सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ ७ र महिलातर्फ ६ जना खेलाडी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका हुन् ।
ताप्लेजुङ — ताप्लेजुङ, फुङलिङकी भावना केदेम लिम्बू र मोरङका प्रतीक बिष्ट ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको कोशी प्रदेश स्तरीय महिला तर्फको छनौटमा सुनसरीकी सविज्ञा दाहाललाई पराजित गर्दै भावनाले स्वर्ण पदक जितेकी हुन् ।उनीसहित सविज्ञा, झापाकी अञ्जना राई, उदयपुरकी रोजी राई, इलामकी निसाम हाङमा सुब्बा र भोजपुरकी नन्सल तामाङले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै १० औं राष्ट्रिय खेलकुदमा प्रतिष्पर्धा गर्ने छनोट समितिका संयोजक भोगेन्द्र थापाले बताए । नन्सल एनबीए वरीयताको दोस्रोमा रहेकाले प्रतियोगितामा सिधै छनोट भएकी हुन् ।
पुरुषतर्फ सर्वोत्कृष्ट भएका मोरङका प्रतीकसँगै सुनसरीका संगम गिरी, संखुवासभाका सुनील कार्की, उदयपुरका विनय चौधरी, मोरङका जोनसस राज, भोजपुरका सन्दीप राई र विशाल तामाङ छनोट भएको संयोजक थापाले जानकारी दिए ।
सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ ७ र महिलातर्फ ६ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् । छनोट खेलाडीलाई कोशीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सचिव रामकृष्ण अधिकारी, प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ र बोर्डका सदस्य सचिव विप्लव घोषले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।