धितोपत्र बोर्डले ल्याउन लागेको नयाँ व्यवस्थापछि लगानीकर्ताले हकप्रदका रूपमा पाउने सेयर नेपाल स्टक एक्सचेन्जमार्फत आफैंले बिक्री गर्न पाउने
काठमाडौं — सूचीकृत कम्पनीहरूले निष्कासन गर्ने हकप्रद सेयरमा लगानी गर्न नसक्नेहरूले अहिलेसम्म त्यसबापत प्रत्यक्ष लाभ पाउन सकेका छैनन् । यसरी नबिकेको हकप्रद सेयर कम्पनी आफैंले बिक्री गर्दै आएका छन् । अब भने लगानीकर्ताले आफूले लिन पाउने यस्तो सेयर आफैंले बिक्री गर्न पाउने व्यवस्था गर्न लागिएको छ ।
नेपाल धितोपत्र बोर्डले यही आर्थिक वर्षभित्र यस्तो व्यवस्थाका लागि नीति बनाउने गरी तयारी गरिरहेको बोर्डका अध्यक्ष गोपाल भट्टले जनाए । ‘हकप्रद सेयर भनेको कम्पनीमा कायम रहेका लगानीकर्ताको अधिकार हो,’ उनले भने, ‘तर अहिले हाम्रा लगानीकर्ताले लगानी गर्ने रकम नहुँदा यसको लाभ पाउन सकिरहेका छैनन् ।’
पहिले नै सर्वसाधारणमा सेयर जारी (आईपीओ) गरिसकेका कम्पनीले थप पुँजी जुटाउन थप सेयर जारी गर्ने माध्यम नै हकप्रद सेयर निष्कासन हो । यस्तो सेयरमा लगानी गर्न निश्चित अवधिसम्म कम्पनीमा सेयर स्वामित्व हुनुपर्छ । यस्तो अवधिलाई बुक क्लोज भनिन्छ । बुक क्लोज अवधिसम्म कम्पनीमा स्वामित्व हुने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउँछन् ।
तर कतिपय लगानीकर्तासँग थप सेयर किन्न पर्याप्त रकम नहुन सक्छ भने कतिपयले थप लगानी गर्न नचाहन सक्छन् । बिक्री नभएको यस्तो हकप्रद सेयर किन्न पाउने लगानीकर्ताले ‘हक हस्तान्तरण’ गर्न सक्ने कानुनी व्यवस्था भए पनि धेरैले खरिदकर्ता खोज्न सकिरहेका हुँदैनन् । यस्तोमा बिक्री नभएको सेयर कम्पनीहरूले नै बोलकबोल माध्यमबाट बिक्री गर्दै आएका छन् । बोलकबोल गर्दा लगानीकर्ताले आफूले तिर्न चाहेको मूल्य तोकेर आवेदन दिन्छन् ।
यसरी बिक्री गर्दा तोकिएकोभन्दा बढी मूल्यमा सेयर बिक्री भए बढी हुने रकम कम्पनीहरूले सेयर प्रिमियमका रूपमा राख्ने गरेका छन् ।
यसरी राखिएको प्रिमियम रकम पनि पछि लगानीकर्तालाई नै बोनस सेयरका रूपमा बाँड्न पाइने व्यवस्था छ । यो रकमबाट जारी हुने बोनस सेयरको लाभ पुराना लगानीकर्ताले मात्रै होइन, कम्पनीमा पछि स्वामित्व लिन पनि पाउँछन् । लगानीकर्ताले हकप्रदमा जसरी पैसा तिरेर बोनस सेयर किन्नुपर्दैन ।
धितोपत्र बोर्डले ल्याउन लागेको नयाँ व्यवस्थापछि भने लगानीकर्ताले हकप्रदका रूपमा किन्न पाउने सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत आफैंले बिक्री गर्न पाउनेछन् ।
‘यस्तो सेयर नेप्सेमा छुट्टै कारोबार हुने व्यवस्था हुनुपर्नेछ, यसले गर्दा नियमित रूपमा हुने कम्पनीको अन्य सेयर कारोबारका क्रममा मूल्यमा प्रभाव पर्दैन,’ भट्टले प्रस्ट्याए, ‘हामी यस्तो व्यवस्था गर्छौं ।’
लगानीकर्ता आफैंले हकप्रद सेयर बिक्री गर्न पाउने व्यवस्था नेपालमा नयाँ भए पनि अन्तर्राष्ट्रिय बजारमा भने अभ्यासमै छ । बेलायत, अस्ट्रेलिया, भारतलगायत धेरै मुलुकमा यो अभ्यासमा छ ।
छिमेकी मुलुक भारतमा त्यहाँ कम्पनीहरूले हकप्रद जारी गर्न तोकेको अवधिसम्ममा लगानीकर्ताले आफूले पाउने बराबर सेयर आफैंले किन्न पनि सक्छन् । किन्ने मन नभए आफैंले स्टक एक्सचेन्जमार्फत बिक्री गर्न पाउँछन् । यसरी बिक्री गरेको सेयर जसले किन्छ, त्यो सेयरको अन्तिम स्वामित्व किन्नेको हुन्छ । त्यहाँ यस्तो कारोबारलाई ‘राइट्स इन्टाइटलमेन्ट’ भन्ने गरिएको छ ।
भारतको गुडरिटर्न्स डट इनले लेखेको समाचारअनुसार सन् २०२० मा रिलायन्स इन्डस्ट्रिजको राइट्स इन्टाइटलमेन्ट कारोबारमा प्रतिसेयर मूल्य ३९ प्रतिशतले बढेर २ सय १२ रुपैयाँ पुगेको थियो ।
नेपालमा पनि कम्पनीहरूले हकप्रद सेयर बिक्री गर्न खुला गरिएको अवधिभित्रै लगानीकर्तालाई यस्तो सेयर बजारमा बिक्री गर्न दिने तयारीमा बोर्ड रहेको अध्यक्ष भट्टको भनाइ छ ।
धेरै सेयर स्वामित्व भएका लगानीकर्ताका लागि हकप्रद सेयरको पनि विशेष महत्त्व हुन्छ । किनभने धेरै सेयर हुने लगानीकर्ताको कम्पनीमा प्रभाव वा नियन्त्रण कायम हुन सक्छ । आफ्नो भागमा परेको हकप्रद सेयर अरूलाई बिक्री गर्दा कम्पनीको कुल सेयरमा आफ्नो स्वामित्व अनुपात घट्न सक्छ ।
यसले कम्पनीमाथिको प्रभाव वा नियन्त्रणसमेत कमजोर बनाउन सक्छ । कम्पनीको सञ्चालक समिति सदस्य बन्न वा कम्पनीको निर्णय प्रक्रियामा प्रभाव राख्न पनि यस्तो स्वामित्व अनुपातको महत्त्व हुन्छ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।