वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार औषत ब्याजदर ४ प्रतिशत भन्दा कम विन्दुमा पुगेको हो ।
वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ३.९०६ प्रतिशतमा पुगेको छ । कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०१३ प्रतिशतविन्दु रहेकोमा मंसिरका लागि ०.१०७ प्रतिशतविन्दु घटेर ३.९०६ प्रतिशतविन्दु कायम भएको हो । त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतविन्दुबाट ०.०१२५ प्रतिशतविन्दु घटेर २.९९०५ प्रतिशतविन्दुमा झरेको छ ।
मंसिर महिनामा ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् । ब्याजदर घटाउने बैंकहरूमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै १ प्रतिशतविन्दुले कटौती गर्दै ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ । त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.२५ प्रतिशत र ३.२५ प्रतिशत तोकेको छ । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशतविन्दु घटाएर ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेका छन् ।
अर्कोतर्फ, सानिमा बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर यथावत राख्दै मंसिरमा सबैभन्दा उच्च ब्याजदर दिने बैंकको सूचीमा शीर्ष स्थान ओगटेको छ । प्रभु बैंक ४.२५ प्रतिशत, नेपाल बैंकको ४.१५ प्रतिशत, हिमालयन बैंकको ४ प्रतिशत, एनआईसी एसिया बैंक ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमइ बैंकको ब्याजदर ४ प्रतिशत रहेको छ ।