यस स्थितिलाई लिएर लुम्बिनीका कप्तान रोहित पौडेलले भनेका छन्, ‘हामीले तीन खेल जितेका छौं भन्दैमा केही हुन्न, सुदूरपश्चिमले पनि दुई खेल जितेको छ ।’
काठमाडौँ — जति बेला लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ, त्यो दुई टिमबीचको छैटौं खेल हुनेछ ।
अहिलेको स्थिति हो, लुम्बिनी ३–२ सुदूरपश्चिम ।
यस स्थितिलाई लिएर लुम्बिनीका कप्तान रोहित पौडेलले भनेका छन्, ‘हामीले तीन खेल जितेका छौं भन्दैमा केही हुन्न, सुदूरपश्चिमले पनि दुई खेल जितेको छ ।’ त्यसको अर्थ हो, दुवै टिम लगभग बराबरको स्थितिमा छन् । यी दुई टिमबीचका पछिल्ला भिडन्त कस्तो रह्यो ? एक नजर त्यसतर्फ ।
१. सुदूरपश्चिम ४५ रनले विजयी सन् २०२४ को पहिलो संस्करणको पहिलो खेल सुदूरपश्चिमको पक्षमा रह्यो, ४५ रनले । त्यसमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ८७ रन बनाएको थियो । त्यसमा ओपनर सैफ जैबले ६१ बलमा ९० रन बनाए । जवाफमा लुम्बिनीले नौ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । जैबले बलिङमा पनि राम्रो गरे र तीन विकेट लिए ।
दोस्रो सिजनको लिग चरणको खेल पनि सुदूरपश्चिमकै नाममा रह्यो । यसमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै १९.४ ओभरमा सबै विकेट गुमाउनु अगाडि १ सय ४३ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले तीन विकेट गुमाएर १८.२ ओभरमा १ सय ४५ रन बनायो । यो जितका नायक रहे, विकेटकिपर ब्याटर विनोद भण्डारी । उनी ६९ रनमा नटआउट रहे ।
दोस्रो सिजनको फाइनल हो, यो । लुम्बिनी यसमा ६ विकेटले सजिलै विजयी रह्यो र उपाधि चुम्न सफल रह्यो । यो जितसम्म पुग्दा ६६ बलको खेल बाँकी थियो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रन मात्र बनाएर अलआउट भएको थियो । यस्तोमा सुदूरपश्चिमले चार विकेट गुमाएर ८६ रन बनायो । यसमा ओपनर दिनेश अधिकारीले ४२ रन बनाए, त्यो पनि १३ बलमै ।
तेस्रो सिजनको पहिलो खेलमा पनि ब्याटबाट सुदूरपश्चिमको प्रदर्शन निकै खराब रह्यो । पहिले ब्याटिङ गरेको सुदूरफश्चिमले १७.२ ओभरमा अलआउट हुनु अगाडि ८७ रन मात्र बनाएको थियो । किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिए । जवाफमा लुम्बिनी ९.५ ओभरमै जितसम्म पुगेको थियो, तीन विकेट गुमाएर । यसमा ओपनर डार्सी सर्टले ४० रन बनाए ।
क्वालिफायर–२ को यो खेलमा पनि सुदूरपश्चिमको ब्याट चल्न सकेन । फेरि एकपल्ट पहिले ब्याटिङ गरेको टिम ८ विकेट गुमाएर १ सय ५ रनमै रोकियो । दीपेन्द्रसिंह ऐरीले ५२ रन नबनाएको भए, स्थिति अझ कमजोर हुने थियो । जवाफमा लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर १ सय ८ रन बनायो । निरोशन डिकवेल ५९ रन बनाएर नटआउट रहे ।