सेयर बजार लगानीको अवसर हो कि जुवाको अर्को रूप ? सेयरमा लगानी गरेर धनी बन्ने सपना कति व्यावहारिक छ ? लगानीकर्ता तथा सेयर विश्लेषक सुभासचन्द्र ढुंगानासँगको कुराकानी ।
काठमाडौँ — नेपालको सेयर बजारमा उतारचढाव बढ्दो छ । लगानीकर्ताको विश्वास अपेक्षाअनुसार बजार बढ्न सकेको छैन । ब्याजदर, तरलता, राजनीतिक अस्थिरता र नीतिगत अन्योलले बजारलाई कति प्रभावित गरिरहेका छन् ? सेयर बजार लगानीको अवसर हो कि जुवाको अर्को रूप ? सेयरमा लगानी गरेर धनी बन्ने सपना कति व्यावहारिक छ ? यिनै विषयमा कान्तिपुर टेलिभिजनका प्रस्तोता सुरेन्द्र कट्टेलले लगानीकर्ता तथा सेयर विश्लेषक सुभासचन्द्र ढुंगानासँग कुराकानी गरेका छन् ।उक्त कुराकानीको सम्पादित अंश :
अहिलेको समय लगानीका लागि कत्तिको उपयुक्त छ भनेर सोध्दा प्रायः सधैँ ‘ठिकै छ’ भन्ने उत्तर आउँछ । तर अहिले साना लगानीकर्ता खुसी छैनन् । तपाईंले कसरी विश्लेषण गरिरहनुभएको छ ?
सामान्य हिसाबले समय सधैँ ठीक हुन्छ, फरक त कुन क्षेत्र वा कुन कम्पनीमा लगानी गर्ने भन्नेमा पर्छ । हाम्रो निर्णय दीर्घकालीन हो कि अल्पकालीन भन्नेले पनि फरक पार्छ । अहिलेको समग्र नेप्सेको अवस्था, पुँजी बजारप्रति नियामक निकाय र सरकारको सकारात्मक नीति र रणनीति हेर्दा समय अनुपयुक्त छैन तर अध्ययन भने आवश्यक छ ।
नेप्सेमा वर्षमा दुईवटा बुल साइकल आउँछन् : एउटा ‘समर साइकल’ र अर्को ‘विन्टर साइकल’ । ‘विन्टर साइकल’ असोज र कात्तिकबाट सुरु भएर पुस–फागुनसम्म चल्छ, जसमा ट्रेडरहरू हाबी हुन्छन् र उनीहरूका लागि राम्रो समय हुन्छ । ‘समर साइकल’ जेठ र असारमा सुरु भएर साउन–भदौतिर अन्त्य हुन्छ । यो बेला दैनिक कारोबार रकम बढ्छ । ट्रेडरले त जुनसुकै बेला पनि कमाउन सक्छन् । लगानीकर्ताले आधारभूत (फन्डामेन्टल) कुरा हेर्नुपर्छ । तर बजारका हिसाबले यो उपयुक्त समय नै हो ।
पहिले राजनीतिक अस्थिरता नै उतारचढावको मुख्य कारण भनिन्थ्यो । अहिले दुई तिहाइको सरकार छ, अर्थशास्त्र बुझेका अर्थमन्त्री पनि हुनुहुन्छ । तर जनता किन ढुक्क छैनन् ?
हामीले इतिहास पनि हेर्नुपर्छ । नेपालमा यसअघि ३–४ पटक बुल मार्केट आयो, तर त्यतिबेला स्थिर सरकार थिएन । एउटै बुल अवधिमा ३–४ वटा सरकार फेरिँदा पनि बजार बुलमै थियो र जीडीपी घट्दा पनि बजार बुलमै थियो । यसको अर्थ, स्थिर सरकार एउटा कारक हो तर एक्लै पर्याप्त होइन । अर्थतन्त्र विकासमा त्यसले सहयोग गर्छ तर हाम्रो बजार फन्डामेन्टली होइन, टेक्निकल्ली बुल जस्तो चलेको देखियो ।
बजारलाई सेन्टिमेन्ट र कन्फिडेन्स चाहिन्छ । दुई तिहाइको सरकार बनेपछि लगानीकर्तामा जुन विश्वास आउनुपर्ने थियो, त्यो देखिएन, जबकि अपेक्षा उच्च भइसकेको थियो । चुनावअघि धेरै लगानीकर्ताको धारणा थियो, बहुमतको एकल सरकार बन्यो भने बजार माथि जान तयार छ । तर केही समय उक्लिएर ३००० को विन्दु परीक्षण गरेपछि बजार करेक्सनमा गयो, २४००–२५०० को रेन्जबाट केही रिबाउन्ड आयो र अहिले माथिल्लो क्षेत्रमा साइडवेजमै छ ।
अर्को ध्यान दिनुपर्ने कुरा कारोबार रकम, समग्र अर्थतन्त्र, बैंकको ब्याजदर र तरलताको अवस्था हो । ब्याजदर केही घटे पनि कर्जा लगानीमा जान सकेको छैन । बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेको देखिन्छ तर कर्जाको माग त्यसको आधा जति मात्र छ र नेपाल राष्ट्र बैंकले राखेको लक्ष्य पूरा हुने स्थिति देखिँदैन । ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु सकारात्मक संकेत होइन ।
लगानीकर्ता मात्र होइन, उद्योगी–व्यवसायीहरू पनि लगानीका लागि उपयुक्त वातावरण छ कि छैन भनेर ढुक्क हुन सकेका छैनन् । सबै कुराले साथ दिँदा पनि ठूला लगानीकर्ताले किन विश्वास गर्न सकेनन्, त्यो नियामक निकाय र सरकारले विचार गर्नुपर्ने विषय हो । राजनीतिक अस्थिरताले बजारलाई प्रभाव पार्छ नै तर स्थिरतातर्फ जाँदा पनि ‘पर्ख र हेर’ को स्थिति बन्यो ।
ठूला उद्योगी–व्यवसायी पक्राउ पर्दा बजारमा असर पर्यो भन्ने गुनासो छ । साना लगानीकर्तामा सरकारले किन यस्तो गरेको होला, बजारलाई राम्रो भएन भन्ने बुझाइ छ । यसलाई कसरी बुझ्ने ?
जे भए पनि बजार बढ्नुपर्छ भन्ने सोच्नु हुँदैन । यो सरकार जुन धरातलबाट बनेको हो र जे कुरा गरेको छ, त्यो बिर्सन पनि हुँदैन । तर प्रक्रियामा केही कमजोरी भएका होलान् । उद्योगी र लगानीकर्तालाई बिचौलिया र भ्रष्टाचारीसँग एउटै डालोमा हालेको कुरा अलि नपचेको हो कि जस्तो लाग्छ । प्रधानमन्त्रीले पछि व्यवसायीलाई बोलाएर सुधारको संकेत दिएको पनि सुनिएको छ ।
तर बजार संवेदनशील हुन्छ । एकदुईवटा कम्पनी वा क्षेत्रमा केही नराम्रो भयो भन्दैमा समग्र बजारको नकारात्मक नेरेटिभ बनाउने बानी छ । ठूला मान्छेहरू पनि त्यसको प्रभावमा परेर बोल्छन् । आज बोल्दा भोलि नै अर्बौं रुपैयाँ ध्वस्त हुन सक्छ र त्यो फेरि रिकभर नहुन पनि सक्छ । त्यसैले संवेदनशील अवस्थामा सोचेर बोल्नुपर्छ ।
साना–ठूला सबैले सेयरलाई दीर्घकालीन सम्पत्तिका रूपमा स्थापित गर्न सक्छन् भनिन्छ । तर लगानीमा ‘टाइम भ्यालु अफ मनी’ जस्ता कुरा पनि हेरिन्छ । सबैले सरल भाषामा कसरी बुझ्ने ?
सुरुमा किन्दा २० वर्षपछि यो कम्पनी रहन्छ कि रहँदैन भनेर सोच्नुपर्छ । प्रतिफल वा लाभांश केही नदिए पनि कम्पनी रहनु न्यूनतम मापदण्ड हो । त्यसले मुद्रास्फीतिलाई जित्ने गरी केही प्रतिफल दिन्छ भने दीर्घकालका लागि लगानी गर्न सकिन्छ तर नेपालमा त्यस्ता कम्पनी कमै छन् ।
यसका लागि २–३ वटा शब्द बुझ्नुपर्छ । पहिलो, मुद्रास्फीति दर अर्थात् वर्षमा पैसाको मूल्य कति घटिरहेको छ । मुद्रास्फीति ५ प्रतिशत भए आज १०० रुपैयाँ बराबरको चीज किन्न एक वर्षपछि १०५ रुपैयाँ चाहिन्छ । बैंकमा राख्दा निक्षेपको ब्याज (अहिले करिब ३.१ प्रतिशत) मुद्रास्फीतिभन्दा कम भए पैसाको वास्तविक मूल्य घट्छ । बजारमा राख्दा प्रतिफल २ भागमा आउँछ : मूल्य बढेर हुने पुँजीगत लाभ र कम्पनीले दिने लाभांश । दुवै जोड्दा मुद्रास्फीति जितिन्छ कि जितिँदैन भनेर हेर्नुपर्छ ।
तर हाम्रा लगानीकर्ताले एकदुई कम्पनीको अल्पकालीन उतारचढाव हेरेर ठूलो प्रतिफल अपेक्षा गर्छन् । बढेको बजार ५० प्रतिशत तल ओर्लिन पनि सक्छ भन्ने सोच्दैनन् । त्यो ट्रेडरको खेल हो । दीर्घकालका लागि सोच्ने हो भने लगानी विविधीकरण गर्नुपर्छ । केही बजारमा, केही बैंकमा आकस्मिक कोषका रूपमा, केही बीमाआदिमा लगानी गर्नुपर्छ । यसरी सुरक्षित तरिकाले मुद्रास्फीति जित्न सकिन्छ ।
यस्तै एउटा माध्यम नियमित लगानी (एसआईपी) पनि मानिन्थ्यो । यसमा मानिसले धेरै अपेक्षा गरेका थिए तर राम्रो नतिजा आएको छैन र निरुत्साहित भइरहेका छन् भन्ने छ । यसमा कत्तिको सत्यता छ ?
आंशिक सत्यता छ । छिमेकी भारतले दिइरहेको प्रतिफलसँग तुलना गर्दा यहाँ अपेक्षा पूरा भएको छैन । कमिसन आदिका कारण एसआईपी चलाउने संस्थाले कमाएका छन् तर लगानीकर्ताको प्रतिफल आकर्षक देखिएको छैन । यहाँ कमजोरी धेरै छन् । लगानीकर्ताले आफूले खरिद गरेको इकाइ खातामा समयमा नदेखिनेदेखि भनेको समयमा बेच्न नपाउनेसम्मको समस्या छन् । मेरो सुझाव दीर्घकालसम्म टिक्न सक्ने २–३ वटा क्षेत्रमा राम्रा कम्पनी छानेर विविधीकरण गर्नुस् ।
एसआईपीमा प्रत्येक महिना तोकिएको रकम राख्नुको सट्टा बजार घटेको बेला आफैँ नियमित सेयर किन्दै जानुस् । यसमा बरु प्रतिफल राम्रो देखिन्छ ।
सेयर बजारको जोखिम न्यूनीकरणका लागि के गर्ने ?
जहाँ बढी अवसर हुन्छ, त्यहीँ जोखिम पनि धेरै हुन्छ । बजार छिर्दा कति कमाउँछु भनेर मात्र होइन, कति नोक्सान बेहोर्न सक्छु भन्ने मानसिक तयारी गरेर छिर्नुपर्छ । ट्रेडर बनेर आउँदा धेरैले माथिको मात्र हेर्छन्, यति कमाए करोडपति हुन्छु भन्ने । तर तल झर्दा मैले आफ्नो कुल पोर्टफोलियोको यति प्रतिशतभन्दा बढी धान्न सक्दिनँ, एक करोडको लगानीमा यति लाखभन्दा बढी नोक्सान बेहोर्न सक्दिनँ भन्ने सीमा तोक्नुपर्छ र त्यहाँ पुगेपछि निस्कनुपर्छ ।
यो बजार मात्र होइन, आफ्नो सम्पूर्ण पोर्टफोलियोका आधारमा विभिन्न क्षेत्रमा लगानी गर्नुपर्छ, किनकि सूचीकृत क्षेत्रहरूको पनि ‘बजार चक्र’ हुन्छ । एउटा क्षेत्र नचल्दा अर्को चल्छ, त्यसैले विविधीकरणले जोखिम घटाउँछ । सेयर बजारमा एकोहोरो सोचेर १०० प्रतिशत धनी भइन्छ भन्ने व्यावहारिक होइन । दीर्घकालका लागि बजार माथि नै जान्छ र कम्पाउन्डिङको प्रभावमा पनि विश्वास गर्नुपर्छ । केही समय नोक्सानमा रहिएला, तर कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरिएको छ भने दीर्घकालमा नोक्सान हुँदैन ।
अहिले लगानीकर्ताले सरकार र नियामक निकायसँग गरेको अपेक्षा पूरा नभएको जस्तो देखिन्छ । बजार माथिल्लो रेन्जमा लामो समयदेखि साइडवेजमा छ । तपाईं के भन्न चाहनुहुन्छ ?
बजार ३२०० लाई ब्रेक गर्न केही समय लाग्छ र फेरि वियरिस प्रवृत्तिमा जान्छ कि भन्ने लागेको हुनसक्छ । तर इतिहास हेर्दा अघिल्लो बुलको उच्च विन्दु ब्रेक गर्न धेरै महिना लागेको छ । कतिपयले यसअघिको बुल मात्र देखेकाले यस्तो लाग्न सक्छ । यो बुल मार्केट हो भने अघिल्लो बुलको उच्च बिन्दु नतोडिने भन्ने हुँदैन ।
नेप्से (इन्डेक्स) हेरेर लगानी नगर्नुस् । कुनै समूहगत परिसूचक हेरेर किनबेच नगरौँ । कम्पनी हेरेर लगानी गर्नुस्, त्यसले दीर्घकालमा फाइदा दिन्छ ।
सुरेन्द्र कट्टेल कान्तिपुर टिभीमा आवद्ध छन् ।