राठीले बजारका ९९ प्रतिशत आइडिया कपि–पेस्ट रहेको बताउँदै नवप्रवर्तन र उद्यमशीलताका लागि कक्षा ८ देखि मार्गदर्शन आवश्यक रहेको बताए ।
काठमाडौँ — राठी एडेसिभ प्रालिका प्रमुख अरुण कुमार राठीले बजारमा आउने ९९ प्रतिशत आइडिया कपि-पेस्ट भएर आउने भएकाले विद्यालय तहदेखि नै बिजनेस आइडिया र सीपबारे ज्ञान दिनुपर्ने धारणा राखेका छन् ।
कान्तिपुर मिडिया ग्रुपले शुक्रबार आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ को तेस्रो सत्र ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ मा बोल्दै राठीले नवप्रवर्तन र उद्यमशीलताको विकासका लागि युवा पुस्तालाई सानै उमेरदेखि सही दिशाबोध गराउन आवश्यक रहेको औँल्याए ।
‘नवप्रवर्तनका लागि विराटनगर उर्बर छ कि छैन ?’ भन्ने प्रश्नको जवाफ दिँदै राठीले कुनै पनि उद्योग सुरु गर्दा सुरुवाती चरणमा संघर्ष गर्नैपर्ने बताए । उद्यमीले आफ्नो शक्ति र कमजोरी पहिचान गरेर कुन क्षेत्रमा अघि बढ्ने भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ । ‘अहिले इलेक्ट्रोनिक डिभाइस हेरेर हुर्किएको युवा पुस्ता ज्ञानले भरिपूर्ण छ,’ उनले भने, ‘तर, ज्ञानसँगै संघर्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’
युवालाई सफ्टवेयर, इलेक्ट्रोनिक्स, इन्जिनियरिङ वा अन्य कुन क्षेत्रमा जाने भन्ने विषयमा कक्षा ८ बाटै बुझाइदिनुपर्नेमा उनले जोड दिए । बजारमा मौलिक सोचको कमी रहेको उल्लेख गर्दै उनले दाजुभाइ र छेउछाउकालाई हेरेर काम गर्ने प्रवृत्ति भएको बताए । ‘९९ प्रतिशत कपि-पेस्ट हुन्, १ प्रतिशत मात्रै इनोभेसन हुन्छ,’ राठीले भने, ‘कक्षा ८ बाटै कुनै पनि सीप वा व्यावसायिक अवधारणामा काम सुरु गरिदियो भने स्नातक तहसम्म पुग्दा त्यो सीप परिष्कृत भइसक्छ र युवाले त्यही समयमा व्यवसायलाई सहजै अँगाल्न सक्छ ।’