्ष चितवनमा नेपथ्य कन्सर्ट अनुभव गरेपछि फेरि हेर्न नारायणघाटदेखि आएको बताउनेहरू पनि उत्तिकै थिए ।
नेपथ्य कन्सर्ट आयोजना गर्नुको मूल उद्देश्य नै जतिसक्दो बढी दर्शकलाई सौराहासँग जोड्नु रहेको स्थानीय आयोजक टोलीका बिनेश थापाले बताए । ‘सौराहालाई सङ्गीतका माध्यमबाट प्रवर्धन गर्न सकेकामा गौरव महसुस गरेका छौँ,’ उनले भने । आएका जति सबै दर्शक खुसीसाथ फर्किएको देख्दा आफ्नो टिम नै प्रफुल्ल भएको पनि उनले बताए ।