जिल्ला विपद् व्यवस्थापन समितिले लाभग्राहीका रूपमा कायम भई प्रमाणीकरण गरी पठाएका ७ सय ५६ घरधुरीको पुनर्मूल्यांकन गर्न प्राविधिक खटाउने निर्णय गरेको हो ।
सल्यान — सल्यानको दार्मा गाउँपालिकामा भूकम्पबाट क्षति पुगेका घरहरूको पुनर्मूल्यांकन गर्न प्राविधिक टोली खटाइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले लाभग्राहीका रूपमा कायम भई प्रमाणीकरण गरी पठाएका ७ सय ५६ घरधुरीको पुनर्मूल्यांकन गर्न प्राविधिक खटाउने निर्णय गरेको हो ।
पुनर्मूल्यांकनका लागि पूर्वाधार विकास कार्यालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यान र जिल्ला समन्वय समितिसहितको प्राविधिक टोली परिचालन गरिने प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले बताइन् । उनका अनुसार मंसिरको अन्तिम सातादेखि पुनर्मूल्यांकनको काम सुरु गर्ने तयारी छ ।
प्राविधिक टोली परिचालन गर्ने निर्णय यसअघि जेठमै भए पनि जनशक्ति अभाव र केही प्रक्रियागत ढिलाइका कारण कार्यान्वयन हुन नसकेको केसीले बताइन् । अहिले आवश्यक प्राविधिक व्यवस्थापन गरेर पुनर्मूल्यांकनको काम अघि बढाउन लागिएको उनले जानकारी दिइन् । प्राविधिक भूकम्प प्रभावित क्षेत्रमा पुगेर तीव्र रूपमा पुनर्मूल्यांकनको काम गरिने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिइन् ।
दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले पुनर्मूल्यांकनको प्रक्रिया पटकपटक दोहोरिँदा भूकम्प प्रभावितले राहत तथा पुनर्निर्माणको लाभ पाउन ढिलाइ भएको गुनासो गरे । उनका अनुसार स्थानीय विपद् व्यवस्थापन समितिले विवरण संकलन गरी जिल्लामा पठाएको र जिल्लाबाट समेत प्रमाणीकरण गरेर पठाइएका विवरणमाथि पुनः पुनर्मूल्यांकन गर्न लागिएको हो ।
पालिकाले लाभग्राहीको विवरण संकलन तथा प्रमाणीकरणको काम गत २०८१ वैशाखमै सम्पन्न गरेको भए पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रक्रिया अघि बढ्न ढिलाइ भएको अध्यक्ष केसीको भनाइ छ । गाउँपालिकाभित्र करिब ४ हजार ८ सय घरधुरीमध्ये १ हजार ६ सय घरधुरीले अहिलेसम्म पहिलो किस्तासमेत नपाएको उनले बताए । हालसम्म प्राधिकरणले ५ सय ५६ लाभग्राही संख्या मात्र कायम गरेर पठाएको र त्यसको पनि पुनर्मूल्यांकन गर्न भनिएको उनले बताए ।
‘रुकुम र जाजरकोटमा पुनर्निर्माणको काम अघि बढिसकेको छ, सल्यानमा भने प्रभावितले अझै प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ,’ अध्यक्ष केसीले भने, ‘पटकपटक मूल्यांकन र प्रमाणीकरण गर्न लगाउँदा प्रभावितलाई थप अन्योल भएको छ ।’
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ढिलाइका कारण प्रभावितले पुनर्निर्माणको प्रक्रिया समयमै अघि बढाउन नसकेको भन्दै यथाशीघ्र अनुदान तथा पुनर्निर्माण प्रक्रिया टुंग्याउनुपर्ने माग गरे ।
सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।