काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मंसिर ११ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । यसअनुसार हाल कायम प्रत्येक दुई कित्ता साधारण शेयर बराबर एक कित्ता हकप्रद शेयर प्राप्त हुनेछ ।
बैंकले जारी गरेको सूचनाअनुसार मंसिर ११ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ । मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।
बैंकले सम्बन्धित शेयरधनी तथा शेयर खरिदकर्तालाई सोहीअनुसार शेयर नामसारी गर्न अनुरोध गरेको छ ।
त्यस्तै, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीलाई सीएम पूल खातामा शेयर नराखी सम्बन्धित हकप्रद शेयरधनीको हितग्राही खातामा शेयर हस्तान्तरण गर्न बैंकले आग्रह गरेको छ । तोकिएको व्यवस्थाअनुसार शेयर हस्तान्तरण नगरे त्यसको जिम्मेवारी बैंक, शेयर रजिस्ट्रार तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले नलिने सूचनामा उल्लेख छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।