Trending
Prev Story
Next Story

१० करोड लगानीको कान्ति ताल बेवारिसे, संरक्षण अभावमा भत्किँदै संरचना

Onlinekhabar •
November 17, 2026 • 01:00 AM
3
3 reads 0 reactions

१ मंसिर, नेपालगञ्ज । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका …

१० करोड लगानीको कान्ति ताल बेवारिसे, संरक्षण अभावमा भत्किँदै संरचना

१ मंसिर, नेपालगञ्ज । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ ।

उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन् । पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनाको सामान्य मर्मतसम्भार हुन नसक्दा ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको स्थानीयको गुनासो छ ।

नेपालगन्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले संरक्षण र रेखदेखको अभावमा तालको अवस्था बिग्रँदै गएको बताए ।

‘कान्ति ताललाई पर्यटकीयस्थल बनाउन ठूलो बजेट खर्च गरिएको हो । तर, अहिले यहाँका संरचना भत्किएका छन्, झाडी बढेको छ । संरक्षणका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन’, उनले भने ।

थापाका अनुसार कान्ति ताल पर्यटकीयस्थल मात्र नभई जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको तालको संरक्षण नहुँदा यहाँको पर्यावरणीय महत्व जोखिममा परेको उनको भनाइ छ ।

‘यो तालको महत्व पर्यटकीय पूर्वाधारमा मात्र सीमित छैन । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन् । तालको प्राकृतिक स्वरूप जोगाउन सकिए यसले पर्यटनसँगै जैविक विविधताको संरक्षणमा पनि योगदान पुर्‍याउँछ’, थापाले भने ।

पर्यावरण तथा चरा संरक्षणमा क्रियाशील अभियानकर्मीले तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएका छन् । संरक्षणका लागि आवश्यक पहल नहुँदा तालको अवस्था सुधार हुन सकेको छैन ।

ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौता गरी जिम्मा लिएका फनबहादुर गुरुङले पनि ताल परिसरका पूर्वाधार तोडफोड भएको बताए ।

‘ताल परिसरमा निर्माण गरिएका रेलिङ तथा अन्य संरचनामा क्षति पुगेको छ । लागुऔषध प्रयोगकर्ताले ती संरचना तोडफोड गरेको हुनसक्ने देखिन्छ । संरचनाको संरक्षण र नियमित रेखदेखका लागि प्रभावकारी व्यवस्था आवश्यक छ’, उनले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गरे । उनले अब सरोकारवाला निकायसँग छलफल गरेर तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी भइरहेको बताए ।

‘विगतमा निर्माण गरिएका योजनाले सोचेअनुसारको नतिजा दिन सकेनन् । अब सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसँग गहन छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी योजना बनाउने तयारीमा छौँ’, प्रवक्ता रिजालले भने ।

उपमहानगरपालिकाले नयाँ योजना बनाउने बताए पनि यसअघि खर्च भएको रकमको प्रतिफल र निर्माण भएका संरचनाको संरक्षणबारे प्रश्न उठेको छ । सात वर्षअघि सुरु गरिएको योजनाले अपेक्षित गति लिन नसक्दा तालको विकासमा गरिएको लगानी खेर जाने जोखिम बढेको छ ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले तालको तत्काल संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए ।

‘कान्ति ताल नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण सम्पत्ति हो । यसलाई जीर्ण अवस्थामा छाड्नु हुँदैन । भएका संरचनाको मर्मतसम्भार गरेर तालको प्राकृतिक र पर्यटकीय महत्व जोगाउन तत्काल पहल गर्नुपर्छ’, श्रेष्ठले भने ।

स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र जैविक विविधता संरक्षणको सम्भावना बोकेको कान्ति तालको अवस्था सुधार गर्न उपमहानगरपालिकाले तत्काल प्रभावकारी व्यवस्थापन योजना ल्याउनुपर्ने स्थानीयको माग छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1h ago
कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ।

#ताल #गरेर #कान्ति
Compare →
Hamro Patro News
3h ago
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर ...

#ताल #गरेर #कान्ति
Compare →

Related Stories

Education & Youth
Build #2612