सन् २०२५ को दोस्रो सिजन पनि सुरुआती चार खेलमध्ये तीनमा पराजित रह्यो । यसरी लुम्बिनी सुरुतिरै नौ खेलमा पराजित भएको हो । त्यसपछि भने लुम्बिनी जितेको जित्यै छ भन्दा हुन्छ ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगका तीन सिजनमा सबैभन्दा बढी खेल खेल्ने र जित्ने टिम हो भने लुम्बिनी लायन्स यो तथ्यांकमा धेरै पछाडि भने छैन । अझ सुदूरपश्चिमको ठ्याक्कै पछाडि छ भन्दा हुन्छ, डिफेन्डिङ च्याम्पियन टिम । लुम्बिनीले अहिलेसम्म २५ खेल खेलेको छ ।
त्यसमा उसको खातामा १४ जित छ भने यो टिम १० खेलमा पराजित पनि भएको छ । एक खेलको भने कुनै नतिजा आएन । यो हारको तथ्यांकमा लुम्बिनी केही कमजोर नै देखिनुको दोष हो, पहिलो सिजनको खराब प्रदर्शन । सन् २०२४ मा लुम्बिनी लिग चरणमा खेलेका सातमध्ये छ खेलमा पराजित रहेको थियो ।
अनि सन् २०२५ को दोस्रो सिजन पनि सुरुआती चार खेलमध्ये तीनमा पराजित रह्यो । यसरी लुम्बिनी सुरुतिरै नौ खेलमा पराजित भएको हो । त्यसपछि भने लुम्बिनी जितेको जित्यै छ भन्दा हुन्छ । दोस्रो सिजनमा पनि कमजोर प्रदर्शनपछि लुम्बिनीको सम्भावना लगभग सकिएको स्थिति थियो ।
त्यसपछि भने यो टिमले लगातार जितेर वास्तवमै अद्वितीय प्रदर्शन गरेको थियो । दोस्रो सिजन यो टिम इलिमिनेटर, क्वालिफायर–टु र फाइनलसहित लुम्बिनी लगातार छ खेलमा विजयी रहेको थियो । त्यसयता लुम्बिनी दश खेलमा अपराजित रह्यो । यसपल्ट यो टिम हारेको भनेको काठमान्डु गोर्खाजविरुद्ध मात्र हो ।
लिग चरणको त्यस खेलयता लुम्बिनी लगातार तीन खेलमा विजयी रहेको पनि छ र यसमा एक जित क्वालिफायर–वान पनि हो । यही लगातारको राम्रो प्रदर्शनलाई कप्तान रोहित पौडेलले ‘मोमेन्टम’ को नाम दिएका छन् र यसले टिमको आत्मविश्वास नै बेग्लै हुने दाबी गरेका छन् ।