३० कात्तिक, काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्ने क्रमले मंसिरमा पनि निरन्तरता पाएको छ । बैंकहरूले मंसिरका लागि सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा दर घटेको छ । यद्यपि धेरैजसो बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेको छ ।
कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.०१३ प्रतिशत रहेकोमा मंसिरमा ३.९०६ मा झरेको छ ।
केही महिनायता नै व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरूको अधिकतम ब्याजदरको औसत दर घटिरहेको छ । यस्तो दर साउनमा ४.१६७५ प्रतिशत, भदौमा ४.१३६० तथा असोजमा ४.०८९६ प्रतिशत कायम भएको थियो ।
पहिले नै लामो अवधिको मुद्दती खाता खोलेकाहरूले भने त्यतिबेलाको शर्तअनुसार सोही ब्याजदर पाउँछन् । मंसिर महिनामा खुल्ने नयाँ मुद्दती खाता तथा यो महिनामा अवधि समाप्तपछि नवीकरण हुने मुद्दतीका हकमा मात्रै नयाँ ब्याजदर कायम हुने छ ।
जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर घटाउनका लागि दबाब पुग्छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर सानिमा बैंकले ४.५ प्रतिशत कायम राखेको छ । बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।
कात्तिकको तुलनामा मंसिरमा ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ ले स्थिर राखेका छन् ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा कर्जा प्रवाहको वृद्धि पनि सुस्त रहेपछि ब्याजदर घटाउँदै लगेका हुन् । राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप बोलकबोलमार्फत तरलता खिचिरहेको छ ।
व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ?
स्रोत – पत्रपत्रिकामा सार्वजनिक सूचना