रेडियोथेरापी मेसिनका लागि प्रदेशको २ करोड विनियोजन, थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता
काभ्रे — काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा रेडियोथेरापी सेवा सञ्चालनका लागि आवश्यक बंकर (रेडियोथेरापी मेसिन राख्ने विशेष सुरक्षित कोठा) संघीय सरकारले निर्माण गरिदिए प्रदेश सरकारले मेसिन खरिदमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रेडियोथेरापी मेसिन खरिदका लागि आवश्यक थप रकम चालु आर्थिक वर्षमै व्यवस्थापन गर्ने बताएका हुन्।
अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन कार्यक्रममा बुधबार मुख्यमन्त्री थापामगरले रेडियोथेरापी मेसिन खरिदका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिए। क्यान्सर उपचारका लागि रेडियोथेरापी मेसिन सञ्चालनका लागि आवश्यक बंकर निर्माण संघीय सरकारले गरिदिए थप बजेट प्रदेशले व्यवस्थापन गर्ने उनको भनाइ थियो। ‘संघीय सरकारले बंकरको व्यवस्था गरिदिने हो भने रेडियोथेरापी मेसिनका लागि थप बजेट यसै वर्ष व्यवस्थापन गर्छौं,’ उनले भने, ‘नगरपालिकासँग समन्वय गरेर लागत अनुमान तयार गर्नुस्, तत्काल टेन्डर निकाल्नुस् र बंकर निर्माणको काम अघि बढाउनुस्।’
मेसिन मात्रै खरिद गरेर नहुने भन्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माण पनि सँगसँगै अघि बढाउनुपर्ने बताए। रेडियोथेरापी सेवा सञ्चालनका लागि संघीय सरकारसँग समन्वय गर्ने र मेसिन खरिदमा प्रदेशले थप रकम जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे।
रेडियोथेरापी सेवा विस्तारसँगै काभ्रे तथा आसपासका जिल्लाका क्यान्सरका बिरामीलाई उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्वास्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य बदन भण्डारीले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।
अस्पतालको नवनिर्मित ओपीडी भवन समाजसेवी राजभाई प्रधानले व्यक्तिगत लगानीमा निर्माण गरिदिएका हुन्। अस्पतालका अनुसार भवन निर्माणमा ५ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ। भवन निर्माणमा सहयोग गर्ने प्रधानलगायत सम्पूर्ण सहयोगीप्रति अस्पतालकी डा. एन्जेला बस्नेतले आभार व्यक्त गरिन्।
ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।