Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ?

Ekantipur •
November 18, 2026 • 01:03 PM
3
3 reads 0 reactions

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतसँग आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ?

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतसँग आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र साहको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त्रीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाव दिएका छन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनीहरूले नेपाल र भारतबीचका विद्यमान समस्या समाधानका लागि कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउन, आपसी विश्वास अभिवृद्धि गर्न र आर्थिक साझेदारीका नयाँ सम्भावना खोज्न प्रधानमन्त्री बालेनलाई आग्रह गरेका छन् । बालेन यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । उनको भ्रमणको पूर्वसन्ध्यामा पूर्वपरराष्ट्रमन्त्रीहरूले नेपाल–भारत सम्बन्धका विविध पक्ष, लामो समयदेखि थाती रहेका मुद्दा तथा आर्थिक विकासका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्धमा विश्वास अभिवृद्धि गर्ने अवसर बन्नुपर्ने बताए । उनले भारत नेपालको नजिकको छिमेकी र अत्यन्तै अन्तरसम्बन्धित देश भएकाले प्रधानमन्त्रीको भ्रमण सकारात्मक भएको बताए । उनले भने, ‘भारत हाम्रो छिमेकी र ज्यादै अन्तरसम्बन्ध भएको देशमा प्रधानमन्त्री भ्रमण गर्ने कुरा राम्रो कुरा हो । यसले दुई देशको सम्बन्धमा एउटा विश्वासको सम्बन्ध बनोस् र दुई पक्षीय चासो र चिन्ताहरूलाई समग्र रूपमा सम्बोधन हुने कोसिस होस् भन्ने मेरो शुभकामना छ ।’

पूर्वपरराष्ट्रमन्त्री महतले विदेश सम्बन्ध सञ्चालन गर्दा सबैभन्दा पहिले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्ने बताए । साथै, सम्बन्धित अर्को देशका चासो र चिन्तालाई समेत बुझेर कूटनीतिक संवाद अघि बढाउनुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय स्वार्थका विषयमा देशभित्र भाषण गरेर मात्रै उपलब्धि हासिल नहुने भन्दै सम्बन्धित कूटनीतिक मञ्चमा तथ्य, तर्क र आधारसहित प्रस्तुत हुनुपर्नेमा जोड दिए । महतले थपे, ‘अब यहाँ देशभित्र भाषण गरेर ठूला ठूला कुरा गरेर केही अर्थ छैन । सम्बन्धित ठाउँमा तर्कसहित, आधारसहित प्रस्तुत हुन सक्नुपर्छ ।’

त्यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई दृष्टिगत गर्दा प्रधानमन्त्रीको भ्रमण महत्त्वपूर्ण र स्वाभाविक भएको बताए । उनका अनुसार दुई देशबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा परम्परागत सम्बन्ध रहँदै आएको छ । यद्यपि, निकट छिमेकीबीचको सम्बन्धमा विभिन्न मुद्दा उठिरहने भएकाले तिनको समाधानका लागि निश्चित प्रक्रिया र संयन्त्र आवश्यक रहेको उनले बताए ।

पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘बहुआयामिक सम्बन्धलाई दृष्टिगत गरेर त्यसमा आर्थिक, सामाजिक, सांस्कृतिक र परम्परागत सम्बन्ध छ । यी सबै सम्बन्धलाई दृष्टिगत गरेर त्यस्तो किसिमको भ्रमण आफैँमा महत्वपूर्ण हुन्छ र स्वाभाविक पनि हुन्छ ।’ नेपाल–भारतबीच केही पुराना र केही तत्काल प्रभाव पार्ने प्रकृतिका मुद्दा रहेको उल्लेख गर्दै उनले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताए ।

साउदले सीमा विवादलगायत लामो समयदेखि समाधान हुन नसकेका विषयलाई टुंगोमा पुर्याउन दुवै देशबीच कूटनीतिक तहमा संयन्त्र स्थापना गरी वार्ताको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

यसैगरी, नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेनले भारतीय समकक्षीसँगको भेटवार्तामा सिंगो राष्ट्र आफ्नो साथमा रहेको सन्देश लिएर जानुपर्ने बताए । उनले महत्वपूर्ण विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका नेता तथा विज्ञहरूसँग छलफल गरेर राष्ट्रिय सहमति निर्माण गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्रीजी भारतीय समकक्षीसँग कुरा गर्दा सिङ्गो राष्ट्र आफ्नो साथमा छ भन्ने कुराको सन्देश लिएर जानसक्नुहोस् । त्यसका लागि विगतमा जुन निरन्तर परम्परा रहँदै आएको छ । यस्ता महत्वपूर्ण भ्रमण अगाडि पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, विज्ञहरूसँग सुझावहरू लिने एक खालको राष्ट्रिय सहमति निर्माण गर्ने एजेन्डाहरूमा र त्यही सहमतिको बलमा,सहमतिको स्ट्रेन्थ बोकेर वार्ताको टेबुलमा जाने विगतको यो राम्रो परम्परा रहेको छ, त्यो कायम होस ।’

राष्ट्रिय सहमतिका आधारमा वार्तामा प्रस्तुत हुँदा प्रधानमन्त्रीलाई थप सामर्थ्य प्राप्त हुने उनको भनाइ छ । यद्यपि, वर्तमान प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली हेर्दा सबै पक्षसँग संवाद हुनेमा आफूलाई आशंका रहेको पनि उनले बताए । उनले प्रधानमन्त्री बालेनलाई भारतसँगको वार्तामा कुनै हीनताबोध नराखी सार्वभौम राष्ट्रको प्रतिनिधिका रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुन आग्रह गरे ।

‘आत्मविश्वासका साथ भारतीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुनुहोस् भन्ने हाम्रो आग्रह छ । देशहरू ठूला होलान्, साना होलान्, साइज, जनसंख्या, अर्थतन्त्रको आकारको हिसाबले तर वार्ताको टेबुलमा बस्दा दुईवटा सार्वभौम राष्ट्रका प्रधानमन्त्रीहरू बस्छन् । त्यस बारेमा कुनै पनि हीनताबोध नगरिकन एउटा दरिलो आत्मविश्वासका साथ त्यहाँ प्रस्तुत हुन जरुरी हुन्छ,’ उनले भने ।

ज्ञवालीले नेपाल–भारतबीचका समस्यालाई लुकाएर वा पन्छाएर सम्बन्ध बलियो नहुने भन्दै सीमा विवादलगायतका विषय खुलस्त रूपमा उठाउनुपर्ने बताए । समस्या समाधानका लागि यसअघि नै तय भएका कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा पनि उनले जोड दिए । ज्ञवालीका अनुसार सीमा समस्याका लागि दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाउने निर्णय सन् २०१४ मै भएको थियो । त्यस्तै, सन् १९५० को सन्धिका कतिपय प्रावधान संशोधन गर्नुपर्ने र वाणिज्य सन्धि पुनरावलोकन गर्नुपर्ने विषय पनि लामो समयदेखि उठ्दै आएका छन् । यी विषयमा बनेका संयन्त्रलाई सक्रिय बनाएर समाधानतर्फ अघि बढ्नुपर्ने उनले बताए ।

त्यसैगरी, ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा विगतका विवाद र समस्यामा मात्रै केन्द्रित नभई भविष्यमा नेपाल र भारतबीच बलियो आर्थिक साझेदारी कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए । उनले पञ्चेश्वर परियोजना तीन दशकदेखि अघि बढ्न नसकेको तथा पश्चिम सेती, अपर कर्णाली, पोकेट कर्णाली र तल्लो अरुणजस्ता जलविद्युत् परियोजनामा अपेक्षित प्रगति हुन नसकेको विषय उठाउनुपर्ने बताए ।

पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझावमा नेपाल–भारत सम्बन्धलाई थप विश्वासिलो र परिणाममुखी बनाउन राष्ट्रिय स्वार्थमा आधारित कूटनीतिक संवाद, विद्यमान समस्याको समाधानका लागि संयन्त्रको सक्रियता, राष्ट्रिय सहमति तथा आर्थिक साझेदारीका नयाँ सम्भावनाको खोजी मुख्य विषयका रूपमा देखिएका छन् ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि र औद्योगिक उत्पादनको बजार पहुँच प्राथमिकतामा राख्नुपर्छ : सुमित केडिया

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि र औद्योगिक उत्पादनको बजार पहुँच प्राथमिकतामा राख्नुपर्छ : सुमित केडिया

काठमाडौं । आगामी आईतबार प्रधानमन्त्री बालेन शाह दुई दिनका लागि भारतको औपचारीक भ्रमणमा जाँदैछन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेट एक्लाएक्लै भेट्ने कार्यक्रम तय भइसकेको छ ...

#भारत #प्रधानमन्त्रीको
Compare →
Onlinekhabar
23h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँग आयात- निर्यातका लागि फेरि पनि उडिसा र गुजरातका दुई बन्दरगाहको पहुँच माग्ने तयारी गरेको छ । भारतले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह …

#भारत #प्रधानमन्त्रीको
Compare →
Bizshala
4h ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#भारत
Compare →
Nagarik News
8h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्।

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612