कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् ।
अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा करिब एक सातापछि सुरु हुने नेपाल महोत्सवको तयारी पूरा भएको छ । आयोजकका अनुसार महोत्सवमा पहिलोपटक दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालनास्कसले सहभागिता जनाउने भएका छन् ।
हरेक दुई वर्षमा प्रवासी नेपालीको संगठन एनआरएनएले आयोजना गर्दै आएको महोत्सवले विदेशी भूमिमा नेपालको कलासंस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्नेछ । यहाँस्थित पर्यटकीय स्थल टोरेन्स परेड ग्राउन्डमा हुने कार्यक्रममा १५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा छ । कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् ।
महोत्सवलाई संगीतमय बनाउन नेपाली गीतसंगीतसहित नेपालका चर्चित कलाकारले प्रस्तुति दिनेछन् । महोत्सव सफल बनाउन २० वटा उपसमिति बनाएर तयारी कार्य अघि बढाइएको छ । महोत्सव यही महिनाको २८ तारिख शनिबार हुनेछ ।
महोत्सवमा करिब १ लाख ७० हजार अस्ट्रेलियन डलर (करिब १ करोड ८० लाख रुपैयाँ) खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव संयोजक तथा एनआरएनए दक्षिण अस्ट्रेलियाका संयोजक थिर गुरुङले कार्यक्रमको तयारी करिब पूरा भइसकेको र कार्यक्रमलाई भव्य तथा सभ्य बनाउन भरपूर कोसिस गरिने जानकारी दिए । उनले महोत्सवमा पहिलोपटक राज्यका प्रिमियर मालनास्कसले सहभागिता जनाउने बताए । यसका साथै बहुसांस्कृतिक मन्त्रीलगायत अन्य विभिन्न मन्त्री, सांसद तथा बहुसांस्कृतिक समुदायका व्यक्ति र नेताको सहभागिता रहनेछ । कार्यक्रम सफल बनाउन राज्य सरकारले ३० हजार अस्ट्रेलियन डलर अनुदान दिएको पनि गुरुङले बताए ।
'नेपालीले आयोजना गर्ने कार्यक्रममा राज्यका प्रमुख सहभागी हुनु हामी सबैका लागि गर्वको विषय हो,' उनले भने । यसले बृहत् रूपमा नेपाली समुदायलाई फाइदा पुग्ने उनको भनाइ छ ।
'हामीले गर्ने नेपाल महोत्सवले नेपाली कलासंस्कृति, परम्परा, खाना, संगीत र पर्यटनलाई विदेशी भूमिमा अझ पहिचान दिलाउने र प्रचारप्रसार गर्नेमा विश्वस्त छौँ,' संयोजक गुरुङले कान्तिपुरसँग भने ।
उनले महोत्सवस्थलमा नेपाली खानाका साथै पर्यटन प्रवर्द्धन गर्ने किसिमका स्टल राखिने जानकारी दिए । यसैगरी दोस्रो पुस्ताको सहभागितालाई समेत प्राथमिकता दिइएको उनले बताए । विदेशमा हुर्कँदै गरेको दोस्रो पुस्ताले आफ्नो परिचयलाई विस्तृत गर्ने भएकाले उनीहरूलाई महोत्सवमा सहभागिताका लागि प्रोत्साहन गरिएको गुरुङको भनाइ छ ।
महोत्सवलाई मल्टि डाइनामिक र चन्द्रकोट ज्वेलर्सले मुख्य प्रायोजकका रूपमा आर्थिक सहयोग गरेका छन् भने अन्य स्थानीय व्यवसाय तथा व्यक्तिले पनि आर्थिक सहयोग गरेका छन् ।
महोत्सवलाई मनोरञ्जनात्मक बनाउन नेपालबाट आएका गायक अनिल सिंह र गायिका रचना रिमालको प्रस्तुति रहनेछ । साँझ हुने उनीहरूको प्रस्तुतिले सहभागीलाई मनोरञ्जन दिनुका साथै स्थानीयले समेत नेपाली संगीतको स्वाद पाउनेछन् । कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति तथा दोस्रो पुस्ताका बालबालिकाले परम्परागत गीतसंगीतमा नृत्य प्रस्तुत गर्नेछन् ।
नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।