१ मंसिर, काठमाडौं । अमेरिकाका प्रमुख बैंकहरूमा प्राविधिक समस्या आउँदा हजारौं ग्राहकहरु समस्यामा परेका छन् । जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिकाका हजारौं ग्राहकहरुले सोमबार बैंकिङ सेवा प्रयोग गर्न समस्या भोगेको गुनासो गरेका छन् ।
अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्था चेज बैंकले आफ्नो हार्डवेयर प्रणालीमा देखिएको ‘सफ्टवेयर बग’ का कारण समस्या उत्पन्न भएको हुनसक्ने जनाएको छ । उक्त समस्याले अन्य बैंकका सेवासमेत प्रभावित भएको हुनसक्ने बैंकको भनाइ छ ।
बैंकले समस्यालाई अस्थायी प्रकृतिको भन्दै यसमा प्रणालीगत त्रुटि वा साइबर आक्रमणको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
सोमबार दिउँसोदेखि सुरु भएको समस्या साँझसम्म आइपुग्दा क्रमशः कम हुँदै गएको थियो । सेवा अवरुद्ध भएको विषय अनुगमन गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार चेज बैंकका सेवामा समस्या आएको भन्दै करिब पाँच हजार प्रयोगकर्ताले रिपोर्ट गरेका थिए ।
चेज बैंकले आफ्ना ग्राहकलाई सूचना जारी गर्दै केही कारोबार पूरा हुन सामान्यभन्दा बढी समय लागिरहेको जनाएको थियो । यद्यपि ग्राहकले आफ्नो खाता र रकममा पहुँच कायम राख्न सक्ने बैंकको भनाइ थियो ।
जेपी मोर्गन चेजको सहायक संस्था चेज बैंकका अमेरिकाभर पाँच हजार शाखा छन् । कम्पनीको वेबसाइटअनुसार यसले ८ करोड ६० लाखभन्दा बढी ग्राहक र ७४ लाख साना व्यवसायलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यो अमेरिका सबैभन्दा ठूलो क्रेडिट कार्ड जारी गर्ने संस्था पनि हो ।
यद्यपि, प्रणालीमा देखिएको सफ्टवेयर समस्याको वास्तविक प्रकृति भने नखुलाइएको बीबीसीले जनाएको छ ।
यसैबीच, यूएस बैंकले आफ्ना केही प्रणाली प्रत्यक्ष रूपमा प्रभावित नभए पनि डिजिटल भुक्तानी प्लेटफर्म जेल (Zelle) प्रयोग गर्ने ग्राहकले समस्या भोगेको जनाएको छ । ग्राहकले रकम पठाउन खोज्दा भुक्तानी हुन नसकेको सन्देश प्राप्त गरेका थिए ।
जेलले भने आफ्नो सेवा सामान्य रूपमा सञ्चालन भइरहेको दाबी गरेको छ । अन्य बैंकमा देखिएका प्राविधिक समस्याले भुक्तानी प्रक्रियामा असर पारेको हुन सक्ने उसको भनाइ छ ।
ट्रुइस्ट, पीएनसी र क्यापिटल वन बैंकका ग्राहकले पनि सेवा प्रयोगमा समस्या आएको गुनासो गरेका थिए । तर ती बैंकहरूले भने आफ्ना सेवा प्रभावित नभएको बताएका बीबीसीले जनाएको छ ।
सोमबार साँझ ६ बजेसम्म (अमेरिकी समय) चेज, बैंक अफ अमेरिका र यूएस बैंकमा सेवा अवरुद्ध भएको भन्दै आएका रिपोर्टको संख्या घट्न थालेको थियो ।
पछिल्लो समस्या अमेरिकामा एकपछि अर्को प्राविधिक अवरोध देखिएका बेला आएको हो । गत साता माइक्रोसफ्टको ठूलो प्राविधिक अवरोध, दूरसञ्चार सेवामा समस्या र नेटवर्क असफलताका कारण अमेरिकाका सबै उडानसमेत प्रभावित भएका थिए ।
लगातार देखिएका यस्ता प्राविधिक समस्याले बैंकिङ, भुक्तानी, सञ्चार र हवाई सेवाजस्ता अत्यावश्यक क्षेत्रमा डिजिटल प्रणालीमाथिको निर्भरता र त्यसको जोखिमबारे पुनः प्रश्न उठाएको छ ।