रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने सीका शक्तिशाली चिफ अफ स्टाफ काई चीले स्वागत गरेका थिए
काठमाडौँ — कूटनीतिक मामिलामा अत्यन्त कडा मानिने चीनमा राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन्।
चीनको पछिल्लो कूटनीतिक प्रचलन अनुसार राष्ट्रप्रमुखहरू सामान्यतया पाहुनालाई स्वागत गर्न विमानस्थल जाने गरेका छैनन्।
तर, यसपटक चिनियाँ राष्ट्रपति सी स्वयम् रातो कार्पेटमा उपस्थित भएर ट्रम्पको स्वागत गर्नुले अमेरिका–चीन द्विपक्षीय सम्बन्धलाई बेइजिङले धेरै महत्त्व दिएको प्रस्ट पारेको विश्लेषकहरूले बताएका छन्।
यसअघि यसै वर्ष अमेरिका भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले पनि जोइन्ट बेस एन्ड्रुजमा सीलाई विमानस्थलमै स्वागत गरेका थिए।
यसअघि बुधबारै सेन्जेन आइपुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने सीका शक्तिशाली चिफ अफ स्टाफ काई चीले स्वागत गरेका थिए ।
यसअघि सन् २००९ मा सीले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई विमानस्थलमै स्वागत गरेका थिए, तर त्यतिबेला उनी चीनको उपराष्ट्रपति पदमा थिए।
बुधबार र बिहीबार सेन्जेनमा चल्ने ‘एपेक सीईओ समिट २०२६’मा विश्वका २१ अर्थतन्त्रका नेताहरूबीच द्विपक्षीय तथा क्षेत्रीय मुद्दाहरूमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
एसिया–प्यासिफिक क्षेत्रमा शान्ति र खुलापन अपरिहार्य : सी
चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्यासिफिक क्षेत्रको दिगो विकासका लागि आपसी शान्ति, स्थिरता र खुला व्यापार प्रणाली अपरिहार्य रहेको बताएका छन्।
सेन्जेनमा‘एपेक सीईओ समिट २०२६’ लाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले विश्वव्यापी मन्दी र संरक्षणवादका बाबजुद पनि क्षेत्रीय सहकार्यलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति सीले एसिया–प्यासिफिक क्षेत्रलाई विश्वको वृद्धिको मुख्य इन्जिन बनाउन खुलापन, सहकार्य र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने धारणा राखे।
उनले प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र हरित अर्थतन्त्रमा जोड दिँदै यस क्षेत्रका सबै अर्थतन्त्रलाई समान लाभ पुग्नेगरी विकासका नीतिहरू अगाडि बढाउनुपर्ने बताए।
चीनको १५ औं पञ्चवर्षीय योजनाले उच्च गुणस्तरीय विकास र व्यापक बजार अवसर सिर्जना गरेको उल्लेख गर्दै सीले विश्वका व्यावसायिक समुदायलाई चीनसँग सहकार्य गर्न आह्वान गरे।
उनले चीन सधैं खुला बजार, निष्पक्ष व्यापार र बाह्य लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।