३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै संस्थागत निक्षेप पनि घट्न थालेको छ । संस्थागत निक्षेपकर्ताले ब्याज घटेसँगै मुद्दती निक्षेपको लगानी घटाएका हुन् ।
वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै निक्षेपको ब्याजदर निरन्तर घट्दै आएको छ । हाल बैंक तथा वित्तीय संस्थाको न्यूनतम ब्याजदर २.७५ प्रतिशत छ । मुद्दती निक्षेपको उच्चतम ब्याजदर पनि ४ प्रतिशतमा झरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३२.५ प्रतिशतमा झरेको छ । २०८२ असोज मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत रहेको थियो ।
चालु आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.८ प्रतिशत अर्थात् २ खर्ब ३२ अर्ब ८९ करोडले वृद्धि भई कुल ८५ खर्ब ०९ अर्ब ८२ करोड पुगेको छ ।
गत आवको सोही अवधिमा निक्षेप ३.० प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब ७२ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.७ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.६ प्रतिशत, ४९.३ प्रतिशत र ३४.० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६.५ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत रहेको थियो ।