Trending
Prev Story
Next Story

देउवा समूहमा पदाधिकारीका आकांक्षी को–को ?

Ekantipur •
November 19, 2026 • 02:32 PM
2
2 reads 0 reactions

काठमाडौंमा २१ देखि २३ मंसिरसम्म हुने महाधिवेशनमा सभापतिसहित उपसभापति र महामन्त्री पदका आकांक्षीहरू खुल्दै गएका छन् ।

देउवा समूहमा पदाधिकारीका आकांक्षी को–को ?

काठमाडौंमा २१ देखि २३ मंसिरसम्म हुने महाधिवेशनमा सभापतिसहित उपसभापति र महामन्त्री पदका आकांक्षीहरू खुल्दै गएका छन् ।

काठमाडौँ — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले २१ देखि २३ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । महाधिवेशन नजिकिएसँगै सभापतिसहित पदाधिकारीका आकांक्षीहरू खुल्न थालेका छन् । सभापतिमा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत र एनपी साउदको चर्चा चले पनि शशांक कोइरालामा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ ।

सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा कायमै छ । अन्तिम फैसला कसको पक्षमा आउँछ भन्ने स्पष्ट भइसकेको छैन । तर आधिकारिकता नपाएको अवस्थामा समेत कांग्रेस र कोइराला परिवारप्रतिको भावनात्मक सम्बन्ध तथा पक्षधरतालाई आफ्नो पक्षमा पार्न देउवा समूहले शशांकलाई नै अघि सार्ने तयारी गरिरहेको छ ।

१४औँ महाधिवेशनमा शशांकले आफ्नै दाजु शेखर कोइरालालाई सहयोग नगरी देउवालाई साथ दिएका थिए । त्यसयता उनी निरन्तर देउवा समूहमा छन् । देउवाले समेत शशांकलाई राजनीतिक उत्तराधिकारी बनाउन चाहेको कोइरालानिकट नेताहरूको दाबी छ । १३औँ महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका नेता कृष्णप्रसाद सिटौला पनि सहमतिमै नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् । उनका अनुसार यस्तो अवस्थामा विवाद र प्रतिस्पर्धाभन्दा सहमतिका आधारमा अघि बढ्नु उपयुक्त हुन्छ ।

पूर्वमहामन्त्री विमलेन्द्र निधि पनि सभापतिका आकांक्षीका रूपमा देखिएका छन् । कांग्रेस वृत्तमा उनी सभापतिको तयारीमा रहेको चर्चा छ । निर्वाचनपछि सर्वोच्च अदालतले गगन थापालाई आधिकारिकता दिएसँगै देउवा समूहका कडा धारका नेताका रूपमा निधि प्रस्तुत भएका थिए । आवश्यक परे अलग बाटो हिँड्नसमेत तयार हुनुपर्ने उनको धारणा थियो । कोइरालालाई संयोजक तोकिएपछि भने अब सबैको नेता उनै भएको निधिको प्रतिक्रिया थियो । तर पछिल्लो समय आफैँ सभापतिको तयारीमा रहेको उनीनिकट नेताहरू बताउँछन् । यस विषयमा सोध्दा निधिले भने, ‘अहिले मैले कुनै निर्णय गरेको छैन । म केही बोल्दिनँ । आफ्नो हिसाबले विश्लेषण गर्नुहोस् ।’

पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सभापतिका आकांक्षी हुन् । यद्यपि, पछिल्लो समय उनी शशांक कोइरालालाई सभापति स्वीकार गर्न तयार रहेको उनीनिकट नेताहरूको दाबी छ । १२औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका सिंहले १४औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए । दोस्रो चरणमा भने उनले देउवालाई नै सहयोग गरेका थिए । त्यसयता उनी देउवा समूहमा छन् । पछिल्लो समय उनी निरन्तरजसो देउवा समूहको कार्यालय चुनदेवी पुग्ने र कार्यकर्तासँग भेटघाट गर्ने गरिरहेका छन् । यद्यपि, उनले सभापतिमा उम्मेदवारी दिने वा नदिनेबारे औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।

देउवा समूहभित्र दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बहस पनि सुस्त रूपमा चलिरहेको छ । दोस्रो पुस्ताका नेताहरूमा प्रकाशशरण महत र एनपी साउद पनि छन् । महत र साउद अहिले देउवा समूहमा निर्णायक मानिन्छन् । नेता महतले आफू पनि सभापतिको आकांक्षी रहेको बताएका छन् ।

जिल्ला अधिवेशनका क्रममा कञ्चनपुर पुगेका साउदको प्रतिक्रिया पनि उस्तै छ । उनी भन्छन्, ‘जे हुन्छ, सहमतिमै हुन्छ । सहमतिको अवस्थामा जुनसुकै जिम्मेवारी स्वीकार गर्न तयार छु ।’

देउवा समूहमा सभापतिको उम्मेदवारका रूपमा शशांक कोइरालाको नाममा सहमति जुटाउने प्रयास भइरहँदा उपसभापति पदमा भने आकांक्षीहरूको व्यवस्थापन अर्को चुनौतीका रूपमा देखिएको छ । प्रकाशशरण महत र एनपी साउदको नाम उपसभापतिका सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहे पनि दुवैले आफ्नो दाबी औपचारिक रूपमा सार्वजनिक गरेका छैनन् । यता वीरबहादुर बलायरले भने उम्मेदवारी नै घोषणा गरिसकेका छन् । कांग्रेसमा सभापतिपछिको महत्त्वपूर्ण पद उपसभापति हो । उपसभापतिअन्तर्गत नीति प्रतिष्ठानलगायतका संरचना रहने र सभापतिको अनुपस्थितिमा पार्टी सञ्चालनको जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने भएकाले यो पदमा नेताहरूको विशेष आकर्षण रहने गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सभापतिसमेत रहेका वीरबहादुर बलायरले उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । मोहन बस्नेतसमेत उपसभापतिका आकांक्षी हुन् । उनी भन्छन्, ‘मलाई देशभरका कार्यकर्ताले उपसभापति र महामन्त्रीमध्ये एक पदमा लड्न आग्रह गरिरहेका छन् ।'

महामन्त्रीमा दोस्रो पुस्ताका नेताहरूको आकर्षण

कांग्रेस देउवा समूहमा सबैभन्दा धेरै प्रतिस्पर्धा महामन्त्री पदमा देखिएको छ । कुन्दन काफ्ले, भूपेन्द्रजंग शाही, गुरु बराल, मोहन बस्नेत, रमेश लेखक र जितजंग बस्नेतसहितका नेताहरू महामन्त्रीका आकांक्षीका रूपमा देखिएका छन् । दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्थाका कारण आकांक्षीहरूबीच सहमति र प्रतिस्पर्धा दुवैको सम्भावना छ ।

कांग्रेसमा महामन्त्री पदलाई निकै शक्तिशाली र महत्त्वपूर्ण मानिन्छ । सभापतिपछिको महत्त्वपूर्ण कार्यकारी पद भएकाले यसमा नेताहरूको विशेष आकर्षण रहने गरेको छ । अहिलेसम्म आधा दर्जन नेताले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको नेताहरू बताउँछन् ।

तरुण दलका पूर्वमहामन्त्री कुन्दन काफ्लेले त सामाजिक सञ्जालमा ‘कुन्दन फर महामन्त्री’ जस्ता प्रचार सामग्री राखेर अभियान नै अघि बढाइरहेका छन् । त्यस्तै, तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाही पनि खुलेर महामन्त्रीको तयारीमा जुटेका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका रमेश लेखकले पनि महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । जेन-जी आन्दोलनका बेला गृहमन्त्री रहेका उनको तत्कालीन महामन्त्री गगन थापासँग राम्रो सम्बन्ध थियो । त्यसबेला थापा समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने चर्चा पनि चलेको थियो । नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत पनि महामन्त्रीका आकांक्षी हुन् । शीर्ष नेताहरू सभापति र उपसभापतिमा प्रतिस्पर्धा गरिरहँदा आफूले महामन्त्रीमा दाबी गर्ने र त्यसैको तयारीमा जुटिरहेको उनी बताउँछन् ।

प्रकाश बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् । उनि संसदिय मामिला र राजनीतिका बिषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2h ago
काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौं, मंसिर ४ । काठमाडौंमा आगामी नोभेम्बर २१ देखि २३ (मंसिर ६ देखि ८) गतेसम्म चार राष्ट्र सम्मिलित ‘फोर नेसन्स कप कबड्डी च्याम्पियनसिप–२०२६’ आयोजना हुने भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनाम...

#काठमाडौं #देखि
Compare →
Onlinekhabar
5h ago
देउवा समूहको तरुण दल काठमाडौं अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत

देउवा समूहको तरुण दल काठमाडौं अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले नेपाल तरुण दल काठमाडौंको जिल्ला अध्यक्षमा कृपेश श्रेष्ठलाई मनोनीत गरेको छ । केन्द्रीय अध्यक्ष दिल लामाले श्रेष्ठलाई काठमाडौं जिल्ला अध्यक्षमा मनोनयन गरेका हुन् । मनोनीत पत्रमा संगठनको संस्थागत सुदृढीकरण, …

#काठमाडौं #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2612