४ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेका छन् ।
मन्त्री गौतमले फ्रान्समा पछिल्ला दिनमा भएका प्रदर्शनका घटनाबारे चिन्ता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालमा भएको प्राकृतिक विपद्को घटनाप्रति समवेदना व्यक्त गरे ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय संसदसँग सम्पर्क गर्ने मन्त्रालय भएकाले भेटमा नेपाल र फ्रान्सका संसदीय प्रक्रिया र अभ्यासबारे अनुभव आदानप्रदान भएको सचिवालयले जनाएको छ ।
त्यस क्रममा कानुन निर्माणमा सांसदहरूले गर्ने प्रविधिको प्रयोग र विधेयक स्वीकृतिका लागि संसदमा अपनाइने कार्यविधिबारे दुवै पक्षबीच छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।
फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको पनि प्रशंसा गरेको छ ।
भेटमा दुवै पक्षले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आपसी समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त भएको बताइएको छ ।