Trending
Prev Story
Next Story

चुनावको लाइन लिएर फर्किए एमाले कार्यकर्ता

Onlinekhabar •
November 20, 2026 • 03:31 AM
6
6 reads 0 reactions

३ मंसिर, काठमाडौं । २१ बुँदे संकल्प र प्रस्ताव पारित गर्दै नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ । भेलाका लागि स्थानीय तह, जिल्ला, प्रदेशदेखि प्रवाससम्मका नेता–कार्यकर्ता काठमाडौं बोलाइएको थियो । नेताहरूका अनुसार, सबै तहका जनप्रतिनिधि …

चुनावको लाइन लिएर फर्किए एमाले कार्यकर्ता

३ मंसिर, काठमाडौं । २१ बुँदे संकल्प र प्रस्ताव पारित गर्दै नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ ।

भेलाका लागि स्थानीय तह, जिल्ला, प्रदेशदेखि प्रवाससम्मका नेता–कार्यकर्ता काठमाडौं बोलाइएको थियो । नेताहरूका अनुसार, सबै तहका जनप्रतिनिधि समेत बोलाइएको भेलाको उद्देश्य निराश पार्टी पंक्तिलाई उत्साहित बनाउने र आगामी निर्वाचनहरूको तयारी गर्नु हो ।

प्रचार विभाग प्रमुख निरज आचार्य, भेलाबाट पार्टी वैचारिक, सांगठानिक र भावनात्मक रुपले एकताबद्ध बनेको बताउँछन् । ‘हामी सिंगो पार्टीलाई वैचारिक, सांगठानिक र भावनात्मक रुपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्नेछौ,’ भेलापछि जारी वक्तव्यमा भनिएको छ ।

भेलामा प्रस्तुत दस्तावेज र मन्तव्यमा पनि नेताहरूले पार्टी वैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकताबद्ध बनेको दाबी गरेका छन् । भेलाको संयोजन गरेका नेता भानुभक्त ढकालका अनुसार राष्ट्रिय भेलाको उद्देश्य नै सिंगो पार्टीलाई एउटै लयमा हिडाउनु हो ।

दुई दिनको अवधिमा ६ पटक सम्बोधन गरेका ओलीले पटकपटक आन्तरिक एकताकै कुरा गरेका छन् । बाह्य शक्तिको चलखेलका कारण गत निर्वाचनमा पार्टीले गम्भीर धक्का बेहोर्नु परेकाले एकताबद्ध प्रतिवादका निम्ति ओलीले आग्रह गरेका छन् ।

वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णप्रसाद पौडेल, महासचिव शंकर पोखरलले पनि आगामी निर्वाचनको तयारीमा जुट्न सहभागीहरूलाई आग्रह गरे ।

पार्टीको वैचारिक लाइनमा भने अध्यक्ष ओली र उपाध्यक्ष थापा प्रष्ट थिए । उनीहरूका अनुसार, एमालेले लोकतन्त्र फिर्ता ल्याउन आन्दोलनको बाटो रोज्नुपर्नेछ । ‘भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने संकल्प गरेको छ,’ भेलापछि जारी वक्तव्यमा भनिएको छ ।

सम्बोधनका क्रममा त अध्यक्ष ओलीले आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन नै दिएका छन् । वर्तमान सरकारले आफू सहित नेताहरूलाई गिरफतार गर्ने, संविधानमाथि आक्रमण जस्ता कार्य गर्ने खतरा रहेकाले आन्दोलनका निम्ति तयारी अवस्थामा जुट्न ओलीले निर्देशन दिएका छन् ।

पूर्वराष्ट्रपति भण्डारी, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको जोड भने निराशा त्यागेर आगामी निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई अपिल गर्नमा थियो । संसदीय मोर्चाको प्रतिवेदन प्रस्तुत गरेका उपाध्यक्ष थापाले आगामी निर्वाचनमा लोकतान्त्रिक दलहरूसँग सहकार्यको सन्देश दिएका छन् ।

उनका अनुसार आगामी निर्वाचन पनि पपुलिस्ट (नयाँ) विरुद्ध लोकतान्त्रिक दलहरू बीच नै हुनेछ र दलहरूबीच चुनावी सहकार्य हुनेछ । तीन हजार ४१४ जनालाई भेलामा बोलाइए पनि उनीहरूले कुरा राख्न भने पाएन ।

नेताहरूका अनुसार, यो प्रशिक्षात्मक भएकाले सहभागीहरूको प्रत्यक्ष कुरा राख्न नपाएका हुन् । ‘सहभागीहरूलाई लिखित सुझाव बुझाउन भनियो, त्यसमा खासै जाँगर चलेको देखिएन,’ एक सहभागी भन्छन् ।

सहभागीहरूको सुझाव लिएर भेलालाई थप उपलब्धिमुलक बनाउने अवसर गुमेको उनको बुझाइ छ । तर एक जना पदाधिकारी भने अहिलेको स्थितिमा देशभरका नेता–कार्यकर्ता एकैठाउँ जुट्नुलाई नै उपलब्धि मान्छन् ।

‘देशभरका नेता–कार्यकर्ता एकठाउँ भेला हुने अवसर मिल्यो । नेताहरूका निम्ति नभए पनि पार्टी जोगाउन चुनावमा जुट्नुपर्छ भन्ने भावना कार्यकर्तामा देखियो,’ उनी भन्छन् ।

स्थानीय तहदेखि प्रवाससम्मका कार्यकर्ता र जनप्रतिनिहिरू बोलाएर नयाँ अभ्यास गरिए पनि भेलाभर अध्यक्ष ओली एकछत्र हाबी भएका थिए । राजनीतिक–वैचारिक लाइन, पार्टीको निर्णय, साजसज्जादेखि मन्तव्यमा समेत ओली हाबी भए ।

सहभागीहरूलाई वितरण गरिएको कार्डमा ओली उभिएको ठूलो तस्वीर राखिएको थियो । जहाँ, यसअघि प्रतिनिधिको तस्वीर हुन्थ्यो । तर ओलीको तस्वीर र सहभागीको नाम भएको कार्ड वितरण गरिएको थियो ।

भेला भएको दुईदिनमा ओलीले पटक सम्बोधन गरेका थिए । २ मंसिर दिउँसो पौने १ बजे उद्घाटन भएको भेलाको उद्घाटन सत्रमा ओली एकल बक्ता थिए ।

सचिव भानुभक्त ढकालले सञ्चालन गरेको सभामा स्थायी कमिटीसम्मका नेताहरू अतिथि बने । झण्डै एक घण्टा ओलीले सम्बोधन गरेर उद्घाटन सत्र सकिएको भेलाको बन्दसत्रमा फेरि ओलीले नै अध्यक्षता गरे ।

उपाध्यक्ष विष्णप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले प्रशिक्षात्मक मन्तव्य राखेपछि फेरि बोल्ने पालो ओलीकै आयो । पहिलो दिन ओलीले तीनपटक सम्बोधन गरे ।

दोस्रो दिनको अध्यक्षता मन्तव्य फेरि ओलीले राखे । यसपछि बरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिक मन्तव्य राखिन् भने उपाध्यक्ष रामबहादुर थापाले संसदीय मोर्चाको प्रतिवेदन प्रस्तुत गरेका थिए । दुई जनाले बालेपछि फेरि पालो आयो, ओलीकै ।

ओलीले यो भेलापछि एमाले एकताबद्ध बनेको बताए । ‘दुई दिनसम्म उहाँले जे भन्नुभएको थियो, त्यो कुरा बुझेर कार्यक्षेत्रमा फर्कन निर्देशन दिनुभयो, र राष्ट्रिय भेला सकियो,’ अर्का एक सहभागी भन्छन् ।

भेला सकिएपछि दिउँसो ३ बजे फेरि केन्द्रीय कमिटी बैठक बस्यो । महासचिव शंकर पोखरेलले छोटो भूमिका जोडेर ओलीलाई सम्बोधन गर्न समय दिए । यसपछि ओली आफैले बैठक चलाए, सम्बोधन गरे र केन्द्रीय कमिटी बैठक समापन भएको जानकारी दिए ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकबाट तीन वटा निर्णय भएको जानकारी दिएका छन् ।

पहिलो– अघिल्लो केन्द्रीय कमिटीबाट पारित दुई कार्यभार र १५ काम कार्यान्वयन गर्ने निर्देशन,

दोस्रो– संगठनात्मक काम र कार्यविभाजन सम्बन्धी निर्णय सचिवालय र स्थायी कमिटीबाट गर्ने अनुमति,

र, तेस्रो– अर्को केन्द्रीय कमिटी बैठक आगामी माघ अन्त्यतिर बोलाउने ।

यी तीन वटा निर्णय बाहेक मनोनीत केन्द्रीय सदस्य श्रीप्रसाद शर्मालाई शपथ ग्रहण गराउने काम पनि बैठकमा भयो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6h ago
चुनावबाटै उठ्ला एमाले?

चुनावबाटै उठ्ला एमाले?

अघिल्लो वर्षको जेन-जी आन्दोलनबाट सत्ता गुमाएको र प्रतिनिधिसभा सदस्य निर्वाचनमा धक्का खाएको नेकपा एमालेले दुई दिने राष्ट्रिय भेलाबाट स्थानीय तह, प्रदेशसभा र राष्ट्रियसभा निर्वाचन तयारीमा जुट्ने तथा आवश्यक परे आन्दोलनमा उत्रिने संकल्प गरेको छ।

#भेला #चुनाव #एमा
Compare →
Hamro Patro News
19h ago
एमालेको राष्ट्रिय भेला सम्पन्न, लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प

एमालेको राष्ट्रिय भेला सम्पन्न, लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गर्दै बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । मङ्सिर २ र ३ गते कार्की बैंक्वेटमा आयोजित भेलामा देशभर तथा प्रवासब...

#भेला #काठमाडौं
Compare →
Ekantipur
20h ago
राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रीय कमिटी बैठक सुरु

राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रीय कमिटी बैठक सुरु

राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रीय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

#भेला #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612