कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा व्यवसायी अनिलकुमार शाहले नेपाल कुनै समय धान र चामल निर्यात गर्ने अवस्थामा रहे पनि अहिले दाल, धान र गहुँजस्ता खाद्यान्नमा समेत परनिर्भर बन्न पुगेको बताए ।
विराटनगर — व्यवसायी अनिलकुमार शाहले नेपालको कृषि उत्पादन घट्दै जानु र खाद्यान्नमा परनिर्भरता बढ्नुमा सरकार, किसान र व्यवसायी सबै जिम्मेवार रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा उनले नेपाल कुनै समय धान र चामल निर्यात गर्ने अवस्थामा रहे पनि अहिले दाल, धान र गहुँजस्ता खाद्यान्नमा समेत परनिर्भर बन्न पुगेको बताए ।
आफ्नो परिवारको परम्परागत व्यवसाय नै कृषि उपजको व्यापार रहेको उल्लेख गर्दै उनले विगतमा नेपालबाट बंगलादेश र भारतमा धान तथा चामल निर्यात हुने गरेको स्मरण गरे । तर, अहिले कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्दा आयातमा निर्भर हुनुपरेको उनको भनाइ थियो ।
शाहले प्रजातन्त्रको परिवर्तनपछि वैदेशिक रोजगारीमा जाने र विदेशबाट कमाएर ल्याएको पैसाले किनेर खाने प्रवृत्ति बढ्दै गएको बताए । सहजै बजारबाट खाद्यान्न किन्न सकिने भएपछि उत्पादनमा लाग्नुभन्दा उपभोगमा रमाउने बानी विकास भएको उनको विश्लेषण छ । ‘हामीकहाँ माटोमा काम गर्ने मान्छे भेट्न मुस्किल छ । मोरङ, झापा र सुनसरीका दक्षिणी क्षेत्रमा समेत भारतबाट मजदुर ल्याएर खेती गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
कृषि क्षेत्रमा देखिएको समस्याका लागि किसान, व्यवसायी र सरकार सबैले जिम्मेवारी लिनुपर्ने शाहको भनाइ छ । उनका अनुसार किसानले समयमा मल र बीउ पाउन सकेका छैनन् भने सिँचाइको समस्या पनि वर्षौंदेखि उस्तै छ । कोशी नदीजस्तो ठूलो जलस्रोत उपलब्ध हुँदाहुँदै पनि पर्याप्त सिँचाइ सुविधा विस्तार गर्न नसक्नु विडम्बना भएको उनले बताए । ‘यत्रो कोशी नदी छ, तर कुलो बनाएर राम्रो सिँचाइको व्यवस्था गर्न सकिरहेका छैनौँ । हाम्रो पानी भारततर्फ लगेर त्यहाँ सिँचाइ भइरहेको छ तर आफ्नै किसानलाई समयमा बीउ र मल दिन सकिरहेका छैनौँ,’ उनले भने ।
सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको उल्लेख गर्दै शाहले किसानलाई उत्पादनमा आकर्षित गर्ने प्रभावकारी नीति, समयमै मल तथा बीउको उपलब्धता र भरपर्दो सिँचाइ व्यवस्था आवश्यक रहेको बताए । उनले कृषि उत्पादन वृद्धि गरी कोशी प्रदेशका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन सरकार, निजी क्षेत्र र किसानबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।